- गोविन्द पौडेल

रोङ, २९ असारः प्रहरीहरु अपराध न्युनिकरणमा जतिसुकै सक्रिय भएर लागिरहदा पनि अपराधीहरुले नयाँ–नयाँ प्रयोग गरेर समाजमा अनेकौ अपराधका घटनाहरु गरिरहेका छन् ।यस्तै रोङ गाउँपालिकामा एउटा घटना घटेको छ, रुद्राक्ष देखाएर लुटपाट । रोङ गाउँपालिका वडा नं ४ बस्ने कुमारी राईलाई नचिनेका दुइजना महिलाहरुले बहुमुल्य एकमुखे रुद्राक्ष रहेको र यो महंगोमा बिक्री हुने भएतापनि आफुहरुले अहिले नराख्ने तर यसका ग्राहक तुरुन्तै आएर पाँच लाख नगद र दुइ तीन तोला सुन दिन्छ भन्ने प्रलोभन देखाई कुमारीले लगाएको सबै गहनाहरु लिएर बेपत्ता भएका छन् । पहिला लोभमा फसेका कुमारीले उनीहरुले भनेको कुरा कसैलाई नसुनाएको तर ग्राहक रुद्राक्ष किन्न नआएपछि मात्र सार्वजनिक गरेकी थिइन् ।
गत असार २६ गते दिनको बाह्र–एक बजेतिर भएको घटना बारेमा नजिकै रहेको किटेनी प्रहरीले पनि ढिलो मात्र थाहा पाएको थियो । आफु ठगिएको पक्का भएपछि पिडीत राईले प्रहरी चौकी किटेनीमा जाहेरी गरेकी र ब्यापक खोज तलासका साथै सु्क्ष्म अध्ययन भइरहेका प्रहरी चौकी किटेनीका प्रहरी सहायक निरिक्षक प्रल्हाद बोगटीले बताए । झट्ट हेदा तराईबासी जस्तो देखिने ठग महिलाहरुले दिएको रुद्राक्ष समेत अहिले प्रहरीसँगै रहेको र अन्य अनुसन्धान गर्न सहज तथ्यहरु पनि रहेकोले प्रहरी अपराधीहरुको नजिकमा पुगेको प्रहरीको भनाई रहेको छ । साथै प्रहरीले नागरिकहरुलाई सजिलो बनाउन र अपराध घटाउन घर–घरमा प्रहरीको सम्पर्क नम्बर सहितको स्टिकर समेत राखेकोले नागरिकहरु पनि चनाखो भएर प्रहरीलाई सहयोग गर्न बोगटीले आग्रह गरेका छन् ।