
इलाम, १७ मंसिर : नेपाली कांग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङदाम्बेले एमाले र माओवादीले निरंकुश शासन व्यवस्थाको वकालत गरेको बताएका छन् । एमाले र माओवादीका नेताहरुले एक पटक चुनाव गरेर ५० वर्ष शासन गर्ने अभिव्यक्ति दिएको भन्दै देशमा निर्दलीय व्यवस्था लाद्न खोजेको आङदाम्बेको आक्रोश थियो । नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समिति इलामले सदरमुकाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता आङदाम्बेले गणेशमानले एमाले र गिरिजाले माओवादीलाई लोकतान्त्रिक धारमा ल्याएको एकतन्त्रे निरंकुश शासन व्यवस्थाका लागि नभएको भन्दै उनले अब जनताले लोकतन्त्रको रक्षाका लागि कम्यिुनिष्टलाई रोक्ने दाबी गरे । माओवादी र एमालेलाई एकतन्त्रीय निरंकुश शासनका लागि लोकतान्त्रिक धारमा नल्याएको स्पष्ट पार्दै नेता आङदाम्बेले जनतालाई लोकतान्त्रिक धारमा आए भन्ने लागेको थियो, तर अझैपनि एमाले र माओबादी नसुध्रिएको आरोप लगाए ।
कम्युनिष्टहरुले साम्यवादका नाममा अधिनायकवाद ल्याउन खोजेको भन्दै हालसम्म प्राप्त उपलब्धी उल्ट्याउन समेत खोजिरहेकाले लोकतन्त्रलाई बचाउनका लागि काँग्रेसलाई अबको निर्वाचनमा जनताले जिताउनै पर्ने तर्क प्रस्तुत गरे । कम्युनिष्टले बहुमत ल्याए संबैधानिक उपलब्धी र लोकतन्त्र समेत धरापमा पर्ने भन्दै आङदाम्बेले लोकतान्त्रिक शक्ति बलियो हुनुको विकल्प नभएको स्पष्ट पार्दै अबको निर्वाचनमा अस्तित्व संकटमा पर्ने डरले एमाले–माओबादीले गठबन्धनको भ्रम छरेर नौटङकि गरेको आङ्दाम्वेको भनाई थियो । उनले एमाले पहिचान विरोधी पार्टी समेत भएको तर्क प्रस्तुत गरे । यस्तै सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य विक्रम पाण्डेले बाम गठबन्धनको नाटक गरेर एमाले–माओवादीले देशमा निरङकुशतन्त्र चलाउन खोजेको आरोप लगाए । बाम गठबन्धनको नाममा उनीहरुले देशमा फेरी द्धन्द सुरु गर्न खोजेको पाण्डेको भनाई थियो । यस गठबन्धनले ५० वर्ष सत्ता चलाउने भन्नु उनीहरुको केवल दिवा सपना मात्र रहेको उल्लेख गरे । भ्रष्टचारी र गुण्डागर्दीको संरक्षण गर्ने पार्टी एमाले भएको भन्दै नेता पाण्डेले एमाले पार्टी एमाले नभई माओबादी र माओबादी पार्टी माओबादी नभई एमाले बनेको समेत आरोप लगाए ।
यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस नेता तथा केन्द्रिय निर्वाचन परिचालन समितिका प्रतिनिधि तारामान गुरुङ्गले राजनीतिको नेतृत्व गरेको काँग्रेसले विकासको नेतृत्व पनि दाबी गरे । उनले काँग्रेसको नेतृत्वमा संविधान बन्यो, काँग्रेसकै नेतृत्वमा आर्थिक विकास पनि हुने उनको तर्क थियो । सभामा प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ का उम्मेद्वार केशब थापा, सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश नम्बर १ का उम्मेद्वार डम्बर खड्काले पनि सम्बोधन गरेका थिए ।