झापा पुनः चुक्यो, आर्मीलाई चौथो झापा गोल्डकपको उपाधि

झापा, २७ फागुन । विभागीय टोली त्रिभुवन आर्मी क्लब चौथो झापा गोल्डकप च्याम्पियन बनेको छ । सोमबार सम्पन्न फाइनल खेलमा आयोजक झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।
उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु प¥यो । सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न प्रतिष्पर्धात्मक फाइनल खेलमा आर्मीले जितका लागि पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल ग¥यो । झापाले भने पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो ।
पहिलो हाफको २४ मिनेटमा आर्मीका सन्तोष तामाङ फ्रि किक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले व्यक्तिगत २ गोल गरे । आर्मीको जितका लागि कप्तान भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठले गोल गरेका हुन् । झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फ्रान्सिस् र भिक्टोरले गोल गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्ताम घोषित भए । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे । सर्वाधिक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद २५ हजार प्राप्त गरे । खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ, उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उदियमान खेलाडी झापाका निशान खड्का, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापा घोषित भए । उत्कृष्ट सबैलाई जनही नगद २१ हजार रुपैयाँ प्रदान गरियो ।
झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधि जित्न सकेको छैन ।
दर्शकको भरपुर समर्थन पाएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रेको थियो । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित झापासँग भिडेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता