दुई गाउँपालिका जोड्ने पुल चार करोडमा बन्यो

ताप्लेजुङ : ताप्लेजुङको पश्चिमी मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकाको सिमानामा रहेको मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएको छ । चार करोड रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो । सेवालुङ निर्माण सेवा प्रा.लि. ताप्लेजुङले निर्माण गरेको उक्त पुलको लम्बाई ३६.४० मिटरको रहेको छ । मेरिङ्देनको खाम्लुङ र आठराई त्रिवेणीको चाँगे जोड्ने पुल निर्माण सम्पन्न भई मैवाखोलामा पक्की मोटरेवल पुल निर्माण भएपछि स्थानीयवासी पनि हषिर्त भएका छन् । गाउँगाउँमा पहिलेदेखि नै सडकहरु निर्माण भए पनि पुल नहुँदा यातायातसँगै बाह्रै महिना सवारीसाधन सञ्चालन गर्न सकिने सेवालुङ निर्माण सेवा प्रा.लि.का प्रवन्ध निर्देशक जसबहादुर लिम्बूले बताए । साधनहरु सञ्चालन हुन सकेको अवस्थामा पुल निर्माण भएपछि स्थानीयबासी हर्षित भएका हुन् । 
उक्त पुल निर्माणले अब आठराई त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकाअन्तर्गतका साविक दर्जन बढी गाविसमा सवारीसाधन सहज रुपमा सञ्चालन गर्न सकिने भएको स्थानीयले बताएका छन् । यस्तै हाल निर्माण भइरहेको तमोर करिडोर साथै कोशी राजमार्ग धरान–धनकुटा मुलघाट–बसन्तपुर हुँदै संखुवासभाको गुफापोखरी–ताप्लेजुङ सडक पनि यही पुलमा जोडिने भएकाले यसलाई निक्कै महत्वपूर्ण पुलको रुपमा हेरिएको छ । मैवाखोलामा निर्माण भएको यो पुल र नजिकै निर्माणाधीन अवस्थामा रहेको दोभानस्थित तमोर नदीको पुल सम्पन्न भएमा जिल्लाकै समृद्धिको ढोका खुल्ने पनि बताइएको छ । सदरमुकाम फुङ्लिङ र साविक जिल्लाको क्षेत्र नं. २ जोड्नेगरी तमोर नदीमा मोटररेवल पुल निर्माणाधिन अवस्थामा रहेको छ । मैवाखोलाको पुल बनेपछि र तमोरको पनि पुल निर्माण सम्पन्न भएमा ताप्लेजुङ सदरमुकामदेखि गुफापोखरी–बसन्तपुर–धनकुटाअन्तर्गत कोशी राजमार्ग हुँदै तराईसँग सीधा सडक सञ्जाल जोडिने छ । तमोर नदीको पुल पनि आउँदो हिउँदभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता