मनिषा चम्लागाई
देउमाई, ८ बुधबारः जिल्लाको पश्चिमी व्यापारिक केन्द्र मंगलबारे सहित धुसेनी गाविस देउमाई नगरपालिका भएपछि यहाँका बासिन्दाहरु नगरबासी भएकोमा एउटा उत्साह छाएको थियो जुन उत्साह नगरपालिकाको कार्य संचालन हुँदै जान थालेपछि आफुले सोचे जस्तो नगर नभएको स्थानीयको गुनासो रहेको छ ।
मंगलबारेका स्थानीय समाजसेवी हरि गौतम भन्छन्– ‘दुर्गम क्षेत्रबाट आएर सेवा लिने सर्वसाधारणलाई समस्या परेको छ । नगर विकास निर्माणका कार्यक्रम परिचालन गर्ने कुरा र नगरपालिकामा भई रहेको जनशक्तिले दिनु पर्ने सेवामा आन्तरिक व्यवस्थापनमा केहि समस्याहरु देखिन्छन् । स्थानीय निकायको निर्वाचन नभएकाले र जवाफदेही जनप्रतिनिधी नहुँदा सर्वसाधारणहरुको समस्यालाई समाधान गर्न समस्याको विषय बनेको छ । यसै गरी धुसेनी स्थानीय देवी धिताल भन्छिन्– सर्वसाधारणले धुसेनीबाट लिईरहेका सेवा सुविधा प्राप्त गर्नको निम्ती मंगलबारे धाउनु पर्ने स्थितीले गर्दा खेरी समस्या उत्पन्न भएको छ ।
यस्तै गरी अर्का स्थानीय शिक्षक बासुदेव कट्टेलले भने– नगरपालिका भएपछि फाईदा त केही न केही भएकै छन्, शहरीकरणको बृद्धि, विभिन्न वित्तिय संस्थाहरुको स्थापना र मालपोत कार्यालय, नेपाल बैक लिमिटेडको शाखा कार्यालय स्थापना हुने कुराले सम्पुर्ण नगरबासीमा खुसी छाएको देखिन्छ । नगरपालिकाले नगरपालिकाको मापदण्ड पुरा गर्नको निम्ती बाटोको अवधारणा, विजुली बत्ती बिस्तार स्वास्थ्य चौकीको स्थापना जस्ता विकास निर्माणका कार्यक्रम हुदै जाने आशा पनि छ । तर लक्षित वर्ग अन्तर्गत छुटिएको बजेटको सहि उपयोग नगरी विभिन्न गोष्ठी, सभा गरी सम्पन्न गरिएको दुःख लाग्दो स्थिति देख्नु परेको छ ।
देउमाई नगरपालिकाले आर्थिक वर्ष ०७२÷७३ मा लक्षित कार्यक्रमको ९५ प्रतिशत कार्यक्रम गर्न सम्पन्न गरेको छ । नगरपालिकाले पुर्वाधार तर्फ १२ वटा कार्यक्रम गरेका छ । पुर्वाधार विकास, गाडी खरिद, प्रवर्धनात्मक तर्फ ३६ वटा संचालित कार्यक्रम र लक्षित वर्ग तर्फ ७५ वटा कार्यक्रम गर्न सफल भएको नगर अधिकृत केशवकुमार ढकालले बताए । त्यसै गरी यसै आर्थिक वर्ष अन्र्तगत सडक बत्ती जडान कार्यक्रम प्रभावकारी ढंगले चाडै संचालन हुने कुरा उनले जानकारी गराए । देउमाई नगरपालिका नगरपालिका भएपछि केहि विकासका कार्यक्रमहरु भएको देखिन्छ तर त्यसका साथसाथै नगरबासीमा निरासा पनि छाएको देखिन्छ । स्थानीयहरुले कुनै पनि आम्दानी प्राप्त गर्न नसकिने भिर पाखाको समेत एकिकृत सम्पत्ति कर तिर्नु परेकोले न्यून आय भएका जनताहरुलाई समस्या भएको छ । नयाँ नगरपालिका भएकाले केहि समस्याहरु देखिएता पनि यसलाई प्रभावकारी ढंगले समाधान गर्दे लैजाने कुरा स्थानीय राजनितिक दलका अगुवाहरु बताउछन् ।
0 comments:
Post a Comment