इलामका उत्तरी गाविसलाई सन्तपुर गाउँपालिका बनाउन माग


इलाम, १ भदौः स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति इलाममा इलामलाई आठ वटा स्थानीय निकाय बनाउने विषयमा परिमार्जन गर्नको लागि ज्ञापनपत्र बुझाउने, सुझाव दिनेको लर्को लाग्न थालेको छ ।
बुधबार जिल्ला विकास समिति इलामको समीक्षालयमा इलामको उत्तरी गाविसहरुलाई सन्तपुर गाउँपालिका बनाउने माग सहित एक टोलीले निमित्त स्थानीय विकास अधिकारी ओमराज ढुंगाना, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो समक्ष ज्ञापनपत्र बुझाएको छ । मंगलबार सुलुबुङको देउराली बजारमा त्यसक्षेत्रका माईपोखरी, पुवामझुवा, सुलुबुङ, माईमझुवा, माबु र जमुना गाविसका अगुवाहरुको भेलाले उक्त क्षेत्रलाई समेटेर गाउँपालिका बनाउने निणर्य गरेको ज्ञापनपत्रमा उल्लेख छ ।  ज्ञापनपत्रमा स्थानीय विकास अधिकारीको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रस्तावको रुपमा ल्याएको खाकामा उत्तरी क्षेत्रका सात गाविसका बासिन्दाहरुको फरक मत रहेको जानकारी गराँउदै इलाम सदरमुकाम उत्तरका सुम्बेक, माबु, सुलुबुङ, माईमझुवा र माईपोखरी गाविसलाई इलाम नगरपालिकासँग समायोजन गर्ने उल्लेख गरिएकोमा त्यस क्षेत्रका बासिन्दाहरुबिच पटक–पटकको छलफल र भेलाले सो निणर्यमा सहमत हुन नसक्ने जनाईएको छ । अगाडि भनिएको छ– जमुनालाई नयाँबजार केन्द्र र पुवामझुवालाई देउमाइ नपासँग समायोजन गर्ने विषयमा समेत त्यसक्षेत्रका बासिन्दाले अव्यवहारिक भएको प्रतिक्रिया छ ।
उत्तरी गाविसहरुलाई छुट्टै निकाय बनाउनको लागि संर्घषरत गाविसका बासिन्दाहरुले स्थानीय निकाय पुर्नसंरचना कार्यदल नामाकरण गरिएको घनश्याम गुरुङको संयोजकत्वमा एक समिति निर्माण गरेको छ । ज्ञापनपत्र बुझाउने क्रममा सुलुबुङका नेत्रप्रसाद रिजालले प्राकृति स्रोत साधनको कारण हामी सक्षम गाउँपालिका बनाउन सकिने बताए । उनले जनसंख्याको आधारमा होइन भुगोलको आधारमा निकाय गठन गर्न जोड दिए ।
प्रत्येक गाविसमा पुर्नसंरचनाको खाका बारे जानकारी गराउनको लागि सम्बन्धित गाविस सचिवहरुलाई अभिमुखिकरण गरिएको र गाविसमा भेला गराई सो बारे जानकारी गराउन निर्देशन दिएको निमित्त स्थानीय विकास अधिकारी ढुंगानाले बताए । तर माबु गाविसमा गरिएको कार्यक्रममा त्यहाँका सचिव यामबहादुर बस्नेतले माबुलाई इलाम नगरपालिकामा नैं गाभिनु उचित भएकोले त्यतै जानुस् भनेर आदेशात्मक भनाई राखेको माबुका दिपेश गुरुङले बताए । उनले भने– हामी स्थानीयबासीलाई कुन निकायमा गाभिने हो कि अर्कै निकाय बनाउने हो थाहा छ, तर सचिवले तपाईंहरु इलाम नपामा जानुस् भन्न मिल्दैन् । 
सन्तपुर गाउँपालिका माग गरेका सातवटा गाविसका सचिवहरुले गाउँबासीलाई पुर्नसंरचनाका कार्यविधी, निर्देशिका राम्ररी बुझाउन नसकेको र प्रमुख राजनैतिक दलहरुले पनि गाउँमा नगई जिल्लामा बसेर सीमांकन गरेकोमा असन्तुष्टि व्यक्त गरे । राजनैतिक दलहरुले भोट बैंक बनाउनको लागि क्षेत्रगत तह मिलेका स्थानहरुलाई जबरजस्ती तलमाथी पारेको समेत आरोप लगाए । उनीहरुले इलामलाई कुनै दलले सात वटा, कुनै दलले आठ वटा त कुनै दलले खाकानैं पेश नगरेकोले अन्यौलता उत्पन्न भएको चियाबारी दैनिकलाई बताए । 
ज्ञापनपत्र बुझाउने क्रममा उपस्थित भएका सातै वटा गाविसका बासिन्दाहरुले जनसंख्याको आधारमा होईन भुगोलको आधारमा क्षेत्र निर्धारण गर्नु पर्ने, इलामलाई आठबाट बढाएर नौ वटा सम्म स्थानीय निकाय बनाउनको लागि प्राविधिक सहयोग समिति र जिल्ला स्थित राजनैतिक दलहरुलाई जोडदार रुपमा माग गरेका छन् । स्मरण रहोस् साउन २३ गते सोयाङ गाविसका वडा नं. ५, ६ र ७ ले इलाम नगरपालिकामा गाभिनको लागि ज्ञापनपत्र पेश गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment