इलाममा १३ हजार ६ सय सवारीसाधन कारवाहीमा, ८० लाख १४ हजार राजश्व संकलन


इलाम, १४ साउनः इलाममा  गत आवमा ट्राफिक नियम मिच्ने १३ हजार ६१० सवारीसाधन कारवाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार सवारी कारवाहीबाट रु.८० लाख १४ हजार पाँच सय राजश्व उठेको छ ।
अघिल्लोको तुलनामा आव ०७५÷०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको संख्या घटेको छ । आव ०७४÷०७५ मा जम्मा १४  हजार ९८६  सवारीसाधन कारवाहीमा परेका थिए । यो वर्ष नियमविपरीत चलेका ४४० वस, १ हजार ९०४  ट्रक, जीप ५ हजार ४९५, पाँच हजार १२२ मोटरसाईकल र  ट्र्याक्टर ६४९ गरेर तेह्र हजार ६१० सवारीसाधन कारवाहीमा परेका हुन् । 
कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक दिलिप कुमार चौधरीले बताउनुभयो ।
मापसेको संख्या दोव्वर
इलाममा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारिसाधन चलाउनेको संख्या दोव्वर भन्दा वढी भएको छ । गत अर्थिक वर्षमा मापसेमा ३१९ जना कारबाहीमा परेका थिए भने यो आर्थिक वर्षमा ८४० जनालाई जिल्ला ट्राफिक कार्यालयले कारबाहीगरेको छ । 
दुर्घटनाको संख्या घट्यो, मृतकको संख्या वढ्यो
इलाममा गत आर्थिक वर्षमा १८ वटा सवारी दुर्घटना भए जसबाट ९ जनाको मृत्यु भयो । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिलाको मृत्यु भएको थियो । सवारी दुर्घटनामा परेर १० जना सख्त घाइते र ३४ जना सामान्य घाइते भएका छन् ।  अघिललो आर्थिक वर्षमा २५ सवारी साधनको दुर्घटना भएको थियो जसबाट ७ जनाको मृत्यु भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता