प्रिय छोरा !
तिमिलाई पहिल्यै धेरै आशिर्वाद दिएकी थिएं
पेटमै जवान हुन्ज्याल कत्रो दुख गरेर बोकें हुर्काएं
कयौं पटक अपांग जन्मन खोज्यौ
जन्मन दिईंन
आज ६८बर्ष पछि
बल्ल सगल्तो जन्मियौ
सम्झ त
ममा कत्रो आशा थियो होला
तिमी प्रति
कत्रो भरोसा थियो होला
कति कति बाडी पहिरो हुरि बतास र खडेरीहरुमा
अनिकाल र महामारीहरुमा बचाउँदै
पहाड जस्तो अडिग भएर उभिएं
नदी झैं प्रवाहमा कहिल्यै थाकिन
अपसोच!!!तर
अचेल तिम्रो चालढाल देख्दा उदेक लागेर आउँछ
न कहिल्यै ठेगानका कुरा गर्छौ
न दीगो भएर घरको काम नै गर्छौ
फिरङ्गीहरुको लहलहैमा लागेर
कहिले उतै शहर तिरै
ठुला ठुला हवेली भित्र
खै के के पिउँदै
दिनहु उतै बिताउँछौ रे
कहिले जाली फटाह र भ्रष्टहरुलाई बचाउन
तल्लिन हुन्छौ रे
भौंतारिन्छौ रे
अचेल नाम र दामका मात्रै कुरा गर्छौ रे
काम चटक्कै बिर्सियौ भन्ने सुन्दैछु
यसरी छिमेकी र टाढाका पराईहरुको मात्रै साथमा लागेर
आफ्नो घर कसरी सप्रिन्छ छोरा???
बर्खा लागिसक्यो
अहिलेसम्म सालिम्मोको जोहो छैन
घर कटेरा डिही र याक्साहरु उदाङ्गै छन्
न बर्खे दाउरा काटेको छ
न सामलतुमल तुल्याएको छ
घरमा अनिकाल छ
यत्रो हिउँद त्यसै बित्यो
भाइबैना नाङ्गानाङ्गै छन्
मेरो पनि चौबन्दि फाटेर
बक्षस्थल उदाङ्गै छ
फरिया भ्वाङ परेर
गुप्ताङ्ग छर्लङ्गै छ
न एउटा गतिलो ओछ्याउने गुन्द्री नै छ
न ओड्ने एउटा गतिलो धुसा छ घरमा
खुट्टा लाग्ने जति सन्तान
कोहि खोला पारि साहुकहाँ गोठालो गर्छन्
कोही छिमेकी साहुकहाँ नोकर छन्
न थलामा गाई भैंसी छन्
न टाट्नामा पाडाबाच्छा नै
यति सुन्दर खेतबारी बाँझै छ
छिमेकीहरुले कति गिल्ला गरिसके
कति तालि बजाईसके
तिमी भने तिनकै पछि लागेर कुदिरहन्छौ ???
खै!!!अब म के गरौं ,के नगरौं???
किकर्तब्यबिमुढ छु
मैले सोचेकी थिईन
कि -तिमी यति अकर्मण्य छौ भन्ने
यहाँ भने सिमकुलो पनि सुकीसकेको छ
तिमी पानीजहाजका कुरा गर्छौ रे
घरमा भने एकहल गोरु छैनन्
तिमी रेलका कुरा गर्छौ रे
बाँझो बारी र भाँगो खेतमा
पानीजहाज र रेलगाडी कुदाउँदा
अन्न,फलफूल र तरकारी फल्दैन छोरा
न थला टाट्नामा लैना हुन्छन्
न खोरमा बाख्रा भेडा
न सुंगुर कुखुरा नै
ए!!!छोरा
यति लामो समय देखि
तिम्री यि दुखी आमा
र
मुसा रोएको यो जीर्ण घरमा
न तिमीले भनेको समृद्धि नै आउँछ।
बस ......आज यति नै
रहें बाँचे तिमी आउन्ज्याल भने
अरु कुरा भेटमा गरौंला
उहि तिम्री दुखी नेपाल आमा
"विनयी एच एन"