आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहार । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी रत्नपार्कमा करीब ३०० सङ्ख्यामा काग बोलाएर १५ औँ काग सम्मेलन गरे ।
दुलालले विगत १४ वर्षदेखि तिहारको अवसरमा काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् ।उनले आफूले विभिन्न चराचुरुङ्गीका साथै सङ्गीतको धुन आवाजमार्फत् निकाल्नसक्ने दाबी गरेका छन् । उनले आयोजना गरेको काग सम्मेलन हेर्न धेरैको भिड लागेको थियो । धेरैले उनको कलाको प्रशंसा समेत गरेका छन् ।