
इलाम, २० मंसिरः मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि एवम प्रदेशसभाको निर्वाचनको तयारी इलाममा पुरा भएको छ । २ लाख ४ हजार ४६ मतदाता रहेको इलामका सवै १४४ मतदान स्थलका २६६ मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी र सुरक्षाकर्मी पुगि काम सुरु गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाममा निर्वाचन सम्पन्न गर्न २१ सय २८ जना कर्मचारी खटिएका छन । मतदान केन्द्रमा पुगेका कर्मचारीले मतदान परिचयपत्र वितरण र मतदान केन्द्रमा बुथ निर्माणको काम थालिसकेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । उनले हालसम्म मतदानमा खटिएका कर्मचारीहरुलाई सुरक्षा थ्रेट नभएको बताए ।
३ सय मिटर देखी ३६ सय ३६ मिटरसम्म उचाइमा पर्ने इलाममा शाान्तिपुण, भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरीहरुलाई जिल्ला सुरक्षा योजना अनुसार परिचालित भएका छन । निर्वाचनमा मतदानका दिन निर्वाचन विरोधी गतिविधी नियन्त्रणका लागी सुरक्षा समितीले रिर्जभ फोर्स र मोवाइल टोली तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए । ‘हामीले सुरक्षाका सबै पाटोलाई विश्लेषण गरेर जिल्ला सुरक्षा योजना अनुसार सुरक्षाकर्मी परिचालन गरेका छौ,’ उनले भने ।
आसन्न चुनावको लागी इलामका १४४ मतदानस्थलका २६६ मतदान केन्द्रमा १ हजार २५५ म्यादी, ८१७ नेपाल प्रहरी, ३५० शसस्त्र प्रहरी , १३ जना राष्ट्रिय अनुसन्धानका प्रहरीहरु खटाइएको पोखरेलले बताए । जिल्लाका ५ स्थानबाट नेपाली सेना सुरक्षा बेस खडा गरेर निर्वाचन सुरक्षा गरिएको प्रजिअ पोखरेलले बताए । ‘सुरक्षाका सबै निकायलाई चुनावी तयारी हालत अवस्थामा राखेका छौं, मतदान केन्द्रको संवेदनशिलता र मतदाताको संख्याको आधारमा ८ देखी १५ जना सुरक्षाकर्मी परिचालित हुनेछन । खासखास स्थान, गौडामा नेपाली सेना तैनाथ छन’ उनले भने । सुरक्षाका हिसाबले इलाममा खासै चुनौतीपूर्ण नदेखिए पनि केही मतदान केन्द्रहरुलाई सुरक्षाका हिसाबले संवेदनशीलको सूचीमा राखेको प्रशासनले ती क्षेत्रमा विशेष सुरक्षा दिने तयारी गरेको छ । इलाममा निर्वाचन विरोधी गतिविधीको आरोपमा प्रहरीले करिव दुई दर्जन पक्राउ गरेको छ । इलाममा सेना, प्रहरी र शसस्त्रको संयुक्त गस्ती भइरहेको पोखरेलले बताए ।
यस पटकको चुनावमा पनि स्थानीय चुनावमा झैं नेपाल प्रहरीको मुख्य घेरासँगै बाहिरबाट सशस्त्र र नेपाली सेनाको सुरक्षा रहने भएको छ । म्यादी प्रहरीले चुनावी प्रक्रियामा नेपाल प्रहरीको सहयोगीको भूमिका खेल्नेछन् । प्रतिनिधीसभाको २ निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ निर्वाचन क्षेत्र रहेको इलाममा १४ राजनितिक दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा छन । पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको जिल्ला भएकाले इलामलाई विशेष महत्वका साथ हेरिएको छ ।