व्यवस्थित हुँदै गौरादह बजार

  • मनिषा चम्लागाईँ 

गौरादह, २० असारः कुनैबेला चर्चामा रहेका तर पछिल्लो समय ओझेलमा परेका हाटबजारको संरक्षणमा गौरादह नगरपालिका जुटेको छ । प्रत्येक हप्ताको आइतबार  र बिहीबार लाग्ने हाटबजार क्षेत्रमा टहरा निर्माण सुरु गरेर संरक्षणमा नगरपालिकाले चासो देखाएको हो ।  स्थानीय उत्पादनलाई स्थानीयस्तरमै खपत गर्ने लक्ष्यकासाथ नगरपालिका हाटबजारलाई व्यवस्थित गर्न लागेको छ । खासगरी गौरादह बजार क्षेत्रका हाटबजारको संरक्षण नगरपालिकाको नजरमा परेको छ । 
गौरादह –१ र २मा रहेका हाटबजारमा व्यवस्थित टहरा निर्माणका लागि  नगरपालिकाले ३० लाख रुपौयाँ  छुट्याएको छ । टहरा निर्माणको जिम्मा गौरादह बजार व्यवस्थपन तथा उपभोक्ता समितिलाई दिइएको छ । टहरा निर्माणसँगै बजारको बीच भागमा रहेको दुर्गा मन्दिर व्यवस्थापन गर्ने लक्ष्य रहेको गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साहले बताए । उनले भने,‘हामीले बजार क्षेत्र भित्र स्थायी प्रकृतिको संरचना निर्माण गर्ने  योजना बनाएका छौँ, काम सकिए पछि धुलो र हिलोरहित गौरादह बजार बन्ने छ ।’ बजार क्षेत्रका सडकको दुवै तर्फ किनारमा विरुवा रोप्ने लक्ष्य नगरपालिकाले राखेको छ  ।’ नगरपालिकाले नगरभित्रका पुराना बजार जुरोपानी र स्कुलचौन बजार व्यवस्थापनको लागि १८÷१८ लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख साहले बताए । 
गौरादह बजार व्यवस्थापन तथा उपभोक्त समितिका अध्यक्ष खड्कराज थापाले पहिलो चरणमको १० लाख रुपैयाँ खर्च भइसकेको बताएका छन् । उनले भने, दोस्रो चरणमा २० लाख पाएका छौँ, दैनिक १० जना कामदार खटाएका छौँ, समयमा नै काम सकिने छ  ।’ बजारको दक्षिण तर्फ घण्टा घर निर्माण हुने छ । बजार व्यवस्थापनमा उद्योग वाणिज्य संघ गौरादह र स्थानीय संघ संस्थाले सहयोग गरेको थापाले बताए । 
काम चुस्त रुपमा गरिँदै आएको ठेकदार रामप्रसाद चौधरीले बताए । उनले भने, ‘एउटा ब्लक निर्माण गर्न ४ दिन लाग्छ, कम पानी परे समयमा नै काम सकिने छ ।’ घाटाबाट बच्न पनि समयमै काम सक्नु पर्ने उनले बताए ।  १० वटा ब्लक निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।
पोखरी संरक्षण
गौरादहका प्राचिन पोखरीको संरक्षण पनि सुरु गरिएको छ । बजार आसपासमा रहेका पोखरीको संरक्षण थालिएको हो । त्यसका लागि बजेट पनि छुट्याइएको छ ।  पोखरी रहेको ठाँउमा प्राचिनकालमा खाल्डा रहेको र पूर्खाहरुले खाल्डामा गाई चराउने गरेको जानकारहरु सुनाउँछन् ।  स्थानीय स्व.नरबहादुर बस्नेतले पोखरीलाई व्यवस्थापन गरेको गौरादह नगरपालिका–२का अध्यक्ष इन्द्र गौतमले बताए । गौरादह नगरपालिका भित्र रहेका पोखरीको प्रबद्र्धन गरी गौरादहलाई पर्यटकीय नगरी बनाउने योजना नगरपालिकाले लिएको छ । पोखरी व्यवस्थापनमा आगामि आर्थिक वर्षमा १ करोड रुपौयाँ विनियोज गरीने नगरप्रमुख साह बताउँछन् । प्राचिन कालमा पोखरी नै पोखरी भएकाले त्यस क्षेत्रको नाम गौरादह राखिएको किम्बदन्ती छ ।  
गौरादह –२को १२ विघा क्षेत्रफलमा फैलिएका सानाठूला ५ वटा पोखरीको व्यवस्थापन सुरु गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । पानीका स्रोतलाई प्रयोग गरी पार्क निर्माण गर्न सक्दा गौरादह नगरपालिकाले वार्षिक थप ४० लाखसम्म आम्दानी गर्न सक्ने  संभावना रहेको जानकारहरु बताउँछन्  । नगरपालिकाले जनता मावि गौरादहलाई एउटा पोखरी उपभोग गर्न दिएको छ । 
दमक नगरपालिका र गौरीगञ्ज गाउँपालिकाको मध्यभागमा रहेको गौरादह बजार पूर्व पश्चिम राजमार्गको पाडाजुगी सडकखण्डबाट १० किलोमिटर दक्षिणमा पर्छ ।  गौरादह पछिल्लो समय व्यापारिक दृष्लिे परिचत छ । साविकका जुरोपानी, महारानीझोडा, कोहवरा, बैगुनधुरा र गौरादह गाविस गाभिएर गौरादह नगरपालिका बनेको हो । नगरपालिका बनेसँगै  विकासको ढोका खुलेको छ । नगरपालिका क्षेत्र र साविकका गौरीगञ्ज, खजुरगाछी, कोरोबारी गाविसका स्थानीय पनि किनमेलका लागि गौरादह आउने गरेका छन् । २०७२ असोज १ गते नगरपालिका घोषणा भएसँगै बजार व्यवस्थापन सुरु गरिएको हो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता