इलाम, ९ भदौ: परम्परागत रुपमा निकालिदै आएको रोपाई जात्रा बिहिबार इलाममा भब्यताका साथ निकालिएको छ । रोपाई जात्राको कारण बजारमा बिहानैदेखि चहलपहल बढेको थियो । इलाममा नेवारको बसोबाससँगै थालिएको यो चलन हेर्न इलाम जिल्ला र बाहिरबाट पनि इलामा बजारमा धेरै मानिसहरु सहभागी भएका थिए । पञ्चैवाजाको मधुर धुनको तालमा सुरिलो स्वरको गीत घन्काएर नेपाल भाषा तथा संस्कृति समाजले यसपल्ट मनाएको रोपाईंजात्रामा सैयौं मानिस इलाम सदरमुकाम ओइरिएका थिए ।
अघि अघि गोरु, हली र बाउसे अनि पछि पछि रोपाहारले धान रोपे झै रोपाईको झल्को दिने रोपाई जात्रामा दुई सय भन्दा बढिले रोपाईको अभिनय गरेका थिए । मानिसको भीड देखेर आयोजक मध्येका एक इन्द्र श्रेष्ठले भने, ‘बजारमा मानिस खचाखच भरिभराउ भएकोले अझै पनि पुराना संस्कृतिलाई मन पराउनेहरु थुप्रै रहेछन् भन्ने लाग्यो ।’
परम्परागत रुपमा युवकहरु युवतीको भेषमा रोपाइँ गर्ने चलन भएपनि एक दशक यता युवक युवतीहरु समान रुपमा रोपाइँमा सहभागी हुँदै आएका छन् । विगतका बर्षहरुमा लिम्बु समुदायका युवाहरु रातभर धान नाच्ने चलन भएपनि द्वन्द्वकाल यता सो चलन पनि मासिएको छ ।
जमिन्दारले बेठी लगाएर पञ्चैवाजाको धुनमा रोपाईंगर्ने पुरानो चलनको सिको गरी राणाकालदेखि सदरमुकाममा रोपाईंजात्रा मनाउन थालिएको इतिहास छ । खेतमा छमछम रोपाईं गरेजस्तै यो जात्रामा पनि सारी चोलोमा सजिएका महिलाको भेषमा पुरुषले धान रोपेको अभिनय नियाल्न मानिस धुइरिने गर्छन् । झण्डै ७० वर्ष पुरानो इलामको मौलिक सस्कृति रोपाई जात्रालाई युवकयुवतीका लागि हाँसखेल गर्दै रमाइलो गर्ने माध्यमका रुपमा लिइन्छ ।
अघि अघि पञ्चैवाजा, पछिपछि हली, रोपाहार र वाउसेले खेतमा रोपाई गरेको जीवन्त अभिनय हुने रोपाईंजात्रा ताप्लेजुङ, पाँचथर, संखुवासभामा पनि मनाइन्छ । रोपाईंजात्रामा सहभागी एकसय ५० हाराहारी कलाकारले दिनभरमा धेरै रकम पनि संकलन गर्न भ्याए । आयोजकका अनुसार संकलित रकम धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदा संरक्षणमा खर्चिइनेछ । हातमा धानको विउ बोकेर, बेठी बाजाको तालमा नाच्दै मालापथ, इलाम चोक, नविन चोक, चियाबारी, बसपार्क हुँदै टुडिखेलसम्म र त्यहाँ देखि फर्काएर प्रकाशपथ हुँदै नारायणस्थान सम्म झाँकी घुमाइएको थियो ।
नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा आयोजना हुँदै आएको यो जात्रा नेवार समुदायमा मात्र सिमित हुन छोडेको छ साथै अन्य समुदायका मानिसहरुले जात्रालाई अपनत्व जनाउदै आएका छन् ।
रमाइलो सँगै टाढाका आफ्ना साथी सँग भेटघट हुने र रातभरी नाचगान गरी आन्नद लिन पाइने भएकाले धेरै यो पर्बमा सहभागी हुन्छन । पहिले पहिले रातभर युवा युवती ले धाननाच नाच्ने गरेपनी अहिले त्यो प्रचलन हराउँदै गएको छ ।
मंगलबारेमा पनि जात्रा सम्पन्न
इलाम जिल्लाको पश्चिमी देउमाई नगरपालिकास्थित मंगलबारे बजारमा रोपाई जात्राकार्यक्रम बुधबार सम्पन्न भएको छ । भानुभक्त उच्च माविको आयोजनामा सम्पन्न रोपाई जात्रामा इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित गाविस र पाँचथर जिल्लाका मानिसहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे । भानुभक्त उच्च माविका प्रधानाध्यापक बासुदेव कट्टेलका अनुसार ऐतिहासिक पृष्ठभूमि जगाई राख्ने उद्देश्यले र विभिन्न जातजातिको संस्कृतिलाई बचाई राख्न रोपाई जात्राको भुमिका उल्लेखनीय देखिन्छ । जात्रा हेर्दा विद्यालयमा विविधता बीच एकता भएको देखिन्छ । पुराना संस्कृतिको संरक्षण गरी भावी पुस्तालाई हस्तान्तरण गर्ने जात्राको भुमिका महत्वपुर्ण रहेको उनले बताए । जात्रामा प्राचिन अवस्थाबाट गरिने खेतीको प्रर्दशनीले आगन्तुक जात्रा हेर्न आउने मानिसहरुको मन लोभिएको थियो ।
पहिले–पहिले निजी शिक्षकहरुलाई तलब खुवाउने उद्देश्यले जात्रा निकालिने गरेको तर आज आएर संस्कृति जगेर्ना गर्ने र चाडपर्व शुरु भएको संकेत गर्ने उद्देश्यले जात्रा निकालिएको विद्यालयका भुपु शिक्षक देवीप्रसाद गौतमले बताए । जात्रामा पञ्चे बाजाको आधारमा बेठिको प्रर्दशनी देखि लिएर नौ वटा जातिको नृत्य समेत निकालिएको थियो । जात्रामा एक सय साठी जना रोपाहार, बाहुसे र मुङ्ग्रेहरु प्रर्दशन गरिएको थियो ।
0 comments:
Post a Comment