प्रहरी प्रविधियुक्त बनाउन आवश्यक – महानिरीक्षक खनाल

झापा, ३० फागुनः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रविधियुक्त बनाउन आवश्यक रहेको बताए । विकसित देशमा सिमित प्रहरीले प्रदान गर्ने सुविधा चुस्त रहेको बताउँदै प्रविधिको अनुकरण नेपाल प्रहरीमा आवश्यक रहेको जनाए । 
दुर्घटना न्यूनीकरण महाअभियान दोस्रो चरणको कार्यक्रम उद्घाटन गर्न बिहीबार झापा आइपुगेका खनालले विकसित देशको सडकमा प्रहरी नदेखिए पनि प्रहरी प्रविधियुक्त रहेको  सुनाए । “यसको अनुकरण छिमेकी देश भारतमा पनि देखिन सुरु भएको छ” खनालले भने, “म प्रहरीको नेतृत्व तहमा पुगेको छु, नागरिकलाई सुरक्षित वातावरण महसुस दिलाउन नयाँ प्रविधिको सुरुवात गर्ने छु ।” खनालले झापा र नेपालका सिमावती जिल्ला लागुऔषधको ट्रान्जिट पोइन्ट बन्दै गएको गुनासो बढेकाले यस प्रकारको गतिविधि रोक्न नेपाल प्रहरीले योजना बनाएर अघि बढेको बताए ।  नेतृत्व सम्हाल्न आएसँगै प्रहरी संगठन भित्र रहेका कमजोरीबारे ज्ञान भएको र उक्त बेतिथि रोक्न आफु लागि परेको बताए । प्रहरी संगठनलाईे आफ्नो कार्यकालमा सुधार्ने प्रतिबद्धता जनाएका छन् । 
गैरकानुनी क्रियाकलापप्रति प्रहरीले कुनै सम्झौता नगर्ने उनको भनाइ छ । प्रहरीलाई लाग्ने गरेका आरोप प्रत्यारोप अन्त्य गर्न प्रहरीलाई निर्देशन गरेका खनालले नागरिकलाई उपलब्ध गराउनु पर्ने सेवामा कुनै पनि कसर बाँकी नराख्ने बताए । “जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर बन्नु पर्छ प्रहरी” खनालले भने, “म  झापाबाटै अनुरोध गर्दछु जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलकासाथ काम गर्नुहोस् ।”
महाअभियान समितिको आयोजनामा भएको कार्यक्रमको संयोजन प्रदेश– १ ट्राफिक प्रहरी कार्यालयको रहेको थियो । झापाको बिर्तामोडबाट सुरु भएको महाअभियान १५ दिन सम्म चल्ने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । अभियानको उद्घाटन पूर्व प्रभात फेरीको आयोजना गरिएको थियो । महानिरिक्षक खनालले चालकलाई सवारी चलाउँदा लगाउने पोशाक लगाईदिएर अभियानको सुरु गरेका थिए । 
उद्घाटन कार्यक्रममा प्रदेश–१ ट्राफिक प्रहरीलाई ३५ लाखभन्दा बढीका सामग्री हस्तान्तरण गरिएको छ ।  १०वटा मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० जना चालकलाई पोशाक प्रदान गरिएको अभियानका संयोजक गिरीले बताए । बिर्तामोडमा बन्ने झापा ट्राफिक प्रहरीको भवनको महानिरीक्षकखनालले शिलन्यास गरेका छन् । भवन प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा निर्माण झापा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश राईले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता