जोखिम क्षेत्रबाट ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै

रत्ननगर, चितवन, ५ साउन (रासस)  भूकम्पपछि जोखिम क्षेत्र पहिचान भएका ५२ घर भूकम्पपीडितको स्थानान्तरण गरिँदै छ । 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा ती भूकम्प पीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको हो । 
जोखिम क्षेत्रमा रहेका कुल १०२ घरमध्ये अहिले ५२ घरको स्थानान्तरणको काम तीव्र पारिएको कार्यालयका प्रमुख पुष्कर पोखरेलले जानकारी दिनुभयो । “कतिपय घर पूरा भएका छन् भने कतिपयको काम धमाधम चलिरहेको छ” पोखरेलले भन्नुभयो । 
चितवनको राप्ती नगरपालिका–१२ वकराङका तीन घरलाई बिम्पुक भन्ने स्थानमा र वडा नं १३ को एसिखाईका १३ घरलाई कालिटारमा स्थानान्तरण गर्न घर निर्माण तीव्र बनाइएको छ । 
यस्तै इच्छाकामना गाउँपालिका–४ तीनघरेका पाँच परिवारका लागि लेवाटारमा घर निर्माण अन्तिम चरणमा पुगेकाले घर सर्ने तरखरमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सुजन नेपालले जानकारी दिनुभयो । 
इच्छाकामना–२ हेप्चेकका १० घरलाई त्यहीको दुम्कीमा स्थानान्तरण गर्न लागिएको छ । यस्तै इच्छाकामना–३ धुषाका २० घरलाई यहाँको कुरिनटारमा र कालिका नगरपालिका–१ मैतेसको एक घरलाई सोही स्थानको सुरक्षित ठाउँमा स्थानान्तरण गरिने भएको छ । अझै ५० घरको विषयमा भने छलफल चलिरहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता