
रामेछाप । खानेपानीको चरम समस्या भएपछि रामेछापको मन्थली नगरपालिका–७ भटौलीको बस्ती नै विस्थापित भएको छ । भटौलीको पहरेपानी, पोखरी र टुनिबोटेका ३८ घरपरिवार खानेपानीको समस्या भएपछि खोला किनारमा सरेका हुन् ।
पहरेपानी, पोखरी र टुनिबोटे टोलमा रहेको ९० घरधुरी मध्ये ३८ घर परिवारले घरमा ताल्चा लगाएर खोला किनारमा बसोबास गर्न थालेका छन् । गाउँमा भएको खानेपानीको मुल सुकेपछि खानेपानीको चरम अभाव व्यहोर्दै आएका स्थानीय अन्य घरपरिवार पनि विस्थापीत हुने अवस्थामा रहेका छन् ।
बसाई सरेर वाँकी रहेका घरपरिवारका सदस्यहरुलाई अब बसाई कुन स्थानमा सर्ने हो भन्ने चिन्ताले सताएको छ । खानेपानी समस्याकै कारण गाउँ छोडेर खोला किनारमा झरेका स्थानीयहरुलाई खोला किनारको बसाई पनि सुरक्षित नभएको बताएका छन् ।
अन्त जाने ठाउँ नभएर गाउँमै बस्दै आएका पहरेपानी, पोखरी र टुनिबोटेका स्थानीयलाई पानी लिन जाने र आउँने समय मात्रै ३ घण्टा लाग्छ ।
खानेपानीको समस्या रहेको बस्तीको लागि बृहत खानेपानी योजना मार्फत पानी पु¥याउने योजना भएपनि तत्कालको लागि भने खानेपानी पु¥याउन सक्ने अवस्था नभएको स्थानीय जनप्रतिनिधिको भनाई छ ।
२०७२ सालको भूकम्प पछि पानीको स्थानीय मुहानहरु सुकेपछि यहाँका स्थानीय बसाई सर्न बाध्य भएका हुन । भूकम्पको कारण सुकेको मुहानहरुमा अहिलेसम्म पानीको मूल नफुटेको स्थानीयको भनाई छ । पानीको समस्याको कारण त्यस क्षेत्रमा पुनर्निर्माणको काम समेत अगाडि बढ्ने सकेको छैन ।