बढे फिजियोथेरापीका सेवाग्राही

  • रणदेव हजाम

बिर्तामोड, २० मंसिरः ‘डाक्टर नानी सेकी दिनुन’ यो भनाई हो  झापा बुधबारे– १ का ५७ वर्षीय वेदप्रसाद वाग्लेको । उनी केही हप्तादेखि दैनिक  बुधवारे आयुर्वेद औषधालयमा स्नेहन स्वेदनको सेवा लिइरहेका छन् । वर्षौँदेखि ढाड कम्मरको दुखाईबाट पीडित रहेका वाग्लेले स्थानीय अस्पतालदेखि सिलिगुडीसम्म उपचार गराए तर केही पनि  सुधार हुन् सकेन  ।
बुधवारे आयुर्वेद औषधालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा जेष्ठ १२ गते भएको स्वास्थ्य शिविरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डा.केनिन राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्वारा सञ्चालित आयुर्वेद सेवामा निःशुल्क चेकजाँच, फिजियोथेरापी, एकुपञ्चार, निशुल्क औषधि वितरणबारे थाहा पाएर उनी जिल्ला आयुर्वेद औषधालय पुगे ।  त्यहाँका फिजियोथेरापिष्ट डा. शिवेन्द्रमारिक यादवसँग  थेरापी गराउन थाले ।  
उनि जस्ता  बिरामी निको भएको कुरा उपचार गराउँदै गरेकाबाट  सुने पछि बाँचिन्छ कि भन्ने लाग्यो ।  लगातार १८ दिन फिजियोथेरापी गरे पछि वर्षाँैदेखिको पीडाबाट छुटकारा पाएको  उनले बताए  । 
फिजियोथेरापी, वाथ तथा नसाका बिरामीका लागि भरपर्दो  उपचार पद्धति हो । लगातार फिजियोथारापी गरे वाथ तथा नसाका रोगीलाई  फाईदा पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका फिजियोथेरापिष्ट डा. यादव बताउँछन् । 
बुधवारे– १ का  कृष्ण कुमालको शरीर एक पाटो पक्षघात भएको धेरै भयो । काठमाडौँ लगायत धेरै ठाउँमा उपचार गराए निको भएन । स्नेहन स्वेदनबाट उपचार गर्दा धेरै सुधार भएको उनी बताउँछन् । ‘पहिला उठ्न बस्न सक्दिनथेँ राति सुत्न असाध्यै गाह्रो हुन्थ्यो, अहिले ठमठम हिड्छु’ उनले भने ।  

वाथ तथा नसाका रोगीको लागि स्नेहन स्वेदन र अभ्यग सेवा प्रभावकारी रहेको आयुर्वेद चिकित्सक डा. अहिल्या मैनालीले बताईन् । स्नेहन स्वेदन र अभ्यग सेवा आयुर्वेद चिकित्सक, कविराज तथा वैधको रोहवरमा गराउन सकिने बताइन्छ । अभ्यग थेरापी सेवाको नेपालमा एकेडेमिक कोर्स नभएकाले आयुर्वेद शिक्षा लिएका जसले पनि कुनै अनुभवी अभ्यगकर्तालाई काम लगाउन सकिने उनको कथन छ । 
बुद्धशान्ति –७ कि टीकामाया अधिकारी र छोराद्वय डमरु तथा नारद अधिकारी परिवारले स्व. तुलाराम अधिकारीको स्मृतिमा २०५८ सालमा १ कट्ठा ५ धुर जमिन औषधालयलाई प्रदान गरेको औषधालयका प्रमुख पुरण लहेरी बताउँछन् ।  औषधालयमा  दुई कार्यालय सहयोगी सहित ४ जनाको दरबन्दी रहेको छ ।  औषधालयले स्थानीय र लोपोन्मुख जडिबुटीको संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले भवन  परिसरमा  रुद्राक्ष, तितेपाती, मुसली, सतावरी, दालचिनी, गुडामार, जेठीमधु लगायत ५० प्रकारका  दुर्लभ जडीबुटी लगाएको  लहेरिले  बताए ।      
औषधालयमा ४५ जना बिरामी दैनिक आयुर्वेद उपचार सेवा लिन आइरहेको वैद्य घनस्याम भट्टराईले बताए ।  वाथ, पायल्स, मुत्ररोग, महिला रोग  तथा  पेटका  रोगी  आयुर्वेदिक  औषधी सेवन गर्न आउने गरेको छन् ।   जेष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धन सेवा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई रसायन आयुर्वेदिक औषधि तथा स्तनपायी आमाका लागि स्तन्यबर्दक जडिबुटी जन्य आयुर्वेदिक औषधी  वितरण कार्यक्रम अन्तर्गत प्रसूति महिलालाई दुधवर्धक औषधि निःशुल्क  वितरण  गर्ने गरेको  वैद्य भट्टराई बताए । 
बुद्धशान्ति गाउँपलिकाले औषधालयका लागि २७ लाख ३० हजार रकम विनियोजन गरेको छ । जसमध्ये  भवन निर्माणमा ६ लाख ५० हजार, आयुर्वेदिक औषधी खरिदमा ३ लाख, गाउँघर क्लिनिकका लागि १ लाख र स्नेहन स्वेदन र अभ्यग सेवाका लागि १० लाख रकम खर्च गरिने औषधालयका प्रमुख लहेरीले जनाए ।   
स्नेहन स्वेदन र अभ्यग सेवा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र  लगायत झापाका ७ वटै आयुर्वेद औषधालयमा सञ्चालन भइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका  कविराज निरीक्षक हरेन्द्र साहले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता