आज सूर्यग्रहण लाग्दै : के गर्न हुन्छ, के गर्न हुँदैन ? कुन राशिलाई कस्ताे प्रभाव ?

काठमाडाैँ, १० पुस । अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण आज (बिहीबार) बिहान लाग्दैछ । नेपाली समयअनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनेट सूर्यग्रहण लाग्ने छ ।
ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी असर हुनसक्ने हुन्छ । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँदै उहाँले भन्नुभयाे, ‘सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै, त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरीत फलको भय हुनसक्ने देखिन्छ ।’
बिरल छायाँ र खण्डग्रासमात्र देखिने
यसपटकको सूर्यग्रहण नेपालबाट बिरल छायाँ र खण्डग्रासमात्र देखिने छ । काठमाडौँबाट बलायाकार सूर्यग्रहण देखिने छैन । पृथ्वीको केही भागको करिब १०० किमिको ब्याण्डबाट बलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ ।
बिरल छायाँ भने पूर्वी युरोपको केही भाग, एशियाको अधिकांश भाग र अष्ट्रेलियाको उत्तरी भागबाट देख्न सकिने समितिको अध्ययनले देखाएको छ ।
सूर्यग्रहण कतार, युएइ, ओमान, दक्षिण भारत, उत्तरी श्रीलङ्का, बङ्गालको खाडी, मलेसिया, इण्डोनेसिया, सिङ्गापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुनेछ ।
के गर्न हुन्छ, के गर्न हुँदैन ?
खाली आँखा हेर्न नहुने– सूर्यग्रहणलाई खाली आँखाले र सोलार फिल्टर जडान नगरिएका टेलिस्काेप, बाइनाकुलनजस्ता यन्त्रबाट समेत अवलोकन गर्नु नहुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको ठहर छ । यसरी हेरेमा आँखा सदाका लागि बिग्रने सम्भावना हुन्छ । एक्सरे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्बलाई अवलोकन गर्नुहुँदैन ।
हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चश्माबाट मात्र ग्रहण अवलोकन गर्न सकिने समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले जानकारी दिनुभयो । साधारण चश्माको प्रयोग गरेर समेत ग्रहण नहेर्न पनि उहाँले आह्वान गर्नुभयो ।
यौन सम्बन्ध निषेध– ग्रहणकालमा मनलाई पवित्र राख्न सके राम्रो मानिन्छ । यो समयमा यौन सम्बन्ध राख्नुलाई शास्त्रीय मान्यता विपरीत भएको उल्लेख गरिएको छ । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षसी प्रवृतिको हुने विश्वास गरिन्छ ।
भोजन बर्जित– ग्रहणकाल भर भोजन गर्न हुँदैछ । ग्रहणकालको समाप्तिपछि मात्र भोजन गर्न भनेर शास्त्रले सुझाएको छ । ग्रहणकालमा खाना समेत पकाउन नहुने र कुनै खाना बाँकी रहेको छ भने ग्रहणकाल भर तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रीय मान्यता छ ।
पूजाआजा गर्न हुँदैन- ग्रहण समयमा पूजाआजा पनि गर्न हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्ने गरिन्छ । मन्दिरमा राखिएका या कुनै पनि स्थानमा राखिएका देवीदेवताको मूर्तीसमेत छुन नहुने मान्यता छ । ग्रहणकालमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा बताइएको छ । उच्चारण गर्न सकिने मन्त्रमा ऊँ नमः शिवाय, श्रीराम, सीताराम, ऊँ श्री रामदूताय नमः लगायत छन् ।
गर्भवती महिला घर बाहिर निस्कन हुँदैन- गर्भवती महिला ग्रहणकाल भार घरबाट बाहिर निस्कनमा पूर्णत निषेध लगाइएको छ शास्त्रमा । ग्रहणको समयमा गर्भवती महिला घर बाहिर निस्कँदा गर्भमा रहेको बच्चामा खराब असर पर्ने सम्भावना अधिक भएको शास्त्रमा उल्लेख गरिएको छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरू उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्ने सम्भावना बढी हुन्छ ।
ग्रहणकालमा गर्न मिल्ने कार्यहरु
ग्रहणको समयमा नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र यथाशक्ति एवं भक्तिभावले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणी तथा असहाय प्राणीहरूलाई दान तथा खाना उपलब्ध गराउनु उचित मानिन्छ ।
यसकासाथै ग्रहणकालमा आफ्नो दीक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रमा उल्लेख छ ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुने पनि शास्त्रमा बताइएको छ ।
यसका साथै धार्मिक गीत सङ्गीत सुन्ने तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु लाभदायक मानिन्छ ।
कुन राशिलाई कस्ताे प्रभाव ?
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधार प्राप्त नभएको बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएकाे छ । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने विभिन्न प्रभाव देखिने जनाएकाे छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे अनुसार ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई असर गर्ने छ ।
मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।
प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ ।
सर्वसाधारण मानिसमा वैज्ञानिक चेतना तथा संस्कारको प्रादुर्भाव गर्न सहयोग गर्ने उद्देश्यले प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकनको व्यवस्था गरिएको समितिका निमित्त कार्यकारी निर्देशक डा शर्माले जानकारी दिनुभयो ।
समितिको कार्यालय कीर्तिपुरमा टेलिस्कोपमा सोलार फिल्टर जडान गरी सुरक्षित तरिकाबाट अवलोकनको व्यवस्था गरिएको उहाँले सुनाउनुभयो । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट सूर्यग्रहण अवलोकनको व्यवस्था मिलाएको अध्यक्ष सुरेश भट्टराईले सुनाउनुभयो ।
समितिले नेपालका तीन स्थानबाट देखिने खण्डग्रास सूर्यग्रहणसम्बन्धी तथ्यसमेत सार्वजनिक गरेको छ । काठमाडौँ, महेन्द्रनगर र भद्रपुरबाट देखिने सूर्यग्रहणको वैज्ञानिक रुपमा गणितीय गणनाअनुरुप शुद्ध तथ्याङ्क निकाली जनमानसमा जानकारी गराएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता