लिम्बुवान भूमिको रक्षाका लागि आन्दोलन: कुमार लिङ्देन

ताप्लेजुङ,२८ चैत्रस् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ ले लिम्बुवानका लागि आन्दोलन जारी रहेको बताएका छन् ।लिम्बुवान प्रान्त स्थापना नभएसम्म संघीय लिम्बुवान मञ्च जस्तोसुकै आन्दोलन लड्न तयार रहेको पनि अध्यक्ष लिङ्देनले बताए । 
सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा बुधबार संघीय लिम्बुवान मञ्च नेपाल ताप्लेजुङको चौंथो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले निर्णायक आन्दोलनको तयारीमा रहेको पनि बताएका छन् । हालको प्रदेश १ लाई लिम्बुवान प्रान्त नामाकरण गर्नमा विभिन्न षड्यन्त्र भइरहेको बताउँदै उनले षड्यन्त्र विरुद्ध लिम्बुवान मञ्चले खबरदारी गरिरहेको बताए ।
लिम्बुवान प्रान्तका लागि लिम्बुवानबासी एक हुनुको विकल्प नरहेको पनि उनले बताएका छन् । लिम्बुवान भूमिको रक्षाका लागि लिम्बुवान मञ्चले सुरुदेखि नै लडाईं लड्दै आएको बताउँदै उनले लिम्बुवान प्रान्त घोषणा नभएसम्म लडाईं जारी रहने पनि बताए । अर्को प्रसंगमा अहिले भ्रष्टचार मौलाइरहेको अवस्थामा भ्रष्टचार विरुद्ध पनि लिम्बुवानको आन्दोलन भएको लिङ्देनले बताए । 
गाउँगाउँमा सिंहदरबारको अधिकार दिने नाउमा डरलाग्दो गरी भ्रष्टचार मौलाएको उनको भनाइ छ ।यस्तै लिम्बुवान मञ्चकी नेतृ तथा प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले प्रदेश १ को नामाकरण गर्ने विषयमा गम्भीर षड्यन्त्र भइरहेको बताइन् । तुम्बाहाम्फेले षड्यन्त्रकाबीच कुनै पनि दिन प्रान्तको नामाकरण लिम्बुवान नभई अरु नै हुनसक्ने खतरा रहेको बताएकी छन् ।
त्यस्तै जिल्ला अधिवेशन उद्घाटन समारोहमा लिम्बुवान मञ्चका विभिन्न केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए भने कलाकारहरुको विभिन्न प्रस्तुति समेत रहेको थियो ।यता अधिवेशनको बन्दसत्रले नयाँ जिल्ला कार्यसमिति चयन गर्ने संघीय लिम्बुवान मञ्चका जिल्ला इन्चार्ज भूपेन्द्र माबोले जानकारी दिए । माबोका अनुसार जिल्लाका विभिन्न गाउँबाट अधिवेशन प्रतिनिधि तथा पर्यवेक्षकहरु आइसकेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता