इलाम, ११ फागुन
इलामको सुर्योदय नगरपालिका–७ पाल्टाङ्गे स्थित मेचीराजमार्गमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज बिहान करिब ११:३५ बजे बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकलका चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने ३१ वर्षीय तिङ्कु साहुले अचानक ब्रेक लगाउँदा पछाडि सवार सोही स्थानका ५० वर्षीय मनोज चौधरी मोटरसाइकलबाट लड्न पुगेका थिए।
त्यसक्रममा विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले चौधरीको टाउको किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएको थियो। मोटरसाइकल चालक तिङ्कु साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ। उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।
ट्रक चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ बस्ने ३० वर्षीय हरी नारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment