कैलाली र कञ्चनपुरमा हावाहुरीको वितन्डा: दुईको मृत्यु, ७५ जना घाइते

धनगढी । बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनगढीका वर्ष २६/२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् ।
बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
यस्तै कैलाली आसपासमा जम्मा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिनुभयो । हावाहरीका कारण घर टहराको छाना उठेको छ भने रुखहरु ढलेका पनि गिरीले जानकारी दिनुभयो ।
घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ । घाइतेहरुको अहिले सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण घाइते हुनेको संख्या ३२ पुगेको छ भने महाकाली अञ्चल अस्पतालमा सातजना भन्दा बढी घाइते पुगेको जनाइएको छ ।  अन्यको नयाँ मेट्रो, निर्सग र अत्तरियाको पद्‍मा अस्पतालमा उपचार भइरहको डीएसपी गिरीले जानकारी दिनुभयो ।
हावाहुरीले रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ, बिजुलीको पोल ढालेर विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लास्थित सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको र उद्धारमा जुटेको उनको भनाइ छ ।
एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । अहिले हावाहुरी रोकिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता