पतिकी आमा


काठमाडौंको आलोकनगरस्थित साढे दुई तलाको घर । त्यसको भुइँतलामा करिब ६५ वर्षीय पुरुष झन्डै तीन वर्षदेखि ओछ्यानमा छन् । शरीर चल्दैन । दिसा–पिसाब गर्न पनि अरुको सहारा चाहिन्छ । उनको मुखबाट ‘आमा’ शब्दबाहेक अरु केही निस्किँदैन । उनैको रेखदेखमा निरन्तर खटिइरहेकी छन् ६२ वर्षीया एक महिला, जसलाई उनले ‘आमा’ सम्बोधन गर्छन् । खुसी होस् वा दुःख– सबै कुरा अभिव्यक्त गर्ने उनको एउटै शब्द छ– त्यो हो ‘आमा’ । उनको स्वभाव २÷३ वर्षे बच्चाको जस्तै छ ।
एउटी महिलाले आफ्ना पतिका लागि जीवनको हरेक मोडमा फरक–फरक भूमिका निर्वाह गर्नुपर्छ । पतिका लागि कहिले जीवनसंगिनी बनेर दुःखसुखका पल सँगै बिताउँछिन् भने कहिले आमाजस्तो अभिभावकको भूमिका निभाउनुपर्ने हुन्छ । कहिले साथीजस्तो भूमिका त कहिले दिदीबहिनीको भूमिकामा आफूलाई प्रस्तुत गर्छिन् ।
इलाम नगरपालिका तिल्केनीका स्थायी बासिन्दा प्रा.डा. केदारनाथ बाँस्तोलाको जीवनमा उनकी पत्नी प्रभा ढकाल बाँस्तोला एउटी आमाको भूमिकामा छिन् । बच्चालाई जस्तै हातले खाना खुवाउँछिन् । डाइपर फेरिदिन्छिन् । सफासुग्घर बनाउँछिन् अनि केदारलाई मन पर्ने रमाइला गीत सुनाउँछिन् ।
‘आफन्तको विवाह, व्रतबन्ध हुन्छ, निम्ता आउँछ तर कतै जान पाउँदिनँ,’ प्रभा भन्छिन्, ‘केदारलाई एकक्षण पनि एक्लै छोड्न मिल्दैन । टाइमटेबल मिलाएर खाना खुवाउनुपर्छ । औषधि छुटाउन मिल्दैन । केदारसँगै म पनि यो कोठामा बन्दीजस्तै बनेकी छु ।’
१० वर्षदेखि अल्जाइमरका बिरामी केदार दुई वर्षअघि गएको भुइँचालोपछि झन् शिथिल बने । राणा शासनकालमा सुब्बाका जागिरे वीरेन्द्रपुरुष ढकाल र जानुकादेवी ढकालकी पन्ध्रौं सन्तान हुन् प्रभा । ढकाल दम्पतीले १७ सन्तान जन्माए, जसमध्ये ११ सन्तानमात्र बाँच्न सफल भए । काठमाडौंको कुपण्डोलमा जन्मिएकी प्रभाले सोचेकी पनि थिइनन् होला– जीवनको उत्तराद्र्धमा यस्तो अवस्थाको सामना गर्नुपर्ला । न त ०५४÷५५ सालतिर नाम कहलिएका प्रा.डा. केदारले नै कल्पना गरेका थिए होलान् । ०३७ मा विवाह भएर काठमाडौंबाट इलाम पुगेकी प्रभा त्यहाँको हरियाली र मनोरम दृश्यले कम्ती मोहित भएकी थिइनन् । भन्छिन्, ‘यदि संसारमा कतै स्वर्ग छ भने त्यो इलाम हो ।’
तर, केदारलाई ०४६ सालदेखि नै रोगले च्याप्न थाल्यो । उनको ‘ब्रेस्ट निप्पल’मा क्यान्सर देखा परेपछि उनीहरू इलाम छोडेर काठमाडौं आए । ०५४ मा शल्यक्रिया भयो । स्वर्गजस्तो इलाममा बस्ने प्रभाको रहर पूरा हुनै पाएन । त्यही समयबाट प्रभाको जीवनमा परीक्षा सुरु हुन थाल्यो । रत्नराज्यलक्ष्मी क्याम्पसबाट आईएड, त्रिभुवन विश्वविद्यालयबाट बीएड, एमए, एमएड गरेकी प्रभाको पीएचडी गर्ने सपना त्यसै तुहियो । ०५४ सालदेखि सुरु भएको केदारको रोग ०६२ मा आएर फेरि बल्झियो । उनी यसपटक अल्जाइमरका बिरामी भए । ‘शल्यक्रियापछि पारिवारिक जिम्मेवारी थपिँदै आयो,’ प्रभा भन्छिन्, ‘अल्जाइमरले भेटाएपछि त झन् केदार पनि मेरै आडभरोसामा भर परे, अहिले एक पल पनि छोड्न नहुने अवस्थामा छन् ।’
इलाममा सूर्यजस्तै बलेका किरण एकाएक मुर्झाए । प्रभाको जीवनमा ग्रहण लागेजस्तो भयो । ‘तर मैले हार मानिनँ,’ प्रभा भन्छिन्, ‘जीवनका दुई पाटा हुन्छन्– सुख र दुःख । मैले यथार्थलाई स्वीकार गरेकी छु ।’
सम्पन्नशाली परिवारमा जन्मिएकी प्रभाले महिलालाई विभेद गर्ने समाजका अगाडि पनि पढ्ने मौका पाइन् । ०२५ मा एसएलसी पास गर्दा उनलाई अबिरजात्रा गरिएको थियो । भन्छिन्, ‘तर बिहे नगरेकी छोरीले जागिर खान मिल्दैन भनेर खाद्य संस्थानमा नाम निस्किँदा पनि मैले काम गर्न पाइनँ ।’
विवाहपछि उनलाई केदारका परिवारले पढाइ र जागिरे जीवनमा निकै सहयोग गरे । सामान्य परिवारको महिलाजस्तो उनलाई त्यसै खुम्चिएर बस्नु परेन । उनले इलाम क्याम्पसमा लेक्चररका रूपमा समेत काम गरिन् । गत वर्ष काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसबाट उमेर पुगेका कारण अवकाश लिएकी छन् । केदार ०४६ सालमा पहिलो पटक बिरामी हुँदा उनी नेपाल विद्युत प्राधिकरणकी वरिष्ठ सहायक थिइन् । त्यसपछि उनी प्राधिकरणको जागिर छोडेर प्राध्यापन पेसामा लागिन् ।
‘जागिरको सिलसिलामा पनि सहकर्मीबाट राम्रो सहयोग पाएँ,’ प्रभाले आफ्नो विगत सम्झिइन्, ‘श्रीमान बिरामी भएका कारण कार्यालयमा पनि मलाई त्यति कडाइ गरिएन ।’ परिवार र सहकर्मीको सहयोगका कारण घर र जागिर दुवैको बागडोर सम्हाल्दै उनले पतिको सेवामा पनि कुनै कमी हुन दिइनन् । ‘मैले पाएको शिक्षाले मलाई अप्ठ्यारो परिस्थितिमा पनि हाँसेर बाँच्न सिकायो,’ प्रभाले आफ्नो अनुभव सुनाइन्, ‘केदारको अवस्था यस्तो भएपछि छोराछोरीको लालनपालन, पढाइ र विवाह सबै मैले एक्लै गरें ।’
प्रभा र केदारका एक छोरा, एक छोरी छन् । अहिले अस्ट्रेलियामा रहेका छोरा रोशनले तीन विषयमा डिग्री गरेका छन् । छोरी रश्मि अंग्रेजी विषयमा डबल डिग्री लिएर पतिसँगै क्यानडामा बस्छिन् । रश्मिका एक छोरा छन् । ‘नाति खेलाउन पाइनँ भन्ने गुनासो छैन,’ प्रभाले भनिन्, ‘बालकजस्तै केदारले न्यास्रो मेटाइदिएका छन् ।’ घरबाट बाहिर निस्कन नपाउने भएकाले टिभी सिरियल हेर्ने, कथा पढ्ने, गीत सुन्ने बानी परेको छ उनलाई । आफूलाई घरमा भेट्न आउनेलाई फरक–फरक टिभी सिरियलका कहानी एकै ठाउँमा मिसाएर नयाँ कथा बनाउँदै सुनाउँछिन् । ‘केदारलाई रमाइलो वातावरण मन पर्छ, त्यसैले यस्तो उट्पट्याङ काम गरेर हँसाउँछु,’ उनी भन्छिन्, ‘अरुलाई खुसी राख्न पहिला आफू खुसी हुनुप¥यो । सकेसम्म आफू खुसी हुने प्रयास गर्छु ।’ आफूलाई व्यस्त बनाउन सामाजिक सञ्जाल निकै प्रयोग गर्ने गरेको उनले सुनाइन् । बाह्रखरीबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment