पौरख गर्न सके पढाइले छेक्दैन, प्रेरणाको स्रोत बनिन् दुर्गा

इलाम, ९ कातिकः इलमकी दुर्गा राई पौरख गर्न सके पढाइले छेक्दैन् भन्ने उदहारण बनेकी छिन् । तत्कालिन इलामको उत्तरी गाविस माइपोखरीमा जन्मेकी दुर्गाले ग्रामिण विद्यालयबाट कक्षा आठ सम्म मात्र उत्तिर्ण गरेकी थिइन् । उनले वि.सं २०५० मा देउमाई नगरपालिका ६ शान्तिडाँडाका चन्द्र राईसँग विवाह गरिन् । वि.स २०६२ सालमा इलाम नगरपालिका १, साखेजुङ्गको नेपालटारमा मखमली महिला समुहको अध्यक्ष रहेकी दुर्गाले अर्को सुनाखरी महिला समूहसँग साझेदारीमा दुईवटा समुहबाट साझेदारी फर्म  सञ्चालन गरी दुग्ध परिकार इलामको कोसेली रुपमा चिनिने ललिपप र बम्बैसन उद्योग स्थापना गरि वि.सं.२०६२ सालमा घरेलु तथा साना उद्योग विकास समिति इलामबाट उद्योग दर्ता गरि सञ्चालन गर्न थालेको सात वर्षपछि वि.सं.२०६९ सालमा इलाम नगरपालिका स्थित नारायणस्थानमा आफ्नै लगानीमा इलाम ललिपप उद्योग दर्ता गरि उद्योगमा आत्मनिर्भर बन्न पुगिन् । 
भाडाको घरमा तीन वर्षसम्म उद्योग सञ्चालन गरे पछि वि.सं.२०७२ सालमा इलाम नगरपालिका ६ चुरेघाँटीमा आफ्नै उद्योगको भवन निर्माण गरेर सरे पछि सर्वप्रथम वि.सं २०७३ सालमा जिल्ला पशुसेवा कार्यालय इलामले डेरी पसल निर्माणका लागि दुई लाख रुपैँया उपलब्ध गरेपछि उनलाई उद्योग सञ्चालन गर्न थप सहज भएको उनी बताउछिन् । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिबाट वि.सं २०७४ सालमा ७२ हजार रुपैँया उपलब्ध गराएको थियो । व्यावसायिक कृषि तथा व्यापार आयोजनाले उद्योगका लागि सामग्री खरिद गर्नका निमित्त तीन लाख ४५ हजार रुपैंयाँ सहयोग गरेपछि आफ्नै लगानीमा इलाम नपा ६ चुरेघाटीँमा आफ्नै उद्योग निर्माण गरेको उनी बताउछिन् ।
इलामको प्रसिद्ध ललिपप र बम्बैसन कोसेलीका रुपमा बाहिर समेत जाने हुनाले उद्योगप्रतिको आकर्षण बढेको उनको भनाई छ । उद्योगका लागि इलाम नपा ४ माईपोखरी र देउमाई नगरपालिकाबाट दुई वटा डिपो सञ्चालन गरि २५० लिटर देखि ३०० लिटरसम्म दुध जम्मा भई दैनिक ६० किलो ललिपप बनाउने गरेको उनले बताइन् । महिलाहरुले पनि चाहेमा जस्तोसुकै कार्य गरी आत्मनिर्भर बन्न सक्छन् भन्ने प्रेरणाकी स्रोत बन्न पुगेकी दुर्गाले आफू जस्तै महिला गृहिणीहरुका लागि रोजगार समेत दिएकी छिन् । उद्योगमा आठ जना महिला र डिपोमा तीन जना गरी जम्मा ११ जना कामदार रहेका छन् । क्याम्पस पड्ने विद्यार्थी देखि बच्चा पढाउन कोठा बसेका गृहिणीसम्म उद्योगमा काम गर्ने गरेका छन् । 
सदरमुकामस्थित चारखोला उच्च माविमा कक्षा १२ मा अध्ययनरत भिमा राईले बिहानको समय क्याम्पस जाने र दिनमा काम गरेर खर्च जुटाउने गरेको बताइन् । उनले खाली समयको सदुपयोग गरी आफूलाई व्यस्त बनाउनका लागि काम गरेको बताइन् । यस्तै स्थानीय धनमाया लिम्बुले काम गरेर घरायसी खर्च र बच्चा पढाउन समेत सहज भएको बताइन् । उद्योगमा काम गर्नेहरुले मासिक पाँच हजार देखि आठ हजारसम्म कमाउने गरेको उनको भनाई छ । 
मासिक छ लाखको हाराहारीमा कारोबार हुने ललिपपबाट १० प्रतिशत भन्दा बढी नै मुनाफा हुने गरेको छ । ललिपप स्थानीय इलाम, फिक्कल, बिर्तामोड, काठमाडौँसम्म बजारीकरण हुने गरेको दुर्गाले बताइन् । काठमाडौँमा भने भूकम्प पश्चात कम मात्रामा मात्र जाने गरेको उनको भनाई  छ । उनले वि.सं २०७० सालमा घरेलु तथा साना उद्योग पूर्वाञ्चल क्षेत्रीय पर्यटन तथा कृषि प्रदर्शनीबाट उत्कृष्ट पुरस्कार साथै वि.सं २०७१ सालमा घरेलु तथा साना उद्योग केन्द्रिय समितिबाट राष्ट्रकै दोसा्रे पुरस्कार प्राप्त गरिसकेकी छिन् । यस्तै अन्य पुरस्कारबाट समेत सम्मानित भएकी उद्यमी दुर्गा कुमारी राई एक प्रेरणाकी स्रोत बनेकी छिन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता