आज बाला चतुर्दशी : पितृ मोक्षका लागि दीप प्रज्वलन र शतबीज, कसरी चल्याे चलन ?

इलाम, ९ मंसिर । आज बाला चतुर्दशी पर्व अर्थात् पितृ मोक्षकालागि शतबीज छर्ने दिन । पितृमोक्षयात्रका लागि देशभरका शिवालयमा बत्ती बालेर शतबीज छरिँदै छ ।
दिवंगत भएकाहरुको सम्झना र उद्धारका निम्ति हिजो मंसिर कृष्ण त्रयोदशीका दिन राति बत्ती बालि जागाराम बसेर भजन-कीर्तन गर्ने गरिन्छ ।
हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीकाे साँझ बालिने बत्तीले पितृमोक्ष एवं उद्धार हुने धार्मिक विश्वास छ । ठूलो दियो या तामाको मानोमा घिउ या तेल राखेर काँचो धागाको बत्ती बनाउने प्रचलन छ । पृथ्वीलोकमा छरिएको बतबीज पितृहरुको लोकमा अंकुरण हुने र यिनै बीजका कारणले पितृहरु कहिलै भोकै बस्नु नपर्ने मान्यता छ ।
त्रयोदशीको रात जाग्राम बसी भोलिपल्ट ‘ब्राह्म मुहूर्त्’मा दीप नदीमा सेलाई स्नान गरी शिवालयमा शतबीज छर्ने परम्परा छ । विशेषगरी पशुपतिनाथ क्षेत्रमा छरिने शतबीजको विशेष महत्व रहेको धर्मशास्त्राचार्य तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाई छ ।
पशुपति वा शिवालयमा गई बत्ती बाल्न अनुकुल नहुनेले घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउने गरिन्छ ।
किंवदन्ती अनुसार, परापूर्व कालमा एक दिन गुठीयारको मृत्यु भएर पशुपतिको दीपमा लाशको अन्त्येष्टि गर्दै थियो । त्यस समयमा शव जलाएकै ठाउँमा बसेर गुठीयारले खानपिन गरिन्थ्यो । खाना खाइरहेका बेला अचानक शवको टाउकोको गिदी गुठीयारमध्येका एक जना बालानन्द (बालासुर) को खानामा परेछ । त्यो उनले थाहा पाएनन् र गिदीसहितको खाना खाइदिए । उनलाई यो स्वाद निकै मनपर्यो र प्रायः सधैँजसो दीपमै समय बिताउन थाल्यो । त्यहाँ ल्याए जति शव आफैँले जलाउने र गिदी खाने गर्दागर्दै शवसमेत खाने गर्न थाले । हुँदाहुँदा जलाइएका शवसमेत खोसेर श्लेषमान्तक वनमा लगेर खान थाले । ती मानिसको शवको मासु खाँदाखाँदा ती बालासुर (बालानन्द) राक्षसको रूपमा परिणम भइसकेछ ।
यसरी मरेको शवको गिदी र मासुसमेत खान पल्किसकेका बालासुर राक्षसको निकै चर्चा भए । त्यसबेलाका राजा भुवनकेशरीसमक्ष यस विषयमा अवगत गराए । राजाले बालासुर राक्षसलाई कसरी मार्न सकिन्छ भनेर छलफल गरे अन्ततः बालासुरको मित वृषसिंहले मात्र मार्न सकिने भएर उसलाई बोलाउन पठाए र अनेक प्रलोभन दिएर मित बालासुरलाई मार्न राजी गराए ।
वृषसिंहले आफ्नो साथीलाई मार्न नसकेर श्लेषमान्तक वनमा गएर आदित्यदेव शिवको तपस्या गरेको र शिवले बालालाई असुरजुनीबाट मुक्त गरी वृषसिंहलाई शतवीज छरेर बालालाई पापमुक्त गराउन आज्ञा दिएको र यसरी शतबीज छर्ने चलन सुरु भएको धार्मिक मान्यता रहेको छ । बाला चतुर्दशीमा सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता