
इलाम, ३ साउनः ब्लड क्यान्सर पिडित इलामनगरपालिका ४ का १४ बर्षिय बालक ऋतिक घिमिरेको उपचारका लागि देश बिदेशबाट आर्थिक सहयोग जुट्ने क्रम बढेको छ ।
हाल चितवन स्थित भरपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका पिडित घिमिरेको उपचारमा सहयोग गर्न अमेरीकामा बसोबास गर्दै आएका नेपालीले संकलन गरेर पठाएको तीन लाख १७ हजार ६० रुपैंयाँ समितिलाई हस्तान्तरण गरीएको छ । अमेरीकामा बसोबास गर्दै आउनु भएका इलाम बरबोटेकै रमेश निरौलाको अगुवाईमा बालकको उपचारमा आर्थिक सहयोग पुरयाउन रकम संकलन गरेर पठाएका थिए ।
अमेरीकाबाट पठाइएको रकम इलाममा गठन भएको ऋतिक बचाउ अभियान समितिमा जम्मा गरीएको समितिका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो । अमेरीकामा निरौलाले गो फण्ड मि अनलाईन मा ऋतिकको उपचारको लागि रकम जम्मा गर्न आग्रह गरेका थिए । अमेरिकाका बिभिन्न स्थानमा बसोबास गर्दै आएका एकसय भन्दा बढि नेपालीहरुले सो अनलाईनमा रकम जम्मा गरेका थिए । अनलाईनमा जम्मा गरीएको रकम इलाममा आइएमि मार्फत पठाएपछि इलाम नगरपालिका ४ का बिष्णु निरौलाले समितिका अध्यक्ष गोपाल निरौला र सचिब नारायण घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।
पाँच महिनाअघि ब्लड क्यान्सरबाट पिडित बालक ऋतिकको उपचारका लागि डाक्टरले २०÷२५ लाख रुपैंयाँ लाग्ने बताएपछि आर्थिक अवस्था कमजोर भएका उनका परिवार अत्यन्तै चिन्तित बनेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएकोले केही स्थानिय युवाले ऋतिक बचाउ अभियान समिति नै बनाएर रकम संकलन गर्दै आएका थिए । समितिका अनुसार हालसम्म देश बिदेशबाट गरी जम्मा १४ लाख ४५ हजार ८ सय ८६ रुपैयाँ संकलन भइसकेको समितिका सचिब नारायण घिमिरेले जानकारी दिनुभयो । ऋतिकको उपचारका लागि हालसम्म ७ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ खर्च भइसकेको उनका बुवा पूर्णबहादुर घिमिरेले बताउनुभयो ।
ऋतिकको उपचारको लागि नेपाल लगायत अमेरिका, अस्ट्रेलिया, कोरिया, दुबै, कतार, साउदी, मलेसिया लगायतका देशमा बसोबास गर्दै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । यता अस्पातलका अनुसार ऋतिकको स्वास्थ्यमा सुधार हुँदै गएको जनाएको छ । सुरुमा रगतमा ५६ प्रतिशत क्यान्सर देखिएकोमा अहिले १० प्रतिशत भन्दा कम क्यान्सर देखिएको परिवारजनले बताएका छन् । उपचारको लागि ऋतिकलाई अझै २ महिना जति अस्पातलमा राख्नु पर्ने डाक्टरहरुले बताएका छन ।