सानिमा माईले २९ करोड मुनाफा कमायो

इलाम, ८ माघः सानिमा माई हाइड्रो पावर कम्पनीले आर्थिक वर्ष २०७३÷७४ मा २९ करोड रुपैयाँ बराबरको मुनाफा कमाएको छ । कुल ८० करोड ५१ लाख ४८ हजार ३ सय ३१ रुपैयाँ आम्दानी गरेको कम्पनीले खर्च घटाएर २८ करोड ९९ लाख ४१ हजार १३ रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीको छैटौं वार्षिक प्रतिवेदन अनुसार असार मसान्तसम्म इलाममा सञ्चालित २२ मेगावाटको माई र ७ मेगावाटको माई क्यासकेड जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युत बिक्री र विभिन्न बैंकमा जम्मा रकमको व्याजको आम्दानीबाट मुनाफा आर्जन गरिएको हो । विभिन्न बैंकमा जम्मा निक्षेप रकमको व्याजबाट ९३ लाख ६८ हजार ३ सय ३९ रुपैयाँ आम्दानी भएको छ । आम्दानीबाट प्रशासनिक, विद्युतगृह सञ्चालन, प्रसारण लाइनको अपलेखन तथा वित्तीय ह्रास कट्टी शिर्षकमा ५१ करोड ८४ लाख ६८ हजार ६ सय १९ रुपैयाँ खर्च भएको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, चालु आर्थिकको पहिलो त्रैमासिक असोज मसान्तसम्म थप १५ करोड १९ लाख ८२ हजार ९ सय ७९ रुपैयाँ मुनाफा आर्जन भएको छ । विद्युत बिक्री तथा विभिन्न बैंकमा राखिएको निक्षेप रकमको व्याजमार्फत २९ करोड १७ लाख ६१ हजार २ सय ७५ रुपैयाँ आम्दानी भएको कम्पनीले जनाएको छ । चालु आवको पहिलो ३ महिनामा १३ करोड ९६ लाख ७८ हजार २ सय ९६ रुपैयाँ कम्पनी सञ्चालनमा खर्च भएको छ । 
२ अर्ब ११ करोड चुक्ता पुँजी रहेको कम्पनीले माई जलविद्युत केन्द्र निर्माण गर्न लिएको १० प्रतिशत तथा माई क्यासकेडको ७ प्रतिशत ऋण चुक्ता गरिसकेको छ । कम्पनीले प्राप्त गर्ने सरकारले घोषणा गरेको प्रतिमेगावाट ५५ लाख रुपैयाँको अनुदान रकम १५ करोड पुगेको छ । 
यस्तै, २०७१ साल चैत मसान्तसम्म व्यापारीक उत्पादन गर्ने आयोजनालाई पोष्टटेड पिपिए दर दिने सरकारी निर्णयअनुसार माईको १५.६ मेगावाटको बढेको भुक्तानी हुनु पर्ने २० प्रतिशत रकम १३ करोड ५३ लाख ५२ हजार ७ सय ५१ रुपैयाँ पुगेको छ । यो रकम प्राप्त भएको छैन । चालु आवको बजेटमा पोष्टेड दर पाउने आयोजनाका लागि आंशिक बजेट विनियोजन भएकाले नेपाल विद्युत प्राधिकरणले रकम निकासाका लागि ऊर्जा मन्त्रालयमा पत्राचार गरेको कम्पनीले जनाएको छ । 
२ जलविद्युत्गृहको सफल निर्माण गरेको कम्पनीले ७३ मेगावाटको मध्य तमोरमा ४८ करोड र २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ४५ करोड लगानी गर्न सत प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी संकलन गरिएको छ । रसुवामा निर्माण हुने १४.३ मेगावाटको माथिल्लो मैलुङमा पनि आफ्नै पुँजीबाट १५ करोड रुपैयाँ लगानी गरेको छ । यसै वर्ष निर्माणमा जाने यी ३ आयोजनाका लागि रकम भुक्तानी प्रक्रिया सुरु भइसकेको कम्पनीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता