इलामे डाक्टरको सेवा संखुवासभामा, पहिलो पटक सङ्खुवासभामै भयो डेङ्गुको उपचार

सङ्खुवासभाः अहिले देशभर महामारीका रूपमा फैलिइरहेको डेङ्गु रोगले सबै मानिसमा भय र चिन्ताले सताएको देखिन्छ । डेङ्गुको शङ्का लाग्नासाथ ठूला अस्पताल र शहरतिर धाउने र रेफर हुने क्रम बढेको छ ।
यसैबीच, सङ्खुवासभाको तुम्लिङटारमा रहेको हरिसिद्धि अस्पतालमा सङ्खुवासभामै पहिलो पटक डेङ्गु रोगको सफल उपचार भएको छ ।
खाँदबारी–९, तुम्लिङटार बस्ने ६५ वर्षीया हेमन्ता कुमालको सो अस्पतालमा उपचार भएको हो । सो अस्पतालमै उपचार सम्भव गर्ने डाक्टर रामकृष्ण आचार्यका अनुसार डेङ्गु रोग धेरै डराउनु र आत्तिनुपर्ने रोग होइन । बिरामीले चिकित्सकको सल्लाहअनुसारको सतर्कता अपनाउन सके सजिलोसँग निको हुन्छ । 
३ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्ने, जीउ दुख्ने अनि पेट दुख्ने भएपछि हेमन्ता परामर्शका लागि अस्पताल गएकी थिइन् ।
‘डाक्टरले डेङ्गुको शङ्का गरेपछि र रिपोर्टमा डेङ्गु भएको देखिएपछि म कहाँ जानुपर्ने होला भनेर अतालिएको थिएँ । तर डाक्टरले यहीँ अस्पतालमै उपचार गर्दा हुने विश्वास दिलाएपछि यहीँ भर्ना भयौँ’, बिरामीकी छोरी विमलाले   बताइन् ।
डाक्टर आचार्यका अनुसार पहिलो पटक हुने डेङ्गुको संक्रमणमा रक्तस्राव भएर समस्या आउन सक्ने सम्भावना १ प्रतिशत मात्र हुन्छ । सक्दा र लक्षण सामान्य रहे घरमै र नसकेको वा लक्षणमा सुधार नभएको अवस्थामा अस्पतालमा बसेर यस रोगको उपचार गर्न सकिन्छ ।
बिरामीको उपचार गर्दा लामखुट्टेले सो बिरामीलाई टोकेर फेरि थप व्यक्तिमा सङ्क्रमण नगराओस् भनेर डेङ्गु ज्वरो शुरु भएको हप्ता दिनसम्म बिरामीलाई झुलभित्र नै राखेर उपचार गर्नु महत्वपूर्ण हुन्छ । लामखुट्टेको टोकाइबाहेक अन्य तरिकाबाट सोझै रोग नसर्ने भएकाले त्यति डराउनु पर्दैन ।
स्थानीय समुदायले स्थानीय अस्पतालमै उपचारमा शङ्का नगरेका हैनन् । उपचारका क्रममा रगतमा प्लेटलेटको मात्रा दैनिक घट्दै जाँदा बिरामीका आफन्तलाई धेरै पटक सम्झाइबुझाइ गर्नु परेको डाक्टर आचार्य बताउँछन् । बिरामीको उमेर धेरै भएको र पेटको दुखाइ पनि रहेकाले विशेष सावधानीका साथ उपचार गर्नुपरेको डाक्टर आचार्य सुनाउँछन् । ‘धेरै उमेरको व्यक्तिमा सलाइन पानी दिँदा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘नत्र शरीरमा फ्लुइड ओभरलोड हुने सम्भावना रहन्छ ।’

आफू फिलिपिन्समा एमबीबीएस अध्ययनरत रहँदा डेङ्गुका अत्यधिक बिरामीको उपचारमा नजिकबाट अनुभव हासिल गर्न पाएकाले र हरिसिद्धि अस्पतालका जिम्मेवार नर्सिङ स्टाफको सक्दो रेखदेखले गर्दा आफूलाई उपचारमा थप सहजता भएको आचार्यले बताए । स्थानीय सरकार र सरोकारवालाले लामखुट्टे मार्ने कुनै ठोस कार्य गर्न नसकेकाले तुम्लिङटार आसपास अझै सङ्क्रमणको खतरा रहेको र रोगीको सङ्ख्या बढ्नेतर्फ आचार्यले चिन्ता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता