बिऊ आलु बजारमा हाहाकार, मुल्य पनि दोब्बर

सुर्योदय, ५ मंसिरः बजारमा बिऊ आलु नपाएपछि इलामको ग्रामीण क्षेत्रका किसान समस्यामा परेका छन् । व्यवसायिक र घरायसी प्रयोजनको लागि आलु रोप्दै आएका किसानले बजारमा बिऊ आलु नपाएपछि समस्यामा परेका हुन् । 
हिउँदे आलुको बिऊको माग धेरै भएपनि बजारमा बिऊ आलु नै नआएका कारण मुल्य समेत आकासिएको छ । गाउँका खुद्रा व्यापारीदेखि बजारका होलसेल व्यापारीसँग अघिल्ला वर्ष बिऊ आलु पर्याप्त भएपनि यसवर्ष बिऊ आलुको अभाव भएको इलामको सूर्योदय नगरपालिका ९ गैरीगाउँका किसान सागर पराजुलीले बताए । विऊ आलु उत्पादन हुने इलाम र पाँचथरका उच्च पहाडी क्षेत्रबाटै आलुको बिऊ नपाएका कारण बजारमा बिऊ आलुको हाहाकार भएको व्यवसायी बताउँछन् । रोप्ने बेलामा विऊ आलु अभाव भएपछि बारीमा के खेती गर्ने अन्योलमा किसान परेका छन् । बार्षिक १० मन आलु रोप्दै आएका सूर्योदय नगरपालिका १० का किसान सागर पराजुलीले यस वर्ष बिऊ आलु नपाएपछि २ मन मात्रै रोपेको बताए । 
‘बिऊ आलुको अभावले गर्दा गाउँमा धेरै किसानले आलु रोपेका छैनन्, उनले भने– ‘आलुको बिऊ पाएपनि खरिद गर्न नै समस्या रहेको छ ।’ अहिले इलामका व्यापारिक केन्द्रमा आलुको बिउ खरिद गर्न आउने किसानको संख्या धेरैभए पनि नपाएर त्यसै फर्कन्छन्, मूल्य सुन्ने बित्तिकै तर्सिने गरेको माईजोगमाई गाउँपालिकाका दिनेश महतले बताए ।
इलामका व्यापारिक केन्द्रमा इलामकै नयाँबजार, माबु, माईमझुवा र पाँचथरको राँकेबाट बिऊ आलु आउने गरेको छ । व्यापारिक केन्द्रहरुमा बिऊ आलुको मुल्य ८० रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४० रुपैयाँमा खरिद गरेको बिऊ आलु अहिले ८० रुपैयाँ पुग्नु र त्यो पनि नपाएपछि इलामका आलु किसान निराश भएका छन् । बिऊ आलु उत्पादन हुने क्षेत्रमै कम उत्पादन भएका कारण मुल्य आकाशिएको व्यवसायीको भनाइ छ । बिऊ आलु खरिद गर्दा ३२ सय रुपैंयाँमा खरिद गरेर रोपेर पछि नयाँ उत्पादन भएपछि बिक्री गर्ने समयमा प्रति मन ८ सय देखि १२ सय रुपैयाँमा बजारमा बिक्री हुने गरको छ । नयाँ उत्पादन हुने आलुको मुल्य कम हुने भएकाले पनि इलामका किसानले हिउँदे आलु कम रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्र इलामका अनुसार वार्षिक ९१ हजार ७ सय ४९ मेट्रिक टन आलु उत्पादन हुने गरेकोमा ७३ हजार ४ सय मेट्रिक टन आलु तराईका बजारमा निर्यात हुने गरेको छ । जसबाट बार्षिक एक अबै ४६ करोड ८० लाख रुपैयाँको कारोबार हुने र नयाँ आलु प्रति किलो २० रुपैयाँमा बिक्री हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रामसोगरथ साहले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता