इलाम खानेपानी डिभिजनका प्रमुख नक्कली प्रमाणपत्र पेस गरी बर्षौंदेखि जागिरमा हालीमुहाली

इलाम, १४ कात्तिकः खानेपानी डिभिजन कार्यालय इलामका प्रमुख पदमा रहेका मोतीउर रहमानको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेकोे पुष्टी भएको छ ।
उनी लामो समदेखि खानेपानी मन्त्रालय अन्तर्गतको डिभिजन कार्यालयमा उपसचिव सोसरहको सेवासुविधा लिएर प्रमुखका हैसियतमा कार्यरत छन् ।
करोडौं भ्रष्टाचार अभियोगको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत परेका रहमानले भारतको इलाहावाद विश्वविद्यालयबाट इन्जिनियरिङको डिग्री गरेको प्रमाणपत्र मन्त्रालय र लोक सेवा आयोगमा बुझाएका थिए । जबकी, उक्त विश्वविद्यालयमा इन्जिनियरिङ नै अध्यापन हुँदैन ।
उक्त विश्वविद्यालयमा सिलिभ इन्जिनियरिङको बिटेक गरेको प्रमाणपत्र जारी गर्ने आधिकारीकता नै नभएको रजिष्ट्रार एन के सुक्लाले बताएका छन् । उनले भने, ‘हाम्रो विश्वविद्यालयको नाममा यस्तो प्रमाणपत्र कसैले पेस गर्छ भने त्यो जाली हो, इलाहावाद विश्वविद्यालयले कुनै नेपालीलाई प्रमाणपत्र दिएको छैन, हामीकहाँ यसको अध्यापन पनि हुँदैन । विभाग नै छैन ।’
रहमानले भने सोही विश्वविद्यालयको प्रमाणपत्र पेस गरेका थिए । सरकारी सेवामा नक्कली प्रमाणपत्र पेस गरी अनुचित लाभ लिएको भन्दै रहमानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ५५३७ नम्बरमा उजुरी दर्ता छ ।
अलाहावाद विश्वविद्यालयले जारी गरेको भन्दै रहमानले लोक सेवा आयोगलगायतमा पेस गरेको नक्कली प्रोभिजनल प्रमाणपत्र
खानेपानी विभागका महानिर्देशक तेजनारायण भट्टले उनलाई संरक्षण दिँदै आएका छन् । इलामका खानेपानी आयोजनामा समुदायमा लक्षित कार्यक्रममा पनि करोडौं रकम हिनामिना गरेका रहमानलाई जोगाउनका लागि भट्टले शक्ति केन्द्रको दबाब कायम राखेका थिए ।
रहमानको भ्रष्टाचार छानबिनका लागि विभाग अन्तर्गत आन्तरिक निर्देशन जारी भएको थियो । उक्त निर्देशनलाई पनि भट्टले प्रभावका आधारमा रोकेको स्रोतले बतायो ।
बंगलादेशी मुस्लिम संगठनसँग सम्पर्क रहेका रहमानले भारतको उत्तर प्रदेशमा रहेको विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी नेपाल सरकारलाई गुमराहमा राखेका हुन् । यस्तै, ०६१ सालमा उनी दुई बर्षका लागि जागिरमा छँदै उच्च अधिकारीलाई प्रभावमा पारी कतारमा काम गर्न पुगेका थिए ।
प्रदेश १ अन्तर्गत रहेको राम्रो डिभिजनको सरुवाका लागि शक्ति केन्द्रमा धाइरहेका रहमानविरुद्ध प्रधानमन्त्रीको माथाहतमा रहेको राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको छ ।
नक्कली शैक्षिक योग्यता पेस गरी जागिर खाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पनि प्रमाणपत्र जाँचका लागि उजुरी परेको उच्च स्रोतले जनाएको छ । दैनिक नेपालबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता