
- -गरिमा लुईँटेल
केहि बर्षपछि
यो पिजड़ाबाट
सरुवा गरिनेछ मलाई
म जान्दिनँ त्यो अझ ठुलो हुन्छ
या एतिकै सानो!
तर पक्कै मेरो स्वतंत्रता
भेट्टाउने छैन मैले त्यहाँ पनि!
निभाउनु पर्ने छ मैले
अनेकौ सम्बन्धहरु
कसैकी पत्नी
कसैकी बुहारी
कसैकी भाउजु
अँ कसैकि आमा पनि
तर अँह ‘म’ आफ्नो बन्न पाउने छैन
आफ्नो लागि केहि गर्न पाउने छैन!
समाजले घेरेर राखेको पर्खाल
आँट र साहस बोकेर नाघ्न खोजुला म
तर पटक पटक
हरेक पटक
मेरो बिफलतामा गिज्याउने छ
त्यो पिजडाको मालिक
अझ भनु त्यहाँको संरक्षक,
“मेरो समाजले” मलाई!
म हाँस्दा उत्ताउलि हुन्छु अरे
म नाच्दा अराजक बन्छु अरे
म खुलेर बोल्दा चरित्रहिन् अरे
थाहा छ किन?
किनकी म छोरी भएर जन्मिएँ अरे!