जङ्गलको छट्टु स्याल र मेरो प्रधानमन्त्री केपि ओलि🤣

एउटा बिशाल जंगलमा स्यालहरूको एउटा राजा थियो । 
राजा हुनुभन्दा अघि त्यो  को थियो ? त्यो सबैभन्दा अल्छी ,कामचोर, भ्रष्ट र उदण्ड स्याल थियो । तर, राजा छनौट हुने प्रक्रियामा उस्ले यस्तो भाषणबाजी गर्‍यो कि स्याल समूहले उसलाई नै राजा नछानी रहन सकेन । उसको एकै वाक्य स्याल-भोटरहरूलाई प्रभावित पार्न काफी भयो । उस्ले भनेको थियो ," स्यालजन हो ! मलाई राजा बनायौ भने तिमीहरूलाई ओछ्यान मै खाना ल्याईदिन्छु ।  शिकार खोज्न जंगल, खोला,  भीर -पाखा-पखेरा भौतारिँदै दुख गर्ने अवस्थाको अन्त्य गरिदिन्छु ।"  
सुख-सुबिधा भोग गर्ने भोक र लालच जस्तो "एम्बुस" दुनियाँमा अरू के हुँदो हो । स्याल-जगत यही एम्बुसमा फस्यो ।  छ्ट्टु राजा चुनियो ।उही अल्छीपन, उही गफ, उही उदण्डता, उही कामचोरीको निरन्तरता चल्नथाल्यो ।  स्यालजनको ओछ्यानमै खाना ल्याइदिने कुरो त कता हो कता! बरू, स्यालजन आफूले दुखगरि  ल्याएको शिकार पनि अल्छी राजाको पाउमा आधा चढाउन बाध्यभयो ।
शहरका स्यालहरू अन्याय सहन्छन्  तर, जंगलका स्यालहरूले यो अन्याय सहन सकेनन् ।  एकजुट भएर उस्को गुफा अगाडी प्रदर्शन गरे । उस्ले गरेका बाचा सम्झाए । राजा नमान्ने धम्की दिए । राजा स्याल के कम ! चतुर थियो !  आफ्नो रँजाई कायम राख्न उस्ले भन्यो , " लौ सुन स्यालजन,म आजैदेखि शिकार गर्न निस्के । अब  कोही भोकले मर्नु पर्दैन । कोही शिकार खोज्ने नाममा भौंतारिदै दुख गर्नु पर्दैन ।"
बाचा अनुसार ऊ शिकार गर्न त निस्कियो । तर , न कहिल्यै भीर पाखा डुलेको, न शिकारको मेसो, न तौर-तरिका ज्ञान भएको उ बिना  मेसो दिनभर कैले यता कैले उता भौंतारिदै हिंडिरह्यो । 
यतिकैमा खेतमा चरिरहेको एउटा साँढे-गोरूको दृश्य उसको नजरमा पस्यो ।
साँढे देख्नु के थियो ! "यही मेरो शिकार हो", भन्दै दुईचार छलाङ मै गोरूको छेउ पुग्यो । अहो! बिशाल उस्तै.. मोटो र हृष्टपुष्ट उस्तै ! स्याल जगतलाई कम्तीमा पन्ध्र दिन शिकार गर्नु नपर्ने ।  राजा-स्याल खुशीमा "घाम लाग्यो घमाईलो , स्यालको बिहे रमाइलो" गाउँदै मज्जाले नाच्यो । तर, नाच्दा-नाच्दै उसलाई रियलाईज भयो कि यो भंयकर साँढेलाई मार्ने कसरी ?!
कसरी शिकार गर्ने कुनै मेसो आएन । कैले, गोरूको अगाडि गएर घुर्‍यो, कैले पछिपछि हिँड्यो । कहिले भूँडीमा लात मारेर पल्टाउने दाउ सोंच्यो । कैले गुद्वारमा चिमोटेर पल्टाउने कल्पना गर्‍यो । कैले खुट्टामा छिर्के लाएर बल्ड्यांङ पार्ने उपाय सोंच्यो । कैले दुबै कानमा समातेर दोहोर्‍याउँदै गुफा पुर्‍याउने शुर कस्यो । तर, कुनै "तिरिक" ले काम गरेन । साँढेको वरिपरि घुम्दै आधादिन जान लाग्यो । 
उ निराश भएर  गोरूको पछिपछि हिड्दैंथियो । अचानक उसको आँखा साँढे-फलमा पर्नगयो । झुन्डिरहेको, हल्लिरहेको, खस्ला-खस्ला गरिरहेको साँढे-फल देखेर बल्ल ऊ नैराश्यताबाट बौरियो । गोरूमार्न सकिन त के भयो ?! यो साँढे-फल त अवश्य खस्छ-खस्छ । यही टिपेर लैजान्छु र स्याल जगतलाई खुवाउँछु । 

सबै झुन्डिएका र हल्लिरहने चिजबिज खस्दैनन्  । खस्दो हो त,  सृष्टि कसरी चल्दो हो?! यो कुरा स्यालले बुझ्दो हो त उसको स्यालासन सिंहदरबारमा हुँदो हो । सिंहदरबार स्यालदरबार हुँदो हो ।  बुझेन । त्यसैले साँढेफल कुरिरह्यो - कुरिरह्यो । तर, खस्दै- खसेन ।उस्को धैर्यता टुट्यो । 

तर, अर्का आईडिया दिमागमा फुर्‍यो । उस्ले सोंच्यो , यो यत्तिकै खस्दैन ।  यस्लाई हल्का छोएर धक्का दिनुपर्छ, अनि अवश्य खस्छ । उ बिस्तारै गोरूको पछाडी पुगेर साँढे-फल छुन के पाएथ्यो साँढेको लात निधारमा बज्रियो । स्याल १० हात उछिट्टिएर बगरमा पछारियो । 

बेहोसीमै सोंच्यो, गफ लाएर दुनियाँ रणभूल्ल पार्नु जस्तो सजिलो पाखुरा बजारेर खानुमा छैन । 

तर उपाय के? उसमा गोरूको शिकार गर्ने समर्थ्य छैन । रित्तै गुफा फर्केर स्याल जगतमा नामर्द र बेकुफ राजा कहलिनु पनि मन छैन ।  साँढे-फलको भर नपरे के गर्नु?! यसपटक उस्ले साँढे फल तानेर खसाउने उपाय निकाल्यो । बडो होसियारी  भएर गोरूको ताङमुनी छिरेर साँढे फल हल्का तान्ने प्रयास के गरेको थियो - नाकमा साँढेको लात्ती बर्सियो । ऊ फेरी पन्ध्र हात उडेर बगरमा पछारियो । 

यसरी साँढेफलको आशामा लात खाने र पछारिन प्रक्रिया चलिरहेको थियो । यत्तिकैमा  भोकाएका र राजा-स्याल दिनभरी गुफा नफर्केकोमा चिन्तित स्याल जमात राजास्याललाई खोज्दै त्यहीँ आइपुगे ।  
स्यालजनले सोध्यो , "महाराज हजूर शिकार गर्न छोडेर किन बगरमा पछरिंदै-उठ्दै हुनुहुन्छ?"

चतुर राजाले आफ्नो कमजोरी देखाउने कुरै भएन । त्यसैले स्यालले साँढेलाई देखाउँदै बडो चलाख जवाफ दियो , " हेर स्यालजन म यो बिशाल , हृष्टपुष्ट साँढेको शिकार गरेर तिमीहरूलाई खुवाउँदैछु । म यै खुशीमा हाँसो थाम्न नसकेर उचालिंदै र पछारिंदैछु ।" 
.........
तर हेर्नुस् , यो  संयोग भन्ने कुरा पनि बडो संयोगान्त हुनेरैछ । किन भन्नुहोला भने, स्यालको यो झूठो जवाफ , "मलाई संसदलाई निर्देशन दिने अधिकार छैन" भन्ने ओली अंकलको चातुर्यतापूर्ण झूठसँग झन्डै-झन्डै मिल्छ । 

र, मिल्ने कुरा यो पनि छ कि -  हामी तिनै स्याल हौं जस्ले एक " गफाडी" राजा चुन्यौ र राजाबाट "समृद्धि थालथालमा " बक्स हुने कुरामा  बिश्वास गर्दैछौं । 

अनि, ओली अंकल तिनै स्यालराजा झैं लाग्छन् जस्ले समृद्धि साँढेको शिकार गर्न खोज्छन् तर शिकार गर्ने तौरतरिका नहुँदा साँढेफल झर्ला  र जनतालाई देखाउँला भन्ने कुरामा बिश्वास गर्छन् । तर, साँढेफल झर्दैन । साँढेको  लात खाईरहन्छ्न , पछारिरहन्छन् ।
जनता सोध्छन् , किन पछारिनुहुन्छ ओली अंकल ?!
जवाफ हुन्छ ," समृद्धि आउने खुसीले" । 
तर्क भन्नु बलिया र चलाख-चतुरहरूले आफ्नो स्वार्थमा चलाउने हतियार पनि त रैछ   ।  क्यार्नू?!😀

यी लेखकका निजी हुन यसमा कुनै सम्पानद गरिएको छैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता