आहा ! मनमोहक इलामको सन्दकपुर

  • खेम अधिकारी

इलाम । नेपाल सरकारले हालै घोषणा गरेको नेपालका एकसय पर्यटकीय स्थल मध्ये इलाम जिल्लाको सन्दकपुर पनि एक हो । सूर्योदय तथा हिमश्रृंखलाहरुको दृष्यावलोकनका लागि विश्वकै नामुद स्थान सन्दकपुर इलाम जिल्लाको उत्तरी भेगमा अवस्थित छ । यसको उचाइ समुद्र सतहबाट तीन हजार छ सय ३६ मिटर रहेको छ, जुन नेपालकै महाभारत पर्वतको सर्वोच्च शिखर हो ।
सन्दकपुर नामाकरण तथा यसको प्रसिद्धिका बारेमा खोज गर्दा इतिहासका अध्येताहरुका अनुसार इलाम जिल्ला तथा यस आसपासका क्षेत्रहरुमा परापूर्व कालमा लेप्चा जातिले शासनन गरेको मानिन्छ । लेप्चा जातिले कञ्चनजङ्घा हिमाललाई धार्मिक आस्थाको केन्द्रको रुपमा हालसम्म पनि मान्ने गरेको पाइन्छ । सन्दकपुरबाट कञ्चनजङ्घा हिमाललाई दर्शन तथा आराधना गर्न सकिने हुँदा यसको नाम ‘सन्दफू’ राखियो । जसको अर्थ ‘उच्च स्थान’ भन्ने हुन्छ । कालान्तरमा यस क्षेत्रका लाप्चाहरु इलामकै नेपाल–भारतको सिमावर्ती क्षेत्र, भारतको दार्जिलिङ तथा सिक्किम क्षेत्रमा गएका थिए ।
यसको प्रभाव स्वरुप भारतीय क्षेत्रमा सन्दकपुरलाई आज पनि सन्दकफू नामले नै चिनिन्छ । त्यस्तै प्रकृतिपूजक हिन्दू ,बौद्ध, किरात धर्मावलम्वीहरुले साक्षात् देवी मान्ने माई भगवतीको शीर सन्दकपुर चुली नै भएकाले धेरै साधु–सन्तहरु आउने जाने ध्यान गर्ने गरेको र एक दिन एक जना नामुद सन्तले कठोर ध्यान तपस्या  गरिरहेको अवस्थामा हिउँ आएको र त्यही हिउँमा सन्त लिन भएका हुँदा हिउँले सन्त पुरेको स्थान सन्तपुर भयो भन्ने भनाइ पनि रहेको छ । यस्तै, उक्त स्थानमा विभिन्न धर्मावलम्वी साधु–सन्तहरु आइरहने भएकाले सन्तहरुको नगर अर्थात् सन्तहरुको पुर  भएर सन्तपुर नामाकरण भएको भन्ने भनाइ पनि रहेको छ । परापूर्वकालदेखि  नै हिन्दू, बौद्ध, किरात धर्मका सन्तहरुले जप, तप तथा ध्यान गरेको पवित्र स्थल भएकाले सन्तपुर भन्ने गरेको कुरा र कालान्तरमा सन्तपुर शब्द सन्दकपुर भएको पुराना बुढापाकाहरुको भनाइ रहेको छ । अहिले पनि स्थानीय भेगमा सन्तपुर नाम नै उच्चारण गरिन्छ ।
परापूर्व कालदेखि हालसम्म पनि हिन्दू, बौद्ध, किरात आदि धर्मावलम्वीहरुले सन्दकपुर गएर नियमित पूजाका साथै बिभिन्न तिथि तथा समयमा पूजापाठ गर्ने गरेको पाइन्छ । यसरी यहाँको पृष्ठभूमि, प्राकृतिक अवस्था हेर्दा सबै धर्म संस्कारका मानिसहरुले  धार्मिक सहिष्णुताको केन्द्रको रुपमा यस स्थालाई लिने गरेको पाइन्छ । यहाँ विभिन्न मन्दिर तथा गुम्वाहरु रहेका छन् ।
सन्दकपुरबाट देखिने सूर्योदयको दृष्य कुनै अक्षरबाट वर्णन गर्न सकिँदैन जुन त्यहाँ पूगेर सूर्योदयको दृष्यावलोकन गरेपछि जोकोहीले मनन गर्ने विषय हो ब्याख्या गर्दा सबै शब्दहरु फितला लाग्छन् । क्षितिजबाट उदाउने सूर्य, ताँती लागेर उभिएका हिमालहरुमा घामको झुल्को पर्दा देखिने सुनौलो आकृति र  सफा नीलो आकाश हेर्दा लाग्छ – म साक्षात् स्वर्गमा पुगेको छु । त्यसैले त हो सन्दकपुरले सूर्योदय ,सूर्यास्त तथा प्रकृतिको अनुपम छटाहरुको दृष्यावलोकनका  गर्नका लागि पछिल्लो समय विश्वभर प्रसिद्धि कमाउँदै गएको छ । यहाँबाट अत्यन्तै मनमोहक रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै  कञ्चनजङ्घा, मकालु, कुम्भकर्णलगायतका हिमालहरु आँखाभरी हेर्न सकिन्छ । नेपालका हिमाल, पहाड, तराईका कैयौँ जिल्लाहरु आफ्नै वरिपरि भएको भान हुन्छ । छिमेकी देश भारत तथा भूटानसमेतका बिभिन्न हिमालहरु तथा यी देशहरुको विभिन्न शहरबजार, पहाड अनि फाँटहरुसमेत यहाँबाट एकै साथ देख्न सकिन्छ । साँझमा देखिने सूर्यास्तको दृष्य, रातको समयमा खुला आकाशमा देखिने तारापुञ्जहरुको लुकामारी, चारैतिर नियाल्न सकिने बत्ती नै बत्तीका शहरहरु प्रकृतिले कुदेका पत्थरहरु अनि हिउँद याममा प्रशस्त मात्रामा पर्ने हिउँ खेल्न समेत पटकपटक बाह्य तथा आन्तरिक पर्यटकहरु सन्दकपुर पुग्ने गरेका छन् । पदयात्रा, साहसिक पर्यटन गर्दै पनि पुग्न सकिने सन्दकपुरमा चाँैरीगोठ, बहुरङ्गी गुराँस, लेकाली भेगमा पाइने जडीबुटीहरु , चराचुरुङ्गी, जीवजन्तुहरु  नजिकबाट हेर्न पाइने यो क्षेत्र जैविक विविधताका हिसाबले समेत आकर्षक गन्तव्य बन्दै गएको छ ।
यस्तै, सन्दकपुर पूर्वको प्रसिद्ध माईखोला(जसलाई झापामा पुगेपछि कन्काई पनि भन्ने गरिन्छ) को उद्गमस्थल पनि हो । सूर्योदय हेर्ने स्थानबाट करिब तीनसय मिटर तल माईखोलाको उद्गमस्थल रहेको छ । गाईका चार थुनहरु जस्तै चारवटा ससाना ढुङ्गाहरुबाट थोपाथोपा जसरी पानी झरेर माइखोलाको उत्पति भएको मानिन्छ  तर संरक्षणको लागि भन्दै हाल यस ठाउँलाई घेरिएका कारण माइखोला उत्पत्ति जसरी गाईका चारथुनजस्तै देखिने ढुङ्गाबाट भएको छ भनिन्छ, त्यसलाई नियाल्न भने पाइँदैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता