- अनिल वग्ले

इलाम, २० असारः रसियामा यतिबेला ठूलो खुसीयाली छ । विश्वकप फुटबलको आयोजक राष्ट्र रसियाले उपाधि दावेदार राष्ट्र स्पेनलाई पेनाल्टी सुट आउटमा हराएपछि रसियन नागरिक यतिबेला खुसी साटासाटमा व्यस्त छन् । रसिया र स्पेन बिचको खेल जारी रहँदा रंगशाला भित्रै नेपाली मौलिक बाजा ‘मादल’ बजिरहेको थियो । नेपाली फुटबल जर्सीमा रंगशाला पुगेका एन्फा उपाध्यक्ष पंकज नेम्बाङको टोलीले नेपाली राष्ट्रिय झण्डा फहराउँदै मादल बजाइरहेको थियो ।
माइभ्याली फुटबल क्लब इलामका विप्लव कोइरालाले रंगशाला भित्रै मादल लगेर बजाएका थिए । आयोजक रसिया र स्पेनबिच भएको प्रिक्वाटर फाइनल खेलमा रंगशाला भित्रै मादल बजेको हो । नेपाली राष्ट्रिय झण्डा सहित पुगेका एन्फा उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उनकी श्रीमति दिपकला लिङदेन, छोरा पातुङहाङ, इलाम माइभ्याली फुटबल क्लबका विप्लव कोइराला, एन्फा अन्तर्गत काठमाडौ क्लबका प्रतिनिधि सहितको टोलीले रंगशालामा नै गएर खेल हेरेका छन् । रंगशाला भित्रै नेपाली झण्डा र मादल बजाएर नेपाली पनि फुटबलका गतिला फ्यान हौं भन्ने पुष्टि गराएका छन् । त्यससँगै नेपाली मौलिक परम्पराको चित्रण गर्ने बाजा ‘मादल’लाई पनि विश्व सामु चिनाउने प्रयास सो टोलीले गरेको छ ।
विश्वमा फरक किसिमको नेपाली राष्ट्रिय झण्डा फहराउँदा सगरमाथा र बुद्धको देश नेपाल पनि फुटबलमा लम्किरहेको देश हो, चाँडै हामी यस्तै बाजा र झण्डा लिएर आफ्नै देशको समर्थनमा यसरी नै रंगशालामा विश्वकप फुटबल खेल्ने नेपाली खेलाडीको हौसलाका लागि देखिने छौं भन्ने संकेत पनि विश्व सामु गरेको छ । खेल सुरु हुनु अघि रंगशाला अगाडी पनि नेपाली बाजा बजाएर नेपालीहरु पनि फुटबलको मज्जा लिन आएका छौं भन्ने जनाउ सो टोलीले दिएको थियो । विश्वकप फुटबल हेर्न गएका एन्फा उपाध्यक्ष नेम्बाङ र उनकी श्रीमति नेपाली फुटबल जर्सीमा नै देखिएका छन् । नेम्बाङका अनुसार उनीहरुको ३८ सदस्यीय टोली छ भने अरु ३० जना जतिको पनि सहभागिता रहेको छ । एन्फा उपाध्यक्ष सहितको टोलीले आगामी इंग्लाण्ड र कोलम्बियाको खेल पनि हेरेकाे छ ।