आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त जानकारीअनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा मतदान जारी छ । सबैभन्दा बढी रुपन्देहीमा ६६, चितवनमा ६५, सुर्खेतमा ६३ र मोरङ जिल्लामा ६२ प्रतिशत मतदान भएको केन्द्रले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ । साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था छ । पहाडी तथा तराई–मधेशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको निर्वाचनमा कूल एक करोड २२ लाख ३५ हजार ९९३ मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार छ ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदान गरेपछि पत्रकार सँग कुरा गर्दै चुनाव सकिएलगत्तै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिएका छन् । उनले मुलुक विकास र स्थिरताको बाटोमा अघि बढेको समेत बताए ।
वाम गठबन्धनको सूत्रधारसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेलधुरामा मतदानपछि ‘चुनाव सुरू भइसक्यो, अध्यक्ष ओली चुनाव सर्ने हल्ला छ भन्दै हुनुहोला’ भनेको भनाइप्रति टिप्पणी नगर्ने बताए ।
