मेचीनगर गोल्डकपको उपाधि नेपाल पुलिसलाई

झापा, २१ वैशाख । साविक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लब चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप च्याम्पियन बनेको छ । विजेता बनेको पुलिसले नगद १० लाख एक हजार रुपैयाँसहित ट्रफि प्राप्त ग¥यो । उपविजेतामा सीमित बनेको आर्मीले पाँच लाख एक हजार रुपैयाँमा चित बुझायो ।
शनिबार काँकरभिट्टा माविको खेल मैदानमा भएको फाइनल खेल निर्धारित समय गोलरहित बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा समेत दुवै टोलीले ३—३ गोल गर्दा खेलको निर्णयका लागि सडनडेथमा जानुपरेको थियो ।
सडन डेथमा त्रिभुवन आर्मी क्लबका बिकास तामाङको प्रहार आकाशिएको थियो भने पुलिसका मानबहादुर परियारको प्रहार पोष्टमा लागेर फर्किएको थियो । पोष्टमा लागेर फर्किएको बलले गोलरक्षक कुथुको शरीरमा ठोक्किएपछि पोष्टको दिशा लिएको थियो ।
जसमा पुलिसले बाजी मार्न सफल भयो । पुलिसलाई जित दिलाउन सुमन लामा, भरत शाह, रेजिन सुब्बा र मानबहादुर तामाङले गोल गरे । आर्मीका तर्फबाट दिपक कुमार लामा, टेकबहादुर बुढाथोकी, सन्तोष तामाङ मात्रै गोल गर्न सफल भए ।
खेलको म्यान अफ द म्याच पुलिसका गोलरक्षक खड्का घोषित हुँदै नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए । राइजिङ प्लेयर काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरका एञ्जल गुरुङ, उत्कृष्ठ गोलरक्षक नेपाल पुलिस क्लबका गोलरक्षक शत्रुघन चौधरी, बेष्ट डिफेन्स पुलिसका आषिश गुरुङ, बेष्ट मिडफिल्डर आर्मीका सेसेहाङ आङदेम्बे, बेष्ट स्ट्राइकर आर्मीका नवयुग श्रेष्ठ, बेष्ट कोच अनन्तराज थापा घोषित भए ।
उनीहरुले जनही २१ हजार रुपैयाँ पुरस्कार पाए । बेष्ट प्लेयर अफ द टुर्नामेन्ट पुलिसका रवि पासवान घोषित हुँदै १ लाख १ हजार रुपैंया पुरस्कार पाए ।
बैशाख १२ गतेदेखि सुुरु भएको प्रतियोगितामा आयोजक सहित पुलिस, आर्मी, संकटा, च्यासल, सुनसरी ११, माइभ्याली क्लब इलाम, पारो एफसी भुटान, क्यामरुनको दाउफिन्स एफसी र रुस्लान थ्री स्टार क्लबले प्रतिष्पर्धा गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता