सगरमाथाको उचाई मापन गर्न गएका टोलीलाई स्वागत

काठमाडौं, १० जेठः सगरमाथाको उचाई मापन गर्न गएको सरकारी टोली विहीबार काठमाडौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत सानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो ।
यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएको प्रमुख नापी अधिकृत उपसचिव खिमलाल गौतम नेतृत्वको टोलीलाई फुलमाला र टिकाले स्वागत गर्नुभएको हो ।
त्यस अवसरमा सगरमाथाको सफल आरोहणको उपलक्षमा मन्त्री अर्यालले टोलीका सबै सदस्यहरूलाई मिठाइ खुवाएर खुसी बाँड्नुभएको थियो । त्यस अवसरमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले पहिलोपटक आफ्नै साधानस्रोतमा सगरमाथाको उचाइ मापन गर्ने कार्य गरेको भन्दै यो सबैका लागि गौरवको कुरा भएको बताउनुभयो ।
‘अहिलेसम्म सगरमाथाको उचाइ आफ्नै पहल तथा लगानीमा नेपाल सरकारले गरेको थिएन। विभिन्न देशहरूले विभिन्न समयमा गरेका थिए’– मन्त्री अर्यालले भन्नुभयो, यसपाली सरकारले आफ्नै स्रोतसाधनमा आफ्नै लगानीमा गरेको छ। यो हामी सबैका निम्ती गौरवको कुरा हो ।’
मन्त्री अर्यालले आरोहणको महत्वपूर्ण काम सम्पन्न गरेपनि ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताउनुभयो । 
गएको चैत २७ गते सगरमाथाको उचाइ नाप्नका निम्ती नापी विभागका प्रमुख नापी अधिकृत उपसचितव खिमलाल गौतम नेतृत्वको टोली सगरमाथातर्फ प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री अर्यालको शुभकामना लिएर गएको टोलीलाई वैशाख २८ गते भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले सगरमाथाको आधार शिविर ९बेसक्याम्प० मै पुगेर थप हौसला प्रदान गर्नुभएको थियो । कार्यक्रममा सगरमाथा आरोहणका बारेमा जानकारी दिँदै टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले निकै कष्टपूर्ण तरिकाले राज्यले दिएको जिम्मेवारी पुरा गरेर फर्किएको जानकारी दिनुभयो ।
जेष्ठ ८ गतेका दिन बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुगेर आफ्नो टोली १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा मापन कार्य गरेर बिताएको जानकारी दिनुभयो । ‘त्यहाँ हामीले पुगेर काम पनि गर्नुपर्ने थियो । त्यसैले त्यहाँ अब्जरभेसनका सन्दर्भमा एक घण्टा १६ मिनेट चुचुरोमा बितायौं, जुन निकै गाह्रो काम पनि थियो’, उहाँले भन्नुभयो ।
फर्कने क्रममा निकै कष्ट समेत ब्यहोर्नुपरेको सरकारी प्राविधिक टोलीलाई गाइड गरिरहेको पिक प्रमोशन प्रालीका टोली प्रमुख छिरिङ जाङ्बु शेर्पाले बताउनुभयो । ठूलो जोखिमका बावजुद सकुशल फर्किन सफल भएको उहाँले बताउनुभयो । टोलीमा सहभागी एक जनाको अक्शिजन सकिएका कारण धेरै समस्या परेको उहाँले बताउनुभयो ।
तर आफु २० वर्षदेखि गाइडको कार्यमा खटिरहेका कारण टोलीलाई कुशलतापूर्वक आरोहण र अवतरण गराउन सफल भएको उहाँको भनाइ थियो । प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा नापी अधिकृत रविन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धितालले सगरमाथाको उचाई मापन गर्न जानुभएको थियो ।
जसमध्ये भण्डारी र धितालले वेशक्याम्पमा बसेर सम्पर्क शुत्रको काम गर्नुएभएको थियो भने प्रमुख गौतम र कार्कीले सगरमाथाको चुचुरोमै पुगेर उचाइ मापनको कार्य गर्नुभएको थियो । यता पिक पर्मोशन प्रालीका छिरिङ जाङ्बु शेर्पाको नेतृत्वमा पेमा ङिमा शेर्पाले प्राविधिक कर्मचारी टोलीलाई चुचुरोसम्मै पुर्‍याउन मद्दत गर्नुभएको थियो । आङ्बु शेर्पा, आङ पासाङ शेर्पा र केशव पौडेलले व्यवस्थापनको काम गर्नुभएको थियो ।
आरोहरणका क्रममा बेलैमा उद्दार नभएको भए ज्यानै ज्यान गुमाउने सम्भावना रहेको समेत त्यस सन्दर्भमा आरोहण टोलीले बताएको थियो । कार्यक्रममा मन्त्री अर्यालले आरोहणको महत्वजपुर्ण कामबाट फर्किएपछि अब प्राविधिक काममा अगाडि बढ्ने जानकारी दिनुभयो ।
२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने विषयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा कुरा उठेपछि त्यो विषयलाई मध्यनजर गर्दै नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाई मापन कार्य अगाडी बढाएको हो ।
राष्ट्रिय गौरव र अन्तराष्ट्रिय चासोको रूपमा रहेको सगरमाथाको उचाई मापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि ९जिएनएसएस० एवं स्थलगत भू–आकर्षण सर्वेक्षण जस्ता विधि अवलम्बन गरिएको बताइएको छ । सगरमाथाको सफल आरोहण भइ तथ्यांक संकलन भइसकेको र अन्य स्थलगत सर्भेक्षणबाट तथ्यांकहरू प्राप्त हुने क्रममा रहेकोले सम्पुर्ण तथ्यांकहरू प्राप्त भएपश्चात् तथ्यांकहरूलाई प्रशोधन गरी परिशुद्ध उचाई विश्व सामु प्रस्तुत गर्न नापी विभाग सक्षम रहेको जानकारी दिइएको छ । 
न्युज२४बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता