नयाँबजारमा अग्र्यानिक चिया खेती प्रविधि तथा अभिलेख व्यवस्थापन तालिम

  • नरेन इलामेली

माइजोगमाई, ८ माघः इलामको माइजोगमाई गाउँपालिका  १ नयाँबजारमा अग्र्यानिक चिया खेती प्रविधि तथा अभिलेख व्यवस्थापन सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ। उन्नतिका समावेशी वृद्धि कार्यक्रम अन्तर्गत डेनमार्क सरकारको सहयोग तथा इलामेली चिया उत्पादक सहकारी संस्था सूर्योदय नगरपालिकाको आयोजनामा सो तालिम सम्पन्न भएको हो। इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सुबेदीको अध्यक्षता , उन्नतिका समावेशी वृद्धि कार्यक्रम नेपालका इन्जिनियर सरोज यादवको प्रमुख आतिथ्यता तथा माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको विशेष आतिथ्यतामा सम्पन्न सो तालिमलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कृषि प्राविधिक अन्नत ढुङ्गाना र इलामेली चिया उत्पादक सहकारी संस्थाकी चिया प्राविधिक विनिता लामिछानेले सहजीकरण गरेका थिए।
तालिममा किसानहरुलाई अर्गानीक खेतीको परिचय, सिद्धान्त, नेपालमा अर्गानीक खेतीको अवस्था र चुनौती, अर्गानीक मल र विषादी बनाउने तरिका, माटो परीक्षण, रोग किराको व्यवस्थापन तथा अभिलेख व्यवस्थापन सम्बन्धि जानकारी प्रदान गरिएको थियो भने माटो परिक्षणका लागि माटो कसरी संकलन गर्ने भन्ने बारे  प्रयोगात्मक रुपमा सिकाइएको थियो।
पछिल्लो समय नेपालमा बढेको रासायनिक बिषादीलाई न्युनिकरण गर्दै अर्गानीक खेतीलाई प्राथमिकता दिने उद्देश्यले सो तालिमको आयोजना गरिएको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए। विषादी न्युनिकरण गर्दै अर्गानीक खेतीलाई प्रोत्साहन गर्नका लागि इलामेली चिया उत्पादक सहकारी संस्थाले जिल्लाभर अभियानका रुपमा यो तालिम सञ्चालन गरिरहेको र यस अघि फिक्कल, पशुपतिनगर, समाल्बुङ र बरबोटेमा पनि तालिम सम्पन्न गरेको साथै सहकारीद्वारा नै अब चाँडै अर्गानीक चिया कारखाना सञ्चालनमा ल्याइने सुवेदीले बताए। त्यसतै बिकराल रुपमा प्रयोग भइरहेको रासायनिक विषादी न्युनिकरणका लागि गाउँपालिकाका निती नियम बनाएर आवश्यक पहल गर्ने माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले बताए। कृषि उपजलाई प्रवर्धन गर्न त्यसमा पनि अर्गानीक खेतीलाई विशेष प्राथमिकता दिने गरी गाउँपालिकाका बजेट पनि विनियोजन गरेको र अर्गानीक खेती गर्न चाहने कृषकहरुलाई अनुदान सहयोग समेत गर्ने राईको भनाइ छ।
माइजोगमाई गाउँपालिकाका कृषिमा निर्भर रहेकाले पनि विषादी रहित खेतीलाई प्राथमिकता दिनुपर्ने र वडा कार्यालयले पनि यस कार्यलाई सहयोग गर्ने १ नं वडाका वडा अध्यक्ष यामकुमार कार्कीले बताए। त।यस्तै इलामेली चिया उत्पादक सहकारी संस्थाको यस तालिमले किसानहरुलाई अर्गानीक खेतीको परिचय र महत्व बारे ज्ञान दिएर जीवनलाई कसरी स्वास्थ्य राख्न सकिन्छ भन्नेबारेमा सचेत बनाएको र आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षाकृत रहेको तालिममा सहभागी किसान शान्ता खतिवडाले बताइन। यस तालिम लिइसकेपछि अर्गानीक चिया उत्पादनलाई प्रोत्साहन गर्ने र बजारीकरणलाई‌ समेत सहयोग गर्दै कृषकहरुको आय वृद्धि गर्न सहयोग गर्ने सहयोगीहरुले बताए। सो तालिममा तीस जना भन्दा बढी किसानहरुको सहभागिता रहेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता