‘पिपलबोटे नै प्यारो’

इलाम, २६ भदौ : मानिसको परिचय गतिशील छ या छैन भन्ने विषयमा समय–समयमा वहसहरु हुने गरेका छन् । खासगरी यो मामलामा तात्विकतावाद र निर्माणवाद जस्ता वादहरुले गहिरो अध्ययन समेत गरेको छ । तात्विकतावाद र निर्माणवाद दुवैका आफ्नै किसिमका सीमा र कमजोरीहरु नभएका भने होइनन् । तात्विकतावादले मानिसको परिचय गतिशील भन्दा पनि उसले जन्मँदै केही गुणहरु लिएर आएको हुन्छ । जुन प्रकृतिप्रदत्त तथा अपरिवर्तशील विशेषताहरुसँग जोडिएको हुन्छ भन्ने विश्वास गर्दछ । समाज, संसार सबै परिवर्तनशील छ तर पनि मानिस भित्र केही अपरिवर्तनशील तत्वहरु छन् भन्ने मान्यता तात्विकवादको हो । ठिक यस विपरीत निर्माणवादीहरु भने मानिस परिवर्तनशील हुन्छ, समाज, संसार सबै परिवर्तनशील छ भन्ने मान्यता राख्दछ अर्थात प्रकृतिप्रदत्त नभएर ऐतिहासिक र राजनीतिक परिप्रेक्ष्यभित्र निर्मित भएका हुन्छन् । एउटै मानिसको फरक फरक समयमा फरक–फरक परिचय बनिरहेको हुन्छ भन्ने मान्यता निर्माणवादीहरुको छ । आजको धनी भोलि गरिब बन्न सक्छ जसको परिचय धनी हुँदा एउटा थियो भने गरिब हुँदा अर्कै हुन्छ ।
इलाम नगरपालिकामा आफ्नो छुट्टै इतिहास र परिचय छ कोइराला परिवारको । धर्मबहादुर कोइरालाका भाइ भक्तबहादुर कोइराला मन्त्रालयको सचिव हुँदै शाही आयोगको अध्यक्ष समेत बने । त्यसैगरी उनका कान्छा भाइ डिकबहादुर कोइराला इलाम नगरपालिकाको मेयर बने भने उनका जेठा दाजु पद्मबहादुर कोइराला तत्कालीन शाही नेपाली सेनाको माथिल्लो दर्जामा पुगे । 

कहिले जागिरे, कहिले व्यापारी त कहिले ठेकेदारको परिचय बनाएका धर्मबहादुर कोइरालाको जीवन भोगाइ र सङ्घर्ष पनि कम रोचक लाग्दो छैन् । जर्मनी, स्वीटजरल्याण्ड, टर्की र फ्रान्सजस्तो विकशित देशको पनि भ्रमण गरेका कोइराला आफूलाई नेपाल त्यसमा पनि इलामको पिपलबोटे भन्दा राम्रो कतै नलागेको बताउँछन् । फ्रान्सको इफिल टावर चढ्दाको रोचक अनुभव बताउँदा त्यहाँ पुग्न पाए हुन्थ्यो जस्तो लाग्ने उहाँको प्रस्तुति र अनुभव यस पटकको सिनियर सिटिजन स्तम्भमा ।
मेरो जन्म वि.सं. १९८४ सालमा इलाम नगरपालिकाको पिपलबोटेमा भएको हो । म पिता चन्द्रबहादुर कोइराला र माता कौशल्यादेवी कोइरालाको साँहिलो सन्तान हुँ । हामी पाँच भाइ हौँ । म माथि दुई भाइ दाजु र मुनि दुई जना भाइ । बि.सं. १९७२ सालतिर मेरो बुबा सङ्खुवासभाको चैनपुरबाट काठमाण्डुमा गएर सेनामा भर्ती हुनुभएछ ।  तालिमको समाप्तिसँगै बुवालाई ड्युटीमा बुटवल पठाएछ । झण्डै दुई वर्ष बुटवल बस्नु भएपछि वि.सं. १९७४ सालमा बुवाको सुबेदारमा बढुवासँगै इलाम आउनु भएको हो । इलाम आएको एक वर्षपछि बुबाले पुवामझुवा निवासी लक्ष्मण थापाकी छोरीसँग विवाह गर्नुभएको रे । इलामकै केटीसँग विवाह गरिसकेपछि मेरा मावलीहरुले बुवालाई इलाममा नै जग्गा किनेर बस्ने सल्लाह दिएछन् । बुवाले पनि सल्लाह बमोजिम नै अहिले म बसेका घर अर्थात पिपलबोटेमा वि.सं. १९७९ सालमा अन्दाजी ३० रोपनी जग्गा ३०० रुपियाँमा किन्नु भएछ र स्थायी रुपमा नै इलाम बस्न थाल्नुभएछ ।
