
इलाम : इलाम नगरपालिकाले थप दुई वटा कार्यविधि पारित गरेको छ । नगर प्रमसख महेश बस्नेतको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिकाको तेश्रो नियमित बैठकले दुईवटा कार्यविधि पारित गरेको हो ।
बैठकले ‘यान्त्रिक उपकरण सञ्चालन कार्यविधि २०७४’ र ‘घर निर्माण तथा मर्मत कार्य मजदुर कल्याण कोष सञ्चालन कार्यविधि २०७४’ पारित गरेको हो ।
इलाम नगर सभाले आम नागरिकलाई राहत पुर्याउन, विपत्तीका बेला नागरिकलाई सहज गर्न यान्त्रिक खरिद गर्ने निर्णय गरेको थियो । सभाले डोजर, रोलर र ट्याक्टर खरिद गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम खरिद गरिएका यान्त्रिक उपकरणहरुको सही सदुपयोग गर्ने गराउने उदेश्यले ‘यान्त्रिक उपकरण सञ्चालन कार्यविधि २०७४’ निर्माण गरिएको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण क्षेष्ठले नयाँ बुलन्दलाई जानकारी दिए ।
यान्त्रिक उपकरणलाई सही काममा परिचालन गर्न नगर प्रमुखको संयोजकत्वमा तीन सदस्यीय ‘यान्त्रिक उपकरण परिचालन समिति’ समेत गठन भएको छ । समितिका दुई सदस्यमा नगर प्रमुखले तोकेको वडा अध्यक्ष तथा कार्यपालिकाका सदस्यमध्ये एक र नगरपालिकाका इन्जिनियर रहने श्रेष्ठले जनाए ।
त्यस्तै नगरक्षेत्र भित्र विभिन्न घर चथा भवन निर्माणमा संलग्न मजदुरहरुको कल्याणका लागि प्रथम नगर सभाले निर्णय गरेअनुसार निर्माण गरिएको ‘घर निर्माण तथा मर्मत कार्य मजदुर कल्याण कोष सञ्चालन कार्यविधि २०७४’ पारित भएको छ । नगरक्षेत्र भित्र घर तथा भवन निर्माणका क्रममा कुनै मजदुर घाईते भएमा उपचार खर्च उपलब्ध गराउने र मृत्यू भए रहत उपलब्ध गराउने गरी कल्याण कोष स्थापना गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । घरधनीले अनिवार्य नक्सा पास गरी घर निर्माण गरेमा प्रक्रिया पूरा गरी मजदुरको जीवन विमा गरिने उनले बताए ।
सो कल्याण कोष सञ्चालनका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय ‘मजदुर कल्याण कोष सञ्चालन समिति’ गठन भएको छ । समितिको सदस्य सचिवमा नगरपालिकाको इन्जिनियर रहनेछन् । सदस्यमा नगर प्रमुखले तोकेको वडाअध्यक्ष तथा कार्यपालिकाका सदस्यमध्ये एक महिला सहित दुई जना रहने बताईएको छ ।
यसअघि इलाम नगरपालिकाले विभिन्न आधा दर्जन बढी कार्यविधि तथा नियमावली पारित गरी लागू गर्दै आएको छ ।