
सौन्दर्य प्रतियोगिता ’मिस नेपाल’को आगामी संस्करणका लागि आवेदन आह्वान गरिएको छ । आइतबार आयोजक संस्था हिडन ट्रेजरले पत्रकार सम्मेलन आयोजना गर्दै सन् २०१८का लागि प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगिताको लागि नेपालभरका प्रमुख ९ शहरहरुमा अडिसन हुनेछ । काठमाडौं, वीरगंज, पोखरा, चितवन, धरान, बुटवल, धनगढी, नेपालगञ्ज र विर्तामोडबाट सहभागी छानिने छन् । आयोजक संस्था द हिडज ट्रेजर प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले आगामी अप्रिल ११ तारिखमा मिस नेपालको फिनाले हुने जानकारी दिए । फेब्रुअरी ४ बाट १७ तारिखसम्म हुने अडिसनबाट छानिएका २० देखि २५ जनासम्म सहभागीले ७ साता लामो प्रशिक्षणको मौका पाउनेछन् ।
मिस नेपाल बन्नका लागि आयोजकले प्रतियोगीको उमेर १९ देखि २४ वर्ष भएको हुनु पर्ने, उचाइ ५.४ भन्दा अग्लो हुनु पर्ने, बिहे नगरेको हुनु पर्ने, बच्चा नजन्माएको हुनु पर्ने, शैक्षिक योग्यतामा प्लस टु अध्ययनरत हुनु पर्ने, नेपाली नागरिकता तथा पासपोर्ट नै भएको हुनुपर्ने, शरीरमा ट्याटु खोपेको हुन नहुने जस्ता शर्तहरु राखेको छ । सहभागी हुन इच्छुकले फेब्रुअरी १५ अर्थात फागुन ३ गते भित्र आवेदन भर्न पर्नेछ ।