मेरो बाल्यकाल यही पिपलबोटेमै बितेको हो । वि.सं. १९९० सालको भूकम्प जाँदा म ६ वर्षको थिएँ । भूकम्प जाँदाको थोरबहुत घटना मेरो जानकारीमा छ । भूकम्प जाँदा आमा फुलौरा पकाउँदै हुनुहुन्थ्यो । बुढी हजुरआमा पनि सँगै हुनुुहुन्थ्यो । भूकम्प आउँदा हामी तीन दाजुभाइ ओरालो कुद्यौँ, भक्तबहादुर र डिकबहादुर त जन्मेकै थिएनन् । अलिक तल पुगेर यसो मुनि हेरेको त वरिपरि भएका सबै घरहरु लडेछन् । एकछिन्मा घर आउँदा त हाम्रो पनि घर भग्नावेशमा परिणत भएछ । त्यसपछिको हाम्रो बसाइ गोठमा छाप्रो हालेर भयो । केही महिनाको गोठको बसाइसँगै अहिले डिगबहादुर बसेको घर बनायौँ र त्यतै स¥यौँ ।
मैले अनौपचारिक शिक्षा घरमै हासिल गरेको हुँ । २००६–२००७ सालतिर यही पिपलबोटेका त्रिलोचन कँडेल घरमै आएर हामीलाई पढाउनुहुन्थ्यो । हामी वरिपरिका सबै केटाकेटी भेला हुन्थ्यौँ । कँडेल लेखनदासको काम गर्थे । उनलाई बुवाले घरमै बोलाउनुहुन्थ्यो । वि.सं. २००१ सालमा म भारतीय सेना (त्यसबेला भारतीय सेना बेलायतको अधिनमा थियो) मा भर्ना भएँ । भारतीय सेना भए पनि भर्ती चैँ बेलायतीले नै गरेका थियो । किनकी त्यो बेला भारत बेलायतको उपनिवेश थियो । बेलायत र जर्मनी त एकअर्काका दुष्मन । बेलायत र जर्मनी एकअर्कामा ठूला ठूला युद्ध गरिरहेका थिए । त्यो बेला सेनामा भर्ना हुनेहरुलाई बर्मा पु¥याइयो । बर्मामा ६ महिनाको कठिन तालिमसँगै ड्युटीमा खटायो । बर्मामा एक वर्षका बसाईंसँगै भारतको आसाम राज्य पठायो । आसाममा झण्डै पचास हजार भारतीय सेना थिए । त्यो बेला सेनालाई जङ्गलमा राखिन्थ्यो । आसामको डिमापुरमा रहँदा भारतीय सेना दुईतिर थियौँ । जर्मनीको सेनाले गरेको आकाशवाणी आक्रमणमा परी आधा अर्थात झण्डै पच्चीस हजार बराबरका सेनाहरु मारिए ।
जर्मनी र बेलायतको यो लडाईंको अन्त्यसँगै भारतमा महात्मा गान्धीको नेतृत्वमा ‘भारत छोड’ आन्दोलन शुरु भयो । यो आन्दोलनमा भारत सफल भयो । भारतको सफलतासँगै बेलायती सेनाका अधिकारीले ‘को को घर फिर्ने’ भनेर सोधे । मैले घर जाने भनेँ अनि घरतिर आएँ । पछि थाहा पाएँ, घर नआउने सेनाहरुलाई त बेलायत नै लगेछ । घर फिर्दा मैले आमालाई दार्जिलिङ्गमा साडी र चोलो किनेर ल्याइदिएको थिएँ । भाइहरु पनि ठूला भइसकेका थिए । मलाई देख्ने बित्तिकै आमा रुनुभयो । मलाई लाग्छ भारतले बेलायतकै कारणले विकास गरेको हो । भारत त पुरै ब्रिटिसमय थियो । बेलायतले भारतमा विकास गरेको देख्दा नेपालमा पनि केही गरिदिए हुन्थ्यो जस्तो लाग्थ्यो त्यो बेला मलाई । यता नेपालमा राणालाई सम्मान गरे जसरी नै गर्दिनुप¥थ्यो बेलायतीलाई भारतमा ।
भारतबाट फिरेपछि पनि मनले कहाँ मान्यो र । म वि.सं. २००६ सालमा फेरि सेनामा भर्ना भएँ । बुबा शाही सेनाको सुबेदार हुनुहुन्थ्यो । दाजु पनि शाही सेनाकै जमदार हुनुहुन्थ्यो । बुबा वि.सं. २००६ सालमै रिटायर्ड हुनुभएको हो । मलाई सेनामा अरुलाई जस्तो समस्या नै भएन । मैले भारतीय फौजमा रहँदा नै धेरै कठिन तालिमहरु लिइसकेको थिएँ । वि.सं. २००७ सालमा नेपाली काङ्ग्रेसको मुक्ति सेनाले इलाम कव्जा गर्दा म इलाममै थिएँ । त्यहाँ के के भयो सबै मैले मेरै आँखाले देखेको छु । खासमा त्यो बेलाको काङग्रेसको सेनाले केन्द्रमा राजा, राणा र काङग्रेस बीचको सम्झौता भइसकेपछि इलाम कब्जा गरेको हो । त्यस्तो ठुलो आक्रमण गरेर इलाम कब्जा गरेको भने होइन । नेपाली काङग्रेसले इलाम कब्जा गर्दाका मुख्य व्यक्ति बिक्रम लामा भन्ने व्यक्ति थिए ।
शाही सेनामा काम गरेको लगभग सात वर्ष पछि अर्थात वि.सं.२०१३ सालमा म नेपाल प्रहरीमा भर्ना भएँ । वि.सं. २०२१ सम्म नेपाल प्रहरीको जागिर खाएँ । प्रहरीको जागीर खाँदा पाँचथर, धनकुटा लगायतका विभिन्न जिल्लामा बसेर काम गरेँ । धनकुटामा भने मेरो धनकुटा जिल्लाका तत्कालिन प्रहरी इन्सपेक्टरसँग झगडा नै प¥यो । म हिले चौकीकोे प्रमुख हुँदा ती इन्सपेक्टर म भएको ठाउँमा आइरहने गर्दथे । आउने कुखुराको भाले खोज्न लाउने, रमाइलो गर्ने अनि खर्च हामीले ब्यहोर्नुपर्ने । यतिसम्म त ठिकै छ । एकदिन इन्सपेक्टरले मलाई भाले खोजेर पठाउन आग्रह गरे । मैल भाले सँगसँगै बिल पनि पठाइदिएँ । बिल हेरेर त इन्सपेक्टर त यति रिसाएछन् कि मलाई त सरुवा गर्ने कुरा गरे । मैले पनि सरुवा गर्छस भने त जागिर नै छोड्दिन्छु भने अनि प्रहरी सेवाबाट राजीनामा दिएँ । पेल्नुको पनि सीमा हुन्छ नि त्यो इन्सपेक्टरको । आफू रमाइलो गर्ने अनि पैसा हामीले तिर्नुपर्ने । त्यो इन्सपेक्टरको पेलाइमा बसिरहुन भन्दा जागीर नै छोडुँ भन्ने लाग्यो अनि त्यसै गरेँ ।
वि.सं. २०२१ सालसम्म कहिले भारतीय सेना, कहिले शाही सेना त कहिले नेपाल प्रहरीको जागिर खाएको म वि.सं.२०२४ सालबाट भने व्यापारमा लागेँ । मैले आलु व्यापारदेखि लिएर प्रहरी र सेनामा रासन ठेक्काको काम समेत गरेको छु । वि.सं.२०२४ सालमा मैले विशाल आलु व्यापार गरेँ । यता नेपाल पट्टि आलु किन्ने अनि भारतको जौबारीमा लगेर बेच्ने । त्ससबेलाका हामी घोडाबाट आलु लग्ने र अरु सामान पनि लिएर आउथ्यौँ । मैले चौबीस सालमा आलु व्यापारबाट मात्रै त्यो बेलाको ६० हजार कमाएको छु । नामसालिङ रामप्रसाद घिमिरे, हाँसे र गोरेहरु मेरा साथी थिए । वि.सं.२०४९ सालसम्म मैले सेनामा रासन ठेक्का गरेँ ।
दुई वर्ष अगाडि मैले विभिन्न मुलुकको भ्रमण गरेको छु । फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड र टर्की घुम्ने मौका पाएँ अनि त्यहाँको विकासलाई नजिकबाट हेर्ने मौका समेत पाएँ । विकास पनि कस्तो अचम्मको जमिनमुनि रेल अनि माथि चै त्यही ठाउँमा गाडीहरु कुद्ने । मैल फ्रान्सको इफिल टावर पनि चढेको छु । कस्तो अचम्मको छ त्यो टावर । टावरको बिचबिचमा विशाल विशाल होटलहरु । टावर चढ्ने चढि रहेको छ, होटलमा खाने खाइरहेको छ । टावरको माथि पुग्यो यसो हेरेको त्यस्तै पो देख्छु । कसरी बनाएको होला यो । म त छक्कनै परेँ । स्वीजरल्याण्डमा त राति पनि झिलिमिलि । रुखको बुट्टामा पनि बत्ती बल्छ त्यहाँ त । मलाई पनि घुमेको देश मध्ये त स्वीजरल्याण्ड नै बढि मनप¥यो ।
अहिले पनि मलाई सक्रिय रहन मन लाग्छ । केही गरौँ गराँै लाग्छ तर के गर्नु उमेरले दिदैँन । दिनभरि घरमै बस्यो अनि दिन काट्नुको अर्को के विकल्प छ र । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment