लघुकथा:-ब्रह्मचारी

  • कोषवल्लभ रेग्मी

बाबुको मृत्यु पश्चात् सम्पूर्ण व्यवहारिक घान उसको थाप्लोमा आइलाग्यो।मर्ने बेलामा "-यी भाइहरुको सम्पूर्ण हेरचाह गर्ने जिम्मा तेरो है जेठा!!!"बाबुले भनेका थिए।
उसले आफ्नो पढाइलाई छोट्यायो र भाइहरुलाई आफुले दुख गरेर राम्रो शिक्षा-दीक्षा दिलायो।
धेरैले उसलाई बिहे गर्न भने।तर उसले आफ्नो बिहालाई भन्दा भाइहरुको भविष्य प्रति बढी ध्यान दियो।उसले आफ्नो भन्दा पहिले भाइहरुको विहे गरिदिन पाए बाबुको वचनले सार्थकता पाउने ठान्यो।
"मेरो त पछि गरौंला!!!"-भन्ने ठानेर उसले माइलो र कान्छोको पालैपालोगरी राम्रो कुलघरानका छोरीहरुसँग जोडी मिलाइदियो।

विहा गरेको केही महिना नबित्दै-"दाइ हामी अब बेग्लै गरिखाने।भाग बण्डा गरौं!"-भन्दै छुट्टिने कुरा भाईहरुले उठाए।
"अहिले बेग्लै बस्ने बेला भएको छैन।ब्यबहारमा तिमीहरू कलिलै छौ।"-उसले भाइहरुलाई सम्झाउने कोसिस गर्यो तर केही सीप लागेन।
आखिर उसले भाइहरुको ईच्छा बमोजिम जग्गा र धन सम्पत्ति बाँडिदियो।आफू छाडीमै बस्न रमायो।भाइहरुको खुसीनै उसको सन्तुष्टि ठान्यो।
अब ऊ घरमा एक्लो भयो।"-के तँचैँ ब्रह्मचारी बस्छस्?"उसका साथीहरूले जिस्क्याउन थाले भने आफन्तहरूले बिहे गरेर बस्ने सल्लाह दिन थाले।
एकदिन ऊ छिमेकी काकालाई लिएर कन्याको खोजीमा हिड्यो।उनीहरु कुनै जानेबुझेको घरमा पुगेर केटीको कुरो चलाए।
"दाजुभाइ कति जना?"-कन्याका बाबुले सोधे।
"दुईजना भाइ,दुवैको विहे गरिसकेको र बेग्लै बसिसकेका छन्।"-उसले जबाफ दियो।
"ए नानी जेठो छोरा भएर कसरी भाइहरुको पहिले बिहा भयो त?नानीसँग केही अवगुण अवस्य हुनुपर्छ।"-कन्याका बाबुले शंका गरे र छोरी नदिने निर्णय दिए।
"उठ केटा जाउँ अरु तिरै।"-काकाले उसलाई उठाए।
"मेरी सालीको छोरी छ।तेतै जाउँ।तर भाइहरुको बिहे भैसकेको चाहिँ नभनेस् है!"-काकाले सचेत गराए।
ऊ एकछिन घोरियो र बोल्यो-"भैगो काका!झुठ बोलेर अपवित्र गठबन्धन गरेर भविष्यमा पछुताउनु भन्दा त बिहे नगरी आनन्दले ब्रह्मचार्यनै बस्नु बेस होला।अब म गर्दिन यो बिहे-सिहे....!!"-उसले आफ्नो बिहेगर्ने सोचाइलाई एकाएक परिवर्तन गर्यो र घर तिरको बाटो समात्यो॥
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता