बालबालिका, महिला तथा बृद्धबृद्धा बढी प्रभावित

इलाम, साउनः भाइरल ज्वरोको प्रकोप जिल्लामा अत्याधिक बढेको छ । बर्खायाममा वर्षेनी फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साबिकभन्दा दोब्बरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि आउने गरेका छन् ।
जिल्ला अस्पताल लगायत चार प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रमा दिनहुँ बिरामी थपिँदै गएको सम्बन्धित स्वास्थ्य संस्थाका कर्मचारी बताउँछन् । रोग संक्रमणले छिटो भेट्ने भएकाले उपचारका लागि बालबालिका, महिला तथा बृद्धबृद्धा बढी मात्रामा आउने गरेका हुन् । स्वास्थ्य संस्थामा संख्या थपिँदै गएकाले बिरामी व्यवस्थापन गर्नै धौ–धौ परेको स्वास्थ्यकर्मीले बताए ।
जिल्ला अस्पतालमा मात्र उपचारका लागि दैनिक डेढ सय बिरामी आएको हेल्थ असिस्टेन्ट गणेश रिजालले जानकारी गराए । ‘आकस्मिक उपचारका लागि मात्र दैनिक ५०–६० जना आइरहेका छन्,’ उनले भने, ‘ओपीडीमा दोब्बर बिरामी आउँछन् । स्वास्थयकर्मी र औषधिको अभाव नभए पनि बिरामी राख्ने बेडको समस्याले सबैको उपचार सम्भव छैन ।
‘५० शैयाको अस्पताल भए पनि बिरामीलाई बेड पु¥याउनै मुस्किल छ,’ मेडिकल अफिसर विजय फुयाँलले भने, ‘प्रसूतिका बिरामी पनि उत्तिकै हुने र बाँकी बेड भरिएकाले धेरैलाई उपचार गरेर आराम गर्न घरमै पठाउने गरेका छौं ।’ मौसम परिवर्तन, अव्यवस्थित खानपान र दूषित पानीका कारण रोग लाग्ने चिकित्सकको भनाइ छ ।
हावा, पानीलगायत खानेकुराबाट रोग सर्ने भएकाले एउटा परिवार वा समूहमा बस्ने एक जनामा रोग देखा परे अरूलाई पनि सर्छ । यस्ता बिरामीले पानी उमालेर मात्र पिउनुपर्ने, मास्क प्रयोग र झोल पदार्थ धेरै खानुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । इलाम अस्पतालसहित प्याङ, मंगलबारे, फिक्कल र पशुपतिनगरका प्राथमिक स्वास्थ्य केन्द्रसहित स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीको चाप छ ।
असारको दोस्रो सातादेखि नै यो रोगको प्रकोप बढेको हो । सरकारी स्वास्थ्य संस्थाबाहेक निजी क्लिनिकमा पनि बिरामीे उत्तिकै छन् । गाउँदेखि बजारसम्मका बाक्लो बस्ती भएका क्षेत्रमा रोग छिटो फैलिएको छ ।