उद्यमीका लागि प्रेरणाकी स्रोत इलाम धोविधाराकी ‘उषा’

  • मुना अधिकारी

इलाम । नगरपालिका–८ धोबीधारामा रहेको इलाम अदुवा प्रशोधन केन्द्रले वार्षिक ५० क्विन्टेल अदुवा र ४० क्विन्टेल अकबरेको प्रशोधन गरी कारोबार गर्छ ।
अदुवाको केन्डी, चक्लेट, जुस तथा अकबरेको अचार, पेस्ट जिल्लाका इलाम, फिक्कल, पशुपतिनगर पठाउँछ । जिल्ला बाहिरका शहर विर्तामोड, धरान, काठमाडौँ र भर्खरै पोखरामा समेत निर्यात गर्दै आएको छ ।
वि.सं २०७० सालमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले अदुवा प्रशोधन केन्द्रसम्म पुगेको छ ।
५० हजारको लागतमा स्थापना भएको इलाम अदुवा प्रशोधन केन्द्रमा हाल ६० देखि ७० लाखको वार्षिक कारोबार हुन्छ । उद्योगको इलाम–६ खरेलडाडाँमा आफ्नै भवन पनि छ ।
इलाम बजारकै उदाहरण र उद्यमीका लागि प्रेरणाकी स्रोतका रूपमा चिनिन्छिन् उद्यमी उषा निरौला । किराना पसलदेखिको उनको संघर्ष उद्योग स्थापनासम्म आइपुगेको छ, तर यतिमात्र उनको लक्ष्य होइन । उद्योग विस्तारमा उनको ध्यान छँदैछ । साना परिश्रम, मिहिनेत र धैर्यताबाट उनले यो सफलता हात पारेकी होइनन् । काम गर्दै जाँदा प्राविधिक र व्यवसायिक समस्याका बीचबाट पनि उनले गुज्रनु प¥यो ।
उद्योगमा गत वर्षसम्म मेसिनको अभाव थियो । तर उन्नति कार्यक्रमको २५ लाखको प्रोजेक्टमार्फत अदुवाका लागि आवश्यक मेसिन ल्याएपछि कारोबारमा वृद्धि भयो । सिजन नै पिच्छे मूल्य फरक हुने अदुवा तथा अकबरेको हिउँदको समयमा केही कम मूल्य र वर्षात्को समयमा ढुसी लाग्ने समस्या छन् । यसबाट जोगाउन मुस्किल पर्ने हुनाले जनशक्ति बढी खर्च गर्नुपर्ने बाध्यता छ । उद्योगको लगानी बढेपछि स्वतः उपभोक्ताले पनि केही बढी मूल्य तिर्नुपर्छ ।
उन्नतिको साहारा
‘०७३ सालमा उन्नति कार्यक्रममार्फत अदुवा प्रशोधनका लागि पाँचथान मेसिन जुट्यो,’ उषा भन्छिन्,‘मेसिनबाट उत्पादन वृद्धि गर्ने र जनशक्तिमा लाग्ने लगानी कम हुने आशा छ ।’ मेसिनले अदुवाको केन्डी तयार पार्न धुने, बोक्रा छोडाउने, चाना बनाउने, सुकाउने र अदुवालाई धुलो बनाउने काम गर्छ ।
उन्नति कार्यक्रले मेसिन मात्र नभई कृषलाई अर्गानिक उत्पादन गर्न तालिम तथा उद्योगमा ६० जना कृषक आवद्ध गराएको छ । उषा पनि उन्नतिकै साहरामा सफल उद्यमि बनिन् ।
कृषकको उत्पादन खरिद
इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाका कृषकले उत्पादन गरेका अदुवा तथा अकबरेलाई उद्योगले खरिद गर्ने गरेको छ । कृषिलाई अर्गानिक बनाउन उद्योग र उन्नति कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उषा बताउँछिन् ।
यस्ता कार्यक्रममार्फत उद्योग र उद्यमीलाई मात्र होइन समग्र कृषकलाई समेत उद्यमी बन्न टेवा पुग्ने उनको भनाइ छ । आफ्नो उद्योगमा काम गर्ने महिलालाई रोजगार मात्र हैन उद्यमी बनाउन ‘उषा’ प्रेरणाकी स्रोत बनेकी छन् । गत वर्ष उनको उद्योगमा काम गर्ने महिला हाल आफ्नै उद्योग स्थापना गर्न सफल भएका छन् । उद्योगमा हाल चारजना महिला कर्मचारी छन् जसमा क्याम्पस पढ्दै गरेका विद्यार्थी पनि छन् । उनीहरुलाई पनि आत्मनिर्भर बनाउने इच्छा रहेको उषा बताउँछिन् । उषा आफैंले इलामका विभिन्न स्थानीय तहमा उद्योग सम्बन्धी तालिम दिन्छिन् । ग्रामिण महिलामा उद्योगप्रतिको आकर्षण वृद्धि गर्ने र उद्यमी बन्न प्रेरित गर्ने उनको लक्ष्य छ । स्थानीयको आर्थिक समृद्धिमा सहयोग गर्ने उनी बताउँछिन् ।
अदुवा प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गरेपछि उनी आफू सफल उद्यमी मात्र भइनन् । उद्योगमा काम गर्ने महिलालाई समेत सफल उद्यमी बनाउन प्रेरणाकी स्रोत बनिन् । हाल अदुवा प्रशोधन केन्द्रमा उत्पादनको ६० प्रतिशत अकबरे खोर्सानीको प्रशोधन हुने गरेको छ । केही वर्षभित्रै अदुवाको छुट्टै प्रशोधन केन्द्र बनाउने उषाको लक्ष्य छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता