विदेशमा भविष्य नबने पछि चियाले बनायो उद्योगी

  • बिनय तिम्सीना

इलाम, ७ कार्तिक: इलाम नगरपालिका १, साँखेजुङका टंक दहाल ५ वर्ष मलेसिया बसे अलिअलि पैसा पनि कमाए तर भविष्य भने विदेशमा बसेर नबनिने देखे पछि अलिअलि कमाएको पैसाले नेपालमा आएर आफ्नै करेसाबारीमा रोपेको चिया प्रशोधन गर्ने उद्योग खोल्न कम्मर कसे ।  बारीमा रोपेको चियाले भाउ नपाएको देखे पछि आफै प्रशोधन गर्ने निर्णय गरे । यसमा उनका घर परिवारले पनि पूर्ण साथ दिए । सबैका साथ र सहयोगमा उनले २०६४ सालमा ५ लाखको लगानीमा घरेलु ड्रायरबाट चिया प्रशोधन गर्ने ग्रिनहिल अर्थोडक्स चिया प्रशोधन कारखानाको शुरु गरे । 
उनले शुरु गरेको ड्रायरमा दैनिक ५० केजी देखि १०० केजी हरियो पत्ती प्रशोधन गर्न थालेको उद्योगमा आफ्ना परिवारले मात्र काम पाएनन् अन्य एक जनालाई समेत रोजगारी दिए ।
यसरी उनले थालेको उद्योग २ वर्ष सम्म मेसिनहरु थप्दै चलाए । दुई वर्ष पछि फिन्ल्यण्डको नेपालमा सञ्चालित सिमएन परियोजनाबाट पचास प्रतिशत, आफ्नो लगानीमा ५ लाख सहयोग पाए पछि उनले १५ लाखको लगानीमा केही नेपालमा बनेका र चीनबाट मेसिन ल्याएर कारखानाको स्तरोउन्नति गरे । कारखानाको स्तरोउन्नति भए सँगै उनको उद्योगमा दैनिक २५० केजी हरियो पत्ती प्रशोधन हुन थाल्यो, अन्य ३ जनाले पनि रोजगारी पाए । गाउँमै बसेर उनले अरुलाई पनि रोजगारी दिन थाले कुनै समय उनी मलेसियामा रोजगारी गर्न भौतरिएका थिए । विगत सम्झदै उनी इच्छा र जाँगर भए नेपालमा नै धेरै काम गर्न सकिने बताउँछन् । 
उनले चिया कारखानको लगातार स्तरोउन्नति गर्दै २०७३ साल सम्ममा ३० लाख भन्दा माथि लगानी गरि सकेका थिए । त्यही समयमा डेनमार्कले नेपालमा सञ्चालित उन्नति कार्यक्रमबाट ५८ लाख रुपैंयाँ अनुदान पाए पछि आफुले पचास प्रतिशत अनिर्वाय लगानी गर्नु पर्नेमा उनलाई पचास प्रतिशतले नपुगेर ७० प्रतिशत आफैले लगानी गर्दै ५८ लाखको अनुदानमा लगानी गर्दै उनको जम्मा लगानी १ करोड ९३ लाख पुग्यो । अहिले उनको उद्योगमा अत्याधुनिक मेसिनबाट दैनिक २५ सय केजी हरियो पत्ती प्रशोधन हुन्छ । ब्ल्याक टी, ग्रिन टी, स्पेशल ग्रिन टी, स्पेशल ब्ल्याक टी, ह्वट टी र गोल्डेन टी गरेर उनको चिया कारखानामा ६ प्रकारका चिया प्रशोशन हुने गरेको छ । 
कारखानामा अहिले १६ जना कामदारले रोजगारी पाएका छन् । नेपाल सरकारले तोकेको तलबमा कसैले पनि काम गर्न मान्दैनन् सबैलाई राम्रै तलब दिएर राख्नु पर्ने बाध्यता उनी सुनाउँछन् ।
उनले उत्पादन गरेको चियाको ठूलो बजार भने भारतको कोलकोता हो । उनी आफुले प्रशोधित चिया दश प्रतिशत  तेस्रो मुलुकमा बिक्री गर्दछन् । कारखानामा प्रशोधित चिया जर्मनी र अमेरीकाका वायरलाई बेच्ने उनले बताए । उनले तेस्रो मुलुकमा चियाको गुणस्तर हेरेर २३ युरो देखि ३२ युरो सम्म बिक्री गर्ने गरेको बताउँछन् । नेपालमा ३० प्रतिशत र भारतको कोलकोतामा बाँकी चिया बिक्री गर्ने गरेको उनी सुनाउँछन् । उनको चिया कारखानामा नेपाल सरकारले भने अहिले सम्म कुनै सहयोग नगरेको र चियाको बजारीकरणमा नेपाल सरकारले कुनै पनि सहयोग नगरेकोमा उनी अन्य उद्योगी जस्तै निराश छन् । 
नेपालको पूर्वी क्षेत्रमा हुने चिया खेतीमा सरकारले कुनै चासो नदेखाउँदा विदेशमा चिया बिक्री गर्न समस्या भएको पनि उनी बताउँछन् ।
नेपालमा बजारीकरणको लागि आफ्नै उद्योगमा शेयर समेत भएका भतिजा गोपाल दाहालले बिर्तामोडमा ग्रिनहिल टी हाउस नामको बिक्री डिपो खलेर बिक्री गर्दै आएको पनि उनले बताए ।
अहिले इलाम नगरपालिका १, मा दुईवटा ठूला चिया फ्याक्ट्री, एकवटा मझौला, तीन वटा साना फ्याक्ट्री र ३ वटा साना ड्रायरले दैनिक १३ हजार किलो हरियो पत्ती प्रशोधन गर्दै आएका छन् । साखेजुङका कृषकहरु दैनिक १४/१५ हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको छ । 
साखेजुुडमा भएका सबै चियाबगान निजी चियाबगान हुन । नेपाल सरकारले चिया नीतिमा सुधार नगर्दा चिया कृषक र उद्योगीहरु पनि मारमा परेका छन् । नेपाल सरकारले हाल सम्म पनि कुनै ठोस चिया नीति र बजारीकरण कसरी गर्ने भन्ने विषयमा छलफल सम्म पनि गरेको छैन । नेपालको पूर्वीभागको अर्थतन्त्रको निक्कै ठूूलो हिस्सा ओगटेको चिया नीति ल्याएर नेपाल सरकार अगाडि बढ्नु जरुरी देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता