
माङसेबुङ, साउन : देवी देवता खुशी पार्ने निँहुमा धेरै मठमन्दिर र धार्मिक स्थलहरुमा बली चढाउने गरिन्छ । तर पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलाएर उदाहरण बनेको छ इलाम जिल्लाको माङसेबुङ । किरात धर्मावलम्बीहरुको बसोवास रहेको यो स्थानमा काटमार गर्न र मदिरापान गर्न पुर्ण रुपमा निषेध गरिएको छ । घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा राता र सेता रङ्गका ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्काे ध्वजा पनि छ । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । तर, यो कुनै पार्टी वा संघ संगठनको झण्डा नभएर पूर्वी नेपालको इलाम जिल्लास्थित माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो ।
किराँतहरुको धार्मिक स्थल माङसेबुङका करिब १ हजार ५ सय बढी घरमा यस्तै ध्वजा राखिएको छ । सो गाउँमा मासु मङ्स, जाँड, रक्सी निषेध गरिएको छ । २०७२ साल फागुनमा माछामासु, जाँड, रक्सी निषेध गरी शाकाहारी गाउँ घोषणा गरिएको छ । बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोट समेत सेवन गर्न निषेधित गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङ बताउँछन् । योङ्हाङका अनुसार त्यस क्षेत्रमा जताततै फोहोर गर्न, सुगुँर, कुखुरा पाल्न र मदिरा उत्पादन गर्न पनि गाउँबासीलाई प्रतिबन्ध नै लगाईएको छ ।
किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता (ईश्वर) र माङसेबुङ भनेको छानेको ठाउँ अर्थात देवता (इश्वर) ले छानेको ठाउँ भएको विश्वास सहित माङसेबुङ करिब दुइ दशक अघि नै लारुम्बाबाट माङसेबुङमा रुपान्तर भएको बताइन्छ । सोही समयदेखि किरात धर्म मान्नेहरुले माङसेबुङलाई धार्मिक आस्थाको केन्द्रको रुपमा लिन थालेका हुन् । माङ्गेना सेवा समितिका अध्यक्ष योङ्हाङका अनुसार विषेश गरी लिम्बू समदायको बसोबास रहेको सो स्थान किरात धर्मगुरु मुहिङ्गगुम अङ्गसीमाङ्ग लिङ्गदेन आत्मनन्द सेइङ्ग (आत्मनन्द लिङ्गदेन) को कर्मथलोको रुपमा विकास गरिएको छ । वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको शुभ जन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ । जहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिति रहँदै आएको छ । त्यसैगरी फागुन ३ गते गुरुआमा पवित्रहाङ्मा साँवा लिङदेनको जन्मोत्सव पनि विविध उत्सवका साथ मनाइने गरिएको छ ।
दुई दशकदेखि धार्मिक स्थलको रुपमा विकास भएको माङसेबुङमा अहिले करिब १० हजार जनसंख्या रहेको छ भने यहाँ विशेष गरी गुरुको जन्मोत्सव र मंसिरे पूर्णिमा तथा बैशाखे पूर्णिमालाई विशेष पर्वका रुपमा मनाईने गरिन्छ । झापाको दमकदेखि करिब १३ किलोमिटर उत्तर कच्ची मोटरबाटोको यात्रा तय गरेर पुग्न सकिने माङसेबुङमा वर्षेनी राष्ट्रिय व्यक्तित्वहरुको उपस्थिति हुने भएपनि विकासको दृष्टिले निकै पछि रहेको छ । दमकस्थित रतुवाखोला हुँदै घर्ती दोभानबाट उकालो लाग्दा निकै कष्ट भएका् अनुभव हुन्छ । तर धार्मिक स्थल माङसेबुङ पुगिसकेपछि साँच्चे आनन्द महसुस हुने त्यहाँ पुग्नेहरु बताउँछन् ।
माङसेबुङ झापाको बिर्तामोड–खुदुनावारी–दानाबारी हुँदै करिब ३५ किलोमिटर यात्रा गरेपछि पनि पुग्न सकिन्छ ।
मेची राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी वर्खाको चार महिना बाहेक अन्य समयमा साना तथा ठुला सवारी साधन धार्मिकस्थल सम्म पुग्न सक्छन् ।