इलाम जिल्लामा कृषिजन्य वस्तुको निर्यात निराशाजनक बन्दै

इलाम, १८ फागुनः कृषिजन्य उत्पादनको निर्यात निराशाजनक बन्दै गएको छ । चालु आवको गएको चार महिनामा अलैँची, अदुवा र जडीबुटी निर्यात ओरालो लागेको छ । वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको साउनदेखि कात्तिक महिनासम्मको तथ्याङ्कमा कृषिजन्य वस्तुको निर्यातबाट हुने आम्दानी घटेको देखिएको छ । कृषिजन्य उत्पादन निर्यातबाट हुने आम्दानीमा ७८ प्रतिशतसम्म ह्रास आएको छ । अलैँचीको आम्दानी २८ प्रतिशत तथा अदुवाको १७ प्रतिशतले घटेको छ । नेपालबाट भारत निर्यात हुने कृषिजन्य उत्पादन लैजान भारतले असहज वातावरण सिर्जना गरेका कारण निर्यात घटेको हो । एक हजार र पाँच सयका भारतीय नोटमा त्यहाँको सरकारले प्रतिबन्ध लगाउँदा कृषिजन्य वस्तुको निर्यात अझैसम्म पनि सहज हुन सकेको छैन । नेपालमा उत्पादन हुने प्रायः सबैजसो कृषिजन्य उत्पादन भारतहुँदै तेस्रो मुलुक निकासी हुने गरेको छ । भारतले विभिन्न बहानामा कृषिजन्य उत्पादन निकासी रोक्दा निकासी प्रभावित भएको छ । आव २०७२÷७३ को पहिलो चार महिनामा नेपालले आठ लाख १६ हजार ८८७ किलो जडीबुटी निर्यात गर्दा रु. ५७ करोड ३२ लाख ५३ हजार रकम भित्रिएको थियो । चालु आवको चार महिनामा आठ लाख २६ हजार आठ किलो जडीबुटी निर्यात गर्दा रु. १२ करोड २३ लाख ५७ हजार मात्र आम्दानी भएको वैदेशिक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको साउनदेखि कात्तिकसम्ममा नौ लाख छ हजार ८ सय ५३ किलो अलैँची निर्यात गरेर रु. एक अर्ब ३१ करोड पाँच लाख ३२ हजार रकम भित्रिएको थियो । चालु आवको सोही अवधिमा सात लाख ४२ हजार ७ सय ९७ किलो अलैंची निर्यात भएको छ ।
अदुवा गत आवमा ८९ लाख २६ हजार ४ सय ६६ किलो निर्यात भएको थियो भने चालु आवको चार महिनामा ३३ लाख ४४ हजार ३ सय ९८ किलो मात्रै निर्यात भएको छ । चियाको आम्दानी ५२ प्रतिशतले बढेको छ । चालु आवको चार महिनामा ५७ लाख चार हजार १ सय २७ किलो चिया निर्यात गरेकामा अघिल्लो आवको सोही अवधिमा ४६ लाख ११ हजार ५ सय ३१ किलो निर्यात गरिएको थियो । रासस
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment