प्रदेश १ मा स्वच्छ पानीको समस्य

  • मनिषा चम्लागाईँ

झापा, १७ चैतः मानिसका लागि अत्यावश्यक शुद्ध पानीको समस्या अहिले चिन्ता र चासोको विषय बनेको छ । प्रदेश –१का २०  प्रतिशत मानिस अझै पनि सुरक्षित पिउने पानीबाट बञ्चित रहेको खानेपानी महाशाखा प्रदेश –१ले जनाएको छ । प्राथमिक तथ्यांकको आधारमा हालसम्म स्वच्छ खानेपानीको सुविधा ३८,८०,७२७ जनसंख्यालाई उपलब्ध भएको छ । प्रदेश जनसंख्याको आधारमा ८३.९९ % मात्र रहेको महाशाखाको तथ्याकंमा छ ।
नेपालमा असुरक्षित पानीका कारण हरेक वर्ष सयौँले ज्यान गुमाउने गरेको विज्ञ बताउँछन् । सबै मानिसको पहुँचमा मुहानको पानी उपलब्ध नहुने हुदाँ पनि मृत्यु हुनेको संख्या बढी भएको हो । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको त्रिभुवन विश्व विद्यालय वातावरण विभाग केन्द्रीय उपप्राध्यापक डा. जितबहादुर साह बताउँछन् । २०५० सम्ममा पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्ने जानकारहरुको भनाई छ । यसले आगामी दिनमा सुरक्षित पानीको समस्या अझ जटिल बन्दै जाने साहले बताए ।
काठमाडौँ उपत्यकाको ४० लाख जनसंख्याका लागि अहिले न्यूनतम दैनिक ४० करोड लिटर पानीको माग छ । .पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको  छ । तर, बढीमा यसको ३ प्रतिशत मात्र प्रयोगमा आउन सक्छ । समुद्रमा रहेको ९७ प्रतिशत पानीलाई पिउनयोग्य बनाउन ठूलो लगानी आवश्यक पर्छ । 
पानीका स्रोतको अवस्था
मुहानको पानी चट्टानबाट बगेको कारण प्राकृतिक स्वादको मात्रा बढी हुने उपप्राध्यापक डा. साह बताउँछन्  । अन्य स्रोतको भन्दा मुहानको पानीमा अक्सिजनको मात्रा पर्याप्त हुनाले पनि स्वादिलो हुन्छ । तराई क्षेत्रमा १० फिट गहिराइबाट पानी निकालिन्छ । पानीको कुनै परीक्षण गरिएको हुँदैन । यस प्रकारको पानीमा मानव र गाईबस्तुको त्याज्य पदार्थ विस्तारै छिद्रा बाट भूमिगत पानीको स्रोतसम्म पुग्ने हुनाले पानी जुनसुकै अवस्थामा दुषित हुने रसायन शास्त्रि  मिनप्रकाश मैनालीले बताए । “बजारमा बिक्री हुने बोतलको पिउने पानी पनि धेरै जसो तराइ क्षेत्रबाट निकालिन्छ” मैनालीले भने, “तराई क्षेत्रका पानी उद्योगले पानीमा अक्सिजन मिसाउन नाङ्लो जस्तो छिद« भएको ‘‘झारी’’ बाट पानी ट्याङ्किमा झार्छन्, यसरी छोटो दुरी र समयमा हावा मिसाइएको उक्त पानीमा अक्सिजन आवश्यक मात्रमा हुँदैन ।” 
भूमिगत पानीमा भएको किटाणु (जम्स) मार्न कतिपय उद्योगमा क्लोरिनेशन गर्ने गरिन्छ । पानीमा भएको क्लोरोनले पनि शरीरिक रुपमा असर गर्ने मैनालीले बताए । “खाद्य प्रविधि विभागले पानीको परीक्षण राम्रोसँग नगरी पास गर्ने गर्छ” मैनालीले भने । ५०–१५०मिलिग्राम टिडीयस भएको पानी पिउन योग्य हुने उनी सुनाउँछन् । १५० –२५० मिलिग्राम टिडीयस भएको पानी खेलाडीका लागि उपयुक्त,  २५० –५०० मिलिग्राम टिडियस भएको पानीले स्वास्थ्यलाई असर गर्ने उनले बताए । भूमिगत पानीमा सोडियमको मात्र पनि बढी हुने गर्दछ । सोडियम बढी भएको पानीले पनि स्वाथ्यलाई असर गर्ने उनले जनाए । पिएच लेबललाई ब्यालेन्स गर्न क्याल्सियमको मात्रा बढी भएको पानीले शरीरलाई फाइदा पु¥याउँछ । 
पानीमा आवश्यक मिनरल(क्याल्सियम, आइरन, म्याग्नेसियम )  प्रति लिटर ०.३ मिलिग्राम हुन आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । पिउने पानीमा मर्करी, रेडियम, आर्सेनिक जस्ता हानिकारक तत्वहरु ०.०१ मिलिग्राम भन्दा कम हुनु पर्दछ ।  लामो समयसम्म आर्सेनिक पानी पिउँदा छालामा फोका निस्कने, टाइफाइट र पेट सम्बन्धि रोग लाग्ने विज्ञको भनाइ छ । 
वर्खाको समयमा पहाडी क्षेत्रमा पाइने ‘‘एसिडरेन’’ले पनि पानीको स्वाद बढाउने रसायन शास्त्रका प्राध्यापक जयनारयण मित्रुकाले बताए । भूमिगत श्रोतको पानी ३ प्रतिशत मात्र स्वच्छ हुने प्राध्यापक मित्रुकाको भनाइ छ । भूमिगत पानीको जम्सलाई मार्न शुद्धिकरण गरेर बजारमा बिक्री गर्ने गरिएको छ । ७ पिएच भन्दा माथिको पानी स्वादिलो र लामो समयसम्म पिउन योग्य हुने मित्रुका बताउँछन् । पानीबाट मानिसलाई प्रत्येक दिन १००देखि २०० मिलिग्राम क्याल्सियम र ४०–८० मिलिग्राम म्याग्नेसियम आवश्यक हुन्छ । 

