
इलाम ३ मंसिर : नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीयता धरापमा पार्ने काममासरकार आफैँ लागेको आरोप लगाउनु भएको छ । इलामको माइ नगरपालिका २ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै सोमबार उहाँले यस्तो वताउनु भएको हो ।
प्रदेश सरकारलाई काम नदिनु, प्रधानमन्त्री आफैँले सवै अधिकार लिन खोज्नुले पनि संघीयता धरापमा परेको उहाँको आरोप छ ।
संघीयता अनुसार स्थानिय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावना अनुसार अधिकार बाँडफाँडमा चल्न नसक्नुले पनि सरकार आफैँले संघीयताको विश्वास नगरी संघीयतालाई धरापमा पार्ने काम गरेको उहाँको भनाई रहेको छ ।
शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन नसक्नु, दण्डहिनताको अन्त्य नहुनु, सुसासनको बाटोमा सरकार नहिँड्नु र हत्यारालाई कारबाही गर्न नसक्नु देश असफलता तर्फ उन्मुख भएको उहाँको भनाई छ ।
सरकार आफुले समृद्धिका ठुलाठुला नारा घन्काउने तर जनताले मागेको सुसासन, भ्रष्टाचारीलाई कारबाही र महंगी नियन्त्रण गर्न नसक्नुले आफुहरु कहाँ छु भनेर सरकारले सोच्ने दिन आएको उहाँको भनाई छ ।
भाषणको अधिकांश समय सरकारको विरोधमा नै खर्चिएका उहाँले अव कांग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका डा कोइरालासहित अर्की केन्द्रीय सदस्य सुजता परियार, प्रदेश नं. १ का सचेतक तथा प्रदेश सभा सभाषद् केदार कार्की, जिल्ला सभापति हिमालय कर्माचार्य, पूर्व सभापति केशव थापा, महासमिति सदस्यहरु भेषराज आचार्य, वेनुपराज प्रसाई, टीकाराम लेप्चा, नगेन्द्र कुमाल, नेपाल शिक्षक संघ प्रदेश प्रमुख पूर्णप्रसाद गौतम, जिल्ला कोषाध्यक्ष विष्णु कार्की समेतले मन्तब्य राखेका थिए । सभामा जिल्लाका अधिकाँश काङ्ग्रेस नेताहरु, माई नगरपालिकाका कार्यकर्तासहित स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।