- सुदिप श्रेष्ठ

इलाम : बेल्जियमको ब्रुसेल्समा ४५ वर्ष पहिले जन्मिएका फ्रेडेरिक लेक्लोक्स फोटोग्राफर हुन् । उनी नेपालमा पहिलो पटक वि.सं.२०५१ सालमा आएका थिए । फ्रान्सको ड्रोममा स्थायी बसोबास गर्ने लेक्लोक्स त्यसपछि बारम्बार नेपाल आए । उनले पहिलो प्रकाशन गरेको पुस्तककै नाम ‘काठमाडौं २०५८’ राखे तर किताब रिलिज गरे विसं.२०६० मा । माओवादी द्वन्द्वले चरम रुप लिएको वर्ष पनि थियो वि.सं.२०५८ । सो पुस्तक फ्रेञ्च भाषामा मात्र प्रकाशित भयो । हालसम्म उनले १० वटा फोटो पुस्तकहरु लेखिसकेका छन् । ति मध्ये ‘नेपाल, एभ्रीडे इपिफानिज’ यो दशैं र तिहारताका नेपालको बजारमा आउदैछ । फ्रेञ्च र अङ्ग्रेजी र नेपाली भाषामा एकसाथ प्रकाशनको तयारी भईरहेको सो पुस्तकलाई नेपाली भाषामा प्रविन अधिकारीले अनुवाद गरेका छन् । सो पुस्तकमा उनी सन् २०११ को अप्रिल र मे महिनामा अर्थात ६ वर्ष पहिले इलाम भ्रमण गरेको बेला कैद गरेको एक तस्विर पनि परेको छ । फ्रेडेरिक लेक्लोक्सले सो तस्विरको क्याप्सनमा ‘सन्तोष बायाँ र राकेश दायाँ इलामको चियाबारीमा फोटोको लागि पोज दिदै २०११’ लेखेका छन् ।
चियाबारी दैनिकले लेक्लोक्ससँग सम्पर्क गर्दा उनले लिमिटेड ११ वटा फाईन आर्ट प्रिन्टको सो तस्विर आफुसँग रहेको बताए । उनले हामीसँगको इमेल सम्पर्कमा भने, ‘मेरो सबैभन्दा महत्वपूर्ण तस्विरहरु मध्ये यो तस्विर पनि पर्छ । ६ वर्ष पहिले मैले यी दुई केटाहरुसँग सुन्दर पलहरु बिताएको छु । मैले यो तस्विरमा हस्ताक्षर गरेर केहि लिमिटेड इडिसन मात्र राखेको छु । तर आजसम्म मैले एक तस्विरपनि बेचेको छुईन । यदि तपाईलाई राम्रो गुणस्तरीय प्रिण्टमा तस्विर चाहिन्छ भने म खुसीसाथ पठाईदिन तयार छु । यदि तपाईले यी केटाहरुलाई भेट्नुभयो या चिन्ने मौका पाउनुभयो भने मैले त्यो समयमा पठाएको तस्विर पाए कि पाएनन्, बुझिदिनुहोला, यदि पाएका छैनन् भने म पुनः तस्विर पठाउने प्रयास गर्नेछु । मेरो कामप्रतिको तपाईको सद्भावको लागि धन्यबाद ।’
इलामको चियाबारीमा खिचिएको सो तस्विर विश्वव्यापी रुपमा एक वर्ष अघि नै इन्टरनेटमा भाइरल भईसकेको थियो । भर्खरै चार महिना मात्र पहिले भारतीय चर्चित अनलाईन न्युज पोर्टल ‘मिड डे’ले पनि यो तस्विर ‘अ लुक अ्याट नेपाल इन पिक्चर्स’ शिर्षकमा प्रकाशित गरिसकेको छ । भारतको दिल्लीमा गत वर्षको मे महिनामा आयोजना गरिएको फोटो एक्जिभिसनमा पनि यो फोटो राखिएको थियो ।
सो समयमा भारतको बैङ्गलोरबाट प्रकाशन हुने अनलाईन पोर्टल ‘पोल्का क्याफ’ेले ‘स्कोप अ फोटो फिचर अन नेपाल’ शिर्षकमा यो तस्विर प्रकाशन गरेको थियो । लेक्लोक्सले सन् २०१३ मा नेपाली टाइम्समा एक आर्टिकल लेखेर सो तस्विर ‘नेपाल, एभ्रीडे इपिफानिज’मा प्रकाशन गर्ने बताएका थिए तर नेपाली टाइम्सले अप्रकाशित पुस्तक ‘ने प्लस भोएगर’ मा प्रकाशन हुने उल्लेख गरेको थियो । उनले लेखेका थिए, ‘नेपालका कुनैपनि कुराले मलाई क्रुद्ध बनाउदैन, मृत्यु, हिंसा, ज्वरो, धुँवाधुलो, ह्याभी मेटल र भिडभाड । म ठिक ठाउँमा आएको छु । त्यस्तो ठाउँ, जसले अर्डर र डिसअर्डर बिचको सन्तुलन खोजिरहेको छ, जसले कथा र वास्तविकता बिचको सन्तुलन खोजिरहेको छ । यो नेपाल हो, जहाँ म मेरो लेन्सले तस्विरहरु क्याप्चर गरिरहेको छु र ‘नेपाल नै किन’ भन्ने प्रश्नको उत्तर खोज्न शुरु गरिरहेको छु ।’ नेपाल, त्यसमा पनि इलामलाई विश्वसामु चिनाउन प्रयासरत यी विदेशी नायकलाई हार्दिक धन्यबाद । भन्दै चियाबारी दैनिकले समाचार प्रकाशन गरेको छ ।