प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको हिलाम्मे सडकमा बिजोग भएका बृद्ध यी हुन

तेह्रथुम, असार : म्याङलुङ नगरपालिका–६ सुर्केका ७४ वर्षीय दलप्रसाद लिम्बु मंगलबार बिहान खाना खाएर नजिकैको जिरिखिम्ती बजारसम्मको यात्रामा निक्लिए । पैदल हिँड्दा १० मिनेटको जिरिखिम्ती बजार पुग्न लिम्बुलाई एक घण्टा लाग्यो ।
उनी एक घण्टामा जसोतसो गन्तव्य त पुगे तर उनको शरीरभरी हिलो बोकेर । ती वृद्धलाई देख्नेले सोधे ‘बाजे हिलोमा पौडी खेलेर आएको हो ?’ उनी नाजवाफ भए । वृद्धलाई रिस उठ्यो प्रश्न सोध्नेसँग होइन बिकास गर्छु भनेर चुनाव जितेका नेताहरु सम्झेर
सदरमुकाम जोड्ने एकमात्र म्याङलुङ–बसन्तपुर सडकखण्ड पुरै हिलाम्मे भएपछि दलप्रसाद जिरिखिम्ती बजारसम्म पुग्दा सयौँ पटक हिलोमा चिप्लिएर लडेका थिए । सडकमा हिलैहिलो भएकाले दलप्रसाद जस्तै एक दर्जन बढी नागरिक दैनिक हिलोमा लड्ने गरेका छन् ।
हिलाम्मे सडकको डिलमा हिँड्ने क्रममा चिप्लिएर लडेका वृद्धको फोटो अहिले सामाजिक भाइरल भएको छ । हिलोमा पौडी खेलेजस्तोे वृद्धको फोटो अनलाइन र फेसबुकमा हेरेका नागरिकले तेह्रथुमको प्रतिष्ठा गुमेको टिप्पणी गरेका छन् ।
जिल्लाका जनप्रतिनीनिधि, नेता र सांसदहरुले जिल्लाको विकासमा ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् । टिप्पणीकर्ताहरुले प्रधानमन्त्री केपी ओली जन्मेको जिल्लाको सडकको हालतले देशकै प्रतिष्ठा गुमेको प्रतिक्रिया समेत दिएका छन् ।
यो सडकखण्डको विभिन्न भाग ४ फिट भन्दा बढी हिलो भएपछि सवारी साधन र पैदल यात्रीहरुलाई समस्या भएको छ । हिलाम्मे सडकमा बालबालिका, विद्यार्थी र वृद्ध वृद्धाहरुलाई बढी सास्ती भएको स्थानीय घनश्याम परियारले जानकारी दिए ।
सडकमा ५ वर्षअघि लगाइएको ओटासिल भत्किएपछि अहिले सडक हिलाम्मे हुँदा जिल्लाबासीलाई सास्ती भएको हो । वसन्तपुरदेखि म्याङलुङ्गसम्मको २६ किलोमिटर सडक निर्माण भएको ३० वर्ष बिते पनि वर्षको ६ महिना मात्र सवारी चल्ने गरेको छ ।
सडक हिलाम्मे भएपछि धरान, धनकुटा, बसन्तपुर हुँदै म्याङलुङसम्म चल्ने यातायातका साधन बाटोमै अड्किँदा यात्रु अलपत्र पर्ने गरेका छन् । करोडौँ रुपैयाँ खर्च गरेर हालिएको ओटासिलको अहिले चिनोसमेत भेटिन्न ।
सडक मर्मतको जिम्मेवारी पाएको मध्यपहाडी लोकमार्गका इन्जीनियर सुरेश तुम्बाहाङफेले मौसमका कारण सडक हिलाम्मे भएकोले मर्मत गर्न नसकिएको बताए । उक्त सडक तीन खण्डमा मर्मत गर्न टेन्डरसमेत परिसके पनि ठेकेदारहरुले कामदार र निर्माण समाग्री अभावको बहानामा काम गर्न नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता