- मनिषा चम्लागाईँ

अर्जुनधारा, पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमबार भक्तजनको घुइँचो लाग्यो । साउन महिना सुरु भएसँगै मन्दिरमा बिहानैबाट पानी चढाउन र पूजा गर्न आउनेको घुइँचो लागेको हो ।
सोमबार सोमावर्ती एकादशी, हरिशयनी एकादशी, श्रावण पर्व एकै दिन परेकाले यस वर्षको साउने ब्रतले विषेश महत्व पाएको अर्जुनधारा जलेश्वरधामका मुल गुरु अग्निप्रसाद सिग्देल बताउँछन् । अर्जुनधाराधाममा पहिलो सोमबार २० हजारको हाराहारीमा भक्तजनले दर्शन गरेको सिग्देलले बताए ।
२०२३ सालमा व्यवस्थित गरिएको अर्जुनधाराधामकोे बेग्लै महिमा बोकेको धामका संयोजक राम श्रेष्ठ बताउँछन् । प्राचीन समयमा अर्जुनले गौमाताको प्राण रक्षाका लागि शंकरसँग जल मागेका र अर्जुनले वाणले हाने पछि अर्जुनधारामा जल निस्किएको पौराणिक । मान्यता छ । श्रेष्ठले भने, ‘०२३ सालभन्दा अघि यस स्थानमा एउटा पोखरी थियो, खडेबाबाले यस स्थानको महत्वबारे जानकारी दिनु भयो र धाम व्यवस्थापन गर्न हामी लागेका हौँ ।’ धाम परिसरमा पाँचबाट धारा रहेका छन् ।

धामबाट वार्षिक १ करोड रुयैयाँसम्म आम्दानी हुने गरेको अर्जुनधारा गुरुकुलका प्रार्चाय खगेन्द्र निरौलाले बताए । साउन महिनामा मात्र ७÷८ लाख रुपैयाँ आम्दानी हुने निरौला बताउँछन् । भक्तजनबाट संकलन भएको रकमले मन्दिर व्यवस्थापन, गुरुको पालन र विद्यार्थी व्यवस्थापनमा खर्च गर्ने गरेको उनले बताए । भक्तजनको सुरक्षाका लागि यस वर्षबाट मन्दिर परिसरमा सीसी क्यामेराको व्यवस्थापन गरेको उनले जनाए ।
सोमबार व्रत बस्दा चिताएको कुरा पुग्ने विश्वास रहिआएको छ । अर्जुनधारा जलश्वरधामकी सदस्य सुशीला सुवेदीले भनिन्, ‘सोमबारको व्रत बस्दा अविवाहिताहरूले असल र सुन्दर पति पाउने र विवाहिताहरूले श्रीमानको दीर्घायू तथा खुसी पाउने जनविश्वास रहेको छ ।’ साउन महिनामा धेरै पानी पर्ने हुनाले बाढी पहिरो आएर प्राकृतिकरूपमा घटना नहोस् भनेर पनि भगवान शिवको पूजा गरिने गरेको उनी बताउँछिन् । पहिलो पटक व्रत बस्न सुरु गर्नेका लागि पाँचवटा सोमबार हुँदा सुरु गरिनु शुभ हुने विश्वास छ ।
पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव अर्थात् शिवको महिनाका रुपमा लिइने र यसैको विश्वासले मन्दिरसम्म डो¥याएको बिर्तामोड नगरपालिका –५का डिल्ली मिश्रले बताए । उनले भने, ‘आजको दिन अझ विशेष छ, हिन्दु संस्कार भित्रको सबैभन्दा ठूलो एकादशी र विष्णु भगवानले समुन्द्रमा सयन गर्ने एकादशी ।’

पार्वतीले साउन महिनाभर निराहार रही कठोर ब्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकी हुनाले साउन भगवान शिवलाई मन पर्ने महिना र मन सन्तुष्टिका लागि व्रत बस्ने गरेको भद्रपुर नगरपालिका –६ की इन्दिरा उपाध्यय बताउँछिन् ।
साउन महिनाको हरेक सोमबार धाममा पूर्वको झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जीलिङ, सिकिम, आछाम, मणिपुर, सिलगुडी, विहारबाटसमेत भक्तजन आउने गरेका छन् ।
पछिल्लो समय साउने सोमबारलाई महिलाले विशेष उत्सवका रूपमा मनाउन थालेका छन् । साउन महिनामा व्रत बस्दा हरियो, पहेँलो र रातो रङका बस्त्र, चुरा र मेहन्दी लगाउँदा भगवान शिवजी खुसी भइ मनोकामना पूरा गरिदिने र श्रीमानको आयु लामो हुने विश्वास छ । त्यसैले पनि महिलाहरु हरियो चुरा, मेहंदी तथा हरियोवस्त्र किन लगाइएको भन्ने विषयमा फरक फरक तरिकाले विश्लेषण गर्दछन् । कोही पतिको दीर्घायूसँग जोड्ने गर्दछन् भने कोही सन्तानको सुखद भविष्यसँग पनि यसलाई जोड्ने गर्दछन् । साउन महिनामा शिवको आराधना, पूजा, ब्रत गर्नाले मृत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले पनि शिवालयमा दर्शनका लागी पुग्ने गरेका छन् ।
सोमबार हरिशयनी एकादशी पनि
आषाढशुक्ल एकादशीका दिन नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्छन् । ज्येष्ठशुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा घरघरमा रोपिन्छ । सोमबारबाट भगवान विष्णु क्षीरसागरमा सुत्नु हुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान विष्णुको स्वरुपका रूपमा लिइन्छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।