एक तथ्याङ्क अनुसार सिंचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत पानी प्रयोग भएको पाइन्छ । नेपालको ८देखि १० प्रतिशत मानिसको पहुँचमा मात्र मुहानको पानी रहेको मित्रुकाले बताए । बाँकी मानिस जमिन मुनीबाट तानिएको असुरक्षित पानी उपभोग गर्न बाध्य छन् । सन् २०१३/१४ मा गरिएको वार्षिक घरधुरी सर्वेक्षणले ५१.६ प्रतिशत मानिस पाइपबाट वितरण गरिएको पानी प्रयोग गर्दै आएका छन् । 
पानीका स्रोत सुक्दै गएकाले संरक्षणमा राष्ट्र अग्रसर हुनुपर्ने देखिन्छ । अगामी पुस्तालाई मुहानको पानी र तानिएको  पानीको महत्व, जनचेतना र स्रोतको दिगो व्यवस्थापन गर्न नीति निर्माण तहको ध्यानाकर्षण गराउन आवश्यक रहेको विज्ञको भनाई छ । पानीका स्रोत तथा मुहान बचाउन प्रकृतिको संरक्षण अपरिहार्य रहेको छ । नेपालले भोगिरहेको पानीको समस्या समाधानका लागि प्रकृतिमा आधारित स्वच्छ पानी सबैभन्दा उपयुक्त हुने प्राध्यापक मित्रुका बताउँछन् । 
राष्ट्रसंघका अनुसार विश्वभर ७६ करोड भन्दा बढी मानिसले शुद्ध पानीको उपयोगबाट बञ्चित छन् । जलवायु परिवर्तन एवम् औद्योगिक प्रदुषणले विश्वमा पानीका मुहान सुक्दै गएका कारण मानवीय जीवन कष्टकर बन्दै गएको छ । नेपालमा पानीको उपलब्धता प्रसस्त रहेपनि नदी, खोला तथा समग्र पानीको उचित व्यवस्थापन नहुँदा पानीको समस्या देशभरमै बढ्दै गएको हो । नेपालको संविधानले धारा ३५ (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरेको छ । सन् २०१७ सम्म आम नागरिकलाई खानेपानीको प्रत्याभूत गर्ने घोषणा गरेपनि अहिलेसम्म खानेपानीमा ८७ प्रतिशतसफलता प्राप्त भएको सरकारी तथ्यांकमा उल्लेख छ ।
नेपालले सन् २०३० सम्मका लागि निर्धारण गरिएको विश्वव्यापी दिगो विकासका लक्ष्यअनुसार केही सूचकहरु निर्धारण गरेको छ । यस अवधिमा ९९ प्रतिशत घरपरिवारले आधारभूत पानीको सुविधा प्राप्त गर्नेछन् भने ९५ प्रतिशत घरधुरीसँग पाइपबाट पानीको आपूर्ति हुनेछ । स्वच्छ खानेपानीको पहुँचलाई जीवनस्तरको एक महत्वपूर्ण सूचकको रुपमा लिने गरिन्छ । तर, पानीको संरक्षणमा चेतना अभिवृद्धि अझै पनि हुन सकेको छैन